प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन चलाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग कुरा नमिलिसकेको बताएका छन्।
सोमबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले समस्या समाधान गर्न आफू लागिरहेको दाबी गरे।
‘कुरो मिलिसकेको चाहीँ छैन। सदन चलाउनुपर्छ, कुनै हालतमा रोकिनुहुँदैन भनेर सत्तापक्ष र प्रतिपक्षीले भनिराखेकै स्थिति छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तरपनि कुरा मिलिसकेको छैन। अहिले कहाँ मिलेको छैन भनेर अहिले भन्दा झन् गाह्रो हुन्छ।’
उनले आफू समस्या समाधानका लागि लागिरहेको भन्दै मंगलबार बिहान साढे १० बजे बालुवाटारमा बैठक बोलाइएको जानकारी दिए।
‘म चाहीँ यो समस्याको समाधान होस् भनेर लचिलो तरिकाले लागिराखेको छु। मैले भोलि साढे १० बजे पुनः बालुवाटारमा यही बैठक बोलाएको छु। भोलि एउटा टुंगोमा पुग्ने कोसिस सरकारको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
नेकपा एमालेले अवरुद्ध गरेको संसद बैठक संचालन गर्नका लागि सभामुखसहित शीर्ष दलका नेताहरूले सोमबार दुई चरणको छलफल गरेका थिए।
यद्यपि छलफलमा सहमति जुट्न नसकेपछि बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ।
Shares
प्रतिक्रिया