ad ad

राजनीति


जातका आधारमा सेन्टिमेन्टल बनाएर फाटो ल्याउन खोजे देश जोगिँदैन : ओली

जातका आधारमा सेन्टिमेन्टल बनाएर फाटो ल्याउन खोजे देश जोगिँदैन : ओली

नेपालखबर
साउन २५, २०८० बिहिबार १७:४८, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन्।

बिहीबार २९औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्। 

‘यदी कुनैपनि हिसाबले हामीलाई जातका आधारमा केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबिचमा विद्धेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ,’ उनले भने, ‘त्यतिबेला हाम्रो देश जोगिँदैन। जोगाउन सकिँदैन। हाम्रो विविधता छ। यो यथार्थ हो। यो विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुन्छ।’

उनले नेपालीहरूका बीचमा जातका आधारमा आपसी विद्वेष र घृणा फैलिएमा देशको अस्तित्व समाप्त हुने बताए। 

नेपालमा जातिय विविधता रहेको भन्दै सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने पनि बताए। उनले पहिचानको मुद्दा देशको हितका लागि हुनुपर्ने बताए। उनले पहिचानको मुद्दाले देशमा समस्या खडा गर्नु नहुने बताए। 

‘देशको विकास हुन्छ। देश अगाडी बढ्छ। देश आधुनिक हुन्छ र समृद्ध नेपाल सुखि नेपाली हामी बनाउन सक्छौँ। समृद्ध नेपाल सुखी नेपाली भनेको सबै जाति, भाषा, संस्कृतिका सबै भुगोलमा बस्ने सबै व्यवसायका जनताको कुरा हो। पहिचानलाई विकृत रुपमा हामीले लिनु हुँदैन। पहिचान सकारात्मक ढंगले लिनुपर्छ। पहिचान देशका हितमा हुनुपर्दछ। देशको हीतका लागि पहिचान हो,’ उनले भने, ‘आफ्नो पहिचान देशमा समस्या खडा गर्नका लागि हाम्रो पहिचानको मुद्दा हो र? हाम्रो पहिचानको मुद्दा समस्या समाधान गर्नका लागि हो। समानताका लागि हो। सद्भावका लागि हो हाम्रो पहिचानको मुद्दा। विभेदका लागि पनि होइन। असमानताका लागि पनि होइन। र विद्वेषका लागि हुँदै होइन। पहिचानको मुद्दा घृणा फैलाउनका लागि होइन। विद्वेषका लागि होइन।’

अध्यक्ष ओलीले नेपालमा पहिचानको मुद्दा समानता र सद्भावका लागि भएको बताए। पहिचानको मुद्दा आपसी मित्रता बढाउनका लागि र प्रेम फैलाउनका लागि भएको उनको भनाइ छ।

‘मित्रता बढाउनका लागि हो। प्रेम फैलाउनका लागि हो। त्यसकारण यस दिशामा अगाडी बढौँ भन्ने म साथीहरुलाई आग्रह गर्न चाहन्छु,’ उनले भने।

अध्यक्ष ओलीले राज्य कुनै एउटा धर्म र जात विशेषको नभएको भन्दै त्यसकारण देशलाई धर्म निरपेक्ष बनाइएको बताए। उनले देशको नाम ‘नेपाल’ पनि कुनै जात विशेषको नभएको उल्लेख गर्दै प्रदेशहरुको नाम पनि साझा भुगोल, संस्कृति र नदीनालाको नामबाट राखिएको बताए।

उनले प्रदेशहरूको नामाकरण साझा रुपमा राखिएको भन्दै यसले कसैलाई अपमान, थिचोमिचो वा नहोच्याउने उल्लेख गरे।

‘राज्य सबैका समान समानता दिन र समान रुपमा सेवा गर्न राज्य बनेको हुनुपर्छ। काम गरेको हुनुपर्छ र गर्छ। त्यसअर्थ राज्य कुनै एउटा धर्म विशेषको, जात विशेषको होइन। त्यसकारण हामीले देशको नाम पनि नेपाल राखेका छौँ। जाति विशेषका होइन,’ उनले भने, १हाम्रा प्रदेशका नामहरू पनि हामीले साझा, भुगोल आधारित, नदीनाला आधारित । गण्डकी, कर्णाली, कोशि प्रदेश, वागमती प्रदेश खोलाको नामबाट राखेका छौँ। सुदूरपश्चिम साझा भुगोलका नाममा राखेका छौँ। मधेस प्रदेश साझा भुगोलका नाममा राखिएको छ । लुम्बिनी प्रदेश साझा भुगोलकै नाममा, भुगोलबाट चिनिएको, संस्कृतिसँग पहिचान भएको त्यस्तो खालको नाममा राखेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .