सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ।
बैठक केही बेरअघि माओवादी केन्द्रको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा सुरु भएको हो।

यसअघि त्यहीँ माओवादीको पदाधिकारी बैठक बसेको थियो। आज बिहान ११ बजे प्रज्ञा भवनमा केन्द्रीय समितिको बैठक पनि सुरु गर्ने तयारी माओवादी केन्द्रले गरेको छ।
केन्द्रीय समितिको बैठकका एजेन्डाबारे छलफल गर्न माओवादीले त्यसअघि पदाधिकारी र स्थायी समितिका बैठक राखेको हो।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक १३ महिनापछि आज बस्न लागेको हो।
केन्द्रीय समिति बैठकका लागि गत सोमबार बसेको माओवादी पदाधिकारी बैठकले केही एजेन्डा तय गरिसकेको छ।
जसअनुसार नेताहरूको जिम्मेवारी बाँडफाँट, संगठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विशेष महाधिवेशन र विधान महाधिवेशन तथा समसामयिक विषयअन्तर्गत सरकार, सदनलगायत एजेन्डा छन्।
केन्द्रीय समिति बैठकको सुरुमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गर्नेछन्। त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।
बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १०० जना पदाधिकारी तथा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ७५ जना गरी ७ सय ५८ जनाले भाग लिने माओवादी केन्द्रले जनाएको छ।
Shares

प्रतिक्रिया