राजनीति


झलनाथको दस्तावेज : हाम्रो पार्टी सुक्दै जान थाल्यो, रावणको टाउको जस्तै कामै नलाग्ने भयो

कार्यकर्ता एमालेतिरै फर्किन थाले, कुनै उत्साह छैन
झलनाथको दस्तावेज : हाम्रो पार्टी सुक्दै जान थाल्यो, रावणको टाउको जस्तै कामै नलाग्ने भयो

फाइल तस्बिर


नेपालखबर
साउन २१, २०८० आइतबार १४:२४, काठमाडौँ

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेबाट विद्रोह गरेको समय जस्तो उत्साह बाँकी नरहेको बताएका छन्। 

काठमाडौंमा जारी पार्टीको स्थायी कमिटी बैठकमा लिखित दस्तावेज पेस गर्दै सम्मानित नेता खनालले पार्टी झन्‍झन् शिथिल र कमजोर बन्दै गएको दाबी गरेका हु्न्। 

गठन भएको दुई वर्ष भइसक्दा पनि पार्टीले सही दिशा लिन नसकेको खनालले उल्लेख गरेका छन्। उनले पछिल्लो समय कार्यकर्ताहरुमा हिजो विद्रोह गरेको एमालेतिरै फर्किने भन्ने चिन्तन विकास भएको निष्कर्ष निकालेका छन्। 

खनालले समाजवादी र विद्रोह गरिएको एमालेका सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता के छ देखाउन नसकिएको पनि बताएका छन्। 

‘हाम्रो पार्टीमा पनि जबजकै धङधङी छ। एमालेमा पनि जबज कै धङधङी छ। त्यसले गर्दा पनि ठूलो संख्यामा विद्रोह गरेर अघि आएका नेता कार्यकर्ताहरु वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ’, उनले भनेका छन्, ‘किन यस्तो भइरहेको छ? हामीभित्र कहाँ कमजोरी छ? कुन कमजोरीका कारण यस्तो भइरहेको छ? हामीले यी सम्पूर्ण कमी कमजोरीलाई क्रान्तिकारी वर्ग दृष्टिकोणका आधारमा चिर्न तयार हुनुपर्छ।’

उनले अहिले पार्टीमा चरम निराशाको अवस्था पनि देखिएको बताएका छन्। ‘एमालेबाट विद्रोहका बेला युवा, विद्यार्थीहरुमा जुन उत्साह, अठोट र जाँगर थियो, अहिले उनीहरु दिशाहीन महसुस गरिरहेका छन्’ खनालले आफ्नो प्रतिवेदनमा भनेका छन्। 

खनालले पार्टी स्थापनायताको दुई वर्षको निर्मम समीक्षा आवश्यक रहेको बताउँदै गत चुनावको असफलताको दोष नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई लगाएका छन्।

खनालले कांग्रेस र माओवादी केन्द्रले धोका दिँदा स्थानीय तह निर्वाचन र २०७९ मंसिरको चुनावमा अपेक्षित नतिजा आउन नसकेको पनि बताएका छन्। 

‘कांग्रेस र माओवादी दुवैले हाम्रो पार्टीलाई देशभर धोका दिए। हाम्रो पार्टीलाई मतदाता मात्रै बनाए’, उनले भनेका छन्, ‘त्यसले हाम्रो पार्टीको बनिरहेको क्रान्तिकारी छवि र साख नराम्ररी गिरायो। कार्यकर्ताहरू देशभर निराश भए। त्यसपछि ‘बरु एमालेतिरै जाने’ चिन्तन विकास भयो। अहिले पलयान व्यापक भएको छ।’

उनले नेतृत्वको अक्षमताका कारण पार्टी कार्यकर्ताहरुमा पदलोलुपता र पलयानका प्रवृत्ति देखिएको पनि बताएका छन्। 

‘युवा र विद्यार्थी संगठनमा पनि निराशा छ। आमकार्यकर्ताहरुमा निराशा, हतासा, पदलोलुपता र पलायनका प्रवृतिहरु विकास भइरहेका छन्’, उनले भनेका छन्, ‘हाम्रो पार्टी यतिबेला माथि रावणको टाउको जस्तो र तल सुक्दै झिनु भएर उभिन पनि गाह्रो पर्ने अवस्थामा भएको महसुस भएको छ। त्रिपाई जस्तो माथि फुकेको तल सुकेको पार्टी संगठन छ। हुनुपर्ने ठीक उल्टो हो।’

पूर्वप्रधानमन्त्री  खनालले अहिले आफूहरुको पार्टीको मुख्य प्रतिद्वन्द्वी कांग्रेस रहेको दाबी गरेका छन्। 

‘अहिले नेपाली समाजको ठोस राजनीतिक स्थितिमा हाम्रो पार्टीको र सबै वामपन्थी समूहको मुख्य प्रतिद्वन्द्वी, मुख्यतः दक्षिणपन्थी शक्ति कांग्रेसबाहेक अरु हुनै सक्दैन’, उनले भनेका छन्, ‘यसबारे हामीसहित सबै वामपन्थी समूहले प्रष्ट क्रान्तिकारी दृष्टिकोण र अडान राख्न सक्नुपर्छ।’

अहिले सबै वाम शक्तिहरु मुख्य प्रतिद्वन्द्वी कांग्रेससँग ‘गठबन्धन’, ‘कार्यगत एकता’ र ‘मोर्चा’ बनाउँदै सत्ताको चुस्की लिइरहेको पनि उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .