कारोबार


‘बिग मर्जर’ तयारीमा चार वाणिज्य बैंक

‘बिग मर्जर’ तयारीमा चार वाणिज्य बैंक

दीपक भट्ट
माघ ६, २०७६ सोमबार १२:४५,

ठूला बैंकहरु एकआपसमा गाभिने सरकारी नीतिलाई चार वाणिज्य बैंकले साथ दिने भएका छन्। वाणिज्य बैंकहरु प्रभु, एनसीसी, नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले ‘बिग मर्जर’को तयारी थालेका हुन्।

यसअघि नै जनता बैंक र ग्लोबल आइएमई बैंकले मर्जरको प्रक्रिया पूरा गरेर एकीकृत कारोबार सुरु गरिसकेका छन्। त्यसको एक महिना नपुग्दै थप ४ वटा वाणिज्य बैंक पनि मजर्रको लागि तीव्र छलफलमा जुटेका हुन्।

प्रभु बैंकले मर्जरको लागि छलफल चलाइरहेको छ। बैंकका अध्यक्ष देवीप्रसाद भट्टचनले नेपालखबरसँग कुरा गर्दै मर्जरको लागि बैंक तयार रहेको र त्यसको लागि छलफल समेत भइरहेको जानकारी दिए। सरकार तथा राष्ट्र बैंकले नै मर्जर चाहेको बारे मौद्रिक नीति तथा बजेटमार्फत जानकारी गराइसकेको छ। मर्जरपछि केही अवसरहरु पनि सिर्जना हुने हिसाबमा मर्जरको तयारी भइरहेको उनको भनाइ छ।

तर मजर्रको लागि पार्टनरको चाहिँ अहिलेसम्म ठ्याक्कै कुनै निर्णय नभएको उनले बताए।

उनले भने, ‘अहिलेसम्मको छलफलको आधारमा यो नै बैंकसँग मर्जर हुनलागेको हो, निर्णय भने भइसकेको छैन।’

प्रभुले नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग छलफल गरिरहेको छ। अध्यक्ष भट्टचनले एनसीसीसँग छलफल भएको र केही सकारात्मक कुराहरु भएको स्वीकारे।

त्यस्तै, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक पनि मर्जरमा जाने चर्चा केही वर्षदेखि चलिरहेको छ। तर यो विषयमा छलफल भए पनि निर्णय भने कहिल्यै हुन नसकेको अशोक राणाले नेपालखबरसँग बताए।

उनले भने, ‘इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाण्डे र हामी पहिला सँगै काम गरेको भएर बाहिरी रुपमा मर्जरको चर्चा गर्छन्। कहिले त निर्णय नै भएको समाचारहरु पनि आउँछन्। तर त्यस्तो ठोस निर्णय हुने गरी छलफल अहिलेसम्म भएको छैन।’

कुनै समय मर्जरको विषयमा छलफल भए पनि निर्णय केही नभएको उनले बताए। वार्षिक साधारणसभामा पृथ्वीबहादुर पाण्डेले हिमालयन बैंकलाई नै इंगित गर्दै मर्जरमा जान इभेष्टमेन्ट बैंक तयार रहेको र त्यसको लागि आफू बैंकको अध्यक्ष छोड्न समेत तयार रहेको बताएका थिए। त्यसपछि हिमालयन बैंकसँग केही कुराकानी अघि बढेको स्रोतको दाबी छ।

गत पुस २८ गते बैंकको साधारणसभामा अध्यक्ष पाण्डेले भनेका थिए, ‘अब खुद्रे होइन बिग मर्जर गर्ने घोषणा गर्दै छौं।’

अहिलेकै जस्तो तरिकाले चल्दा बैंकहरुले विगतजस्तो लाभांश आगामी दिनमा बाँड्न नसकिने र अब एक्लै हिँड्दा खर्चले पनि धान्न नसक्ने उनको भनाइ छ। पाण्डेको यो आशयपछि हिमालयन बैंकलगायत अन्य दुई बैंकसँग पनि कुराकानी भएको तर ‘फोकस’ भने हिमालयन बैंकसँग नै रहेको स्रोतको भनाइ छ।

काे काे बन्दै छन् अध्यक्ष र सीईओ?
बैंक मर्जरमा जाने विषयमा कुरा उठान हुँदा सबैभन्दा पहिले सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो)को कुरा मिल्नुपर्छ। बैंकको क्षमता तथा हालको बैंकको अवस्थाअनुसार बैंकले आफ्नो सेयरलाई बढी मूल्याङ्कन गर्ने गर्छन्। त्यसमा नै सुरुमा कुरा मिल्नुपर्ने हुन्छ।

ग्लोबल आईएमई र जनता बैंक मर्ज हुँदा पनि ग्लोबलको एक सय मूल्याङ्कनबराबर जनताको ८० मूल्याङ्कन हुने गरी सहमति भएको थियो। प्रभुले अहिले एनसीसीसँग स्वाप रेसियोको विषय नै टुङ्ग्याउन नसकेको बताएको छ। त्यसपछि हुने सहमति भनेको बैंक अध्यक्ष र सीईओ नै हो।

तेस्रो बुँदामा कर्मचारीको व्यवस्थापनलाई पनि मर्जरको क्रममा महत्वपूर्ण मानिन्छ। मर्जरमा गएपछि बैंकको ठूलो बैंकको कर्मचारीले पनि बढुवा खोज्ने चलन छ। त्यसलाई पनि मर्जरको प्रक्रियामा जानुअघि नै सहमति खोज्नु आवश्यक हुन्छ।

मर्जरपछि ठूला परियोजनामा लगानी
हिमालयन बैंकका सीईओ राणाका अनुसार मर्जरपछि बैंकको क्षमता वृद्धि हुन्छ। त्यसपछि बैंकले जुनसुकै ठाउँ अर्थात् ठूला परियोजनामा लगानी गर्न सक्षम हुन्छ। यो भनेको उसको ‘डिलिङ पावर’ नै बढ्नु हो। त्यसरकारणले पनि सरकारले मर्जरको चाहना राखेको छ।

सरकारले विकास निर्माणलाई जोड दिएको र धेरै वित्तीय संस्थाको लगानी हुँदा, लगानी विवादले आयोजना नै प्रभावित नहोस् अर्थात् सोचेको रुपमा काम अघि बढोस् भनेर पनि वित्तीय संस्थालाई ठूलो बनाउन चाहेको छ। त्यसमा बैंकहरुले पनि ग्रहण गरेका छन्।

तर मर्जरको काम हतारमा गर्नु भने नहुने भएकाले त्यसमा हिमालयन बैंक सचेत रहेको उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad