नेपाली कांग्रेसले सभामुख वा उपसभामुख मध्ये कुनै एक पदमा आफ्नो दाबी हुने स्पष्ट पारेको छ।
सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा कांग्रेसले संवैधानिक प्रावधान अनुसार कुनै एक पदमा आफ्नो दावेदारी हुने प्रष्ट पारेको हो। नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान अनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने प्रावधान अनुसार आफ्नो पार्टी दावेदारी हुने बताए।
माघ १२ गते हुने सभामुख निर्वाचनको सन्दर्भमा पनि फरक दल लिंगको सभामुख उपसभामुख हुने संवैधानिक प्रावधान लागु हुने उनको भनाई छ। नेपाली कांग्रेससँग बहुमत भएका कारण उसले आफूले सभामुख र उपसभामुख मध्ये एउटा जिम्मेवारी सम्हाल्ने र नेपाली कांग्रेस प्रतिपक्षी दल र संसदको दोस्रो ठूलो दलका भएका नाताले सभामुख उपसभामुख मध्ये सत्तारुढ दलसँग हुने समझदारी अनुसार उम्मेदवारी दिइने बताए। ‘पार्टीको बैठक बसेर निर्णय गर्छ। स्वभाविक रुपमा नै एक पदमा हाम्रो दावी हुन्छ। निर्वाचनलाई ‘बाइकट’ गर्ने कुरा हुँदैन। प्रकृयामा सहभागि हुने हो। संविधानको प्रावधान अनुसार अगाडि बढ्ने हो।’
नेकपा सांसद कृष्णभक्त पोखरेलले सभामुखका लागि पार्टीले उम्मेदवार बनाएका अग्नि सापाकोटा हरके हिसाबले उपयुक्त रहेको बताए। आन्दोलनको अगुवा, विगतमा मन्त्रीको भूमिका गरिसकेको हिसाबले उनको उम्मेदवारी उपयुक्त रहेको पोखरेलको भनाई छ। द्वन्द्वकालिन विषयहरु उठ्ने अवस्थामा सापकोटाको मात्रै नभएर सबैका मुद्धाहरु उठ्ने उनको भनाई थियो।
उनले भने, ‘द्वन्द्वकालिन विषयहरु उठाउने हो भने उहाँको मात्रै होइन। सबैका कुरा उठ्छन नी। त्यसैले द्वन्द्वकालिन विषयहरु आयोगको माध्यमबाट समाधानको दिशातर्फ जानुपर्छ उहाँ (सापकोटा) योग्य नेता हुनुहुन्छ।’ सांसद पोखरेलले शिवमायाको दावीलाई सचिवालयले किन ग्रहण गरेन भन्ने प्रश्नमा भने, ‘उपसभामुख हुने वित्तिकै सभामुखको उम्मेदवारका लागि उपयुक्त हुन्छ भनेर सोच्नु गलत हो।’
सत्तारुढ दल नेकपाको सचिवालयले सभामुखका लागि सापकोटालाई अगाडि सारेको छ। माघ १२ गते सभामुखको निर्वाचन हुँदैछ।

प्रतिक्रिया