कारोबार


नापतौलमा ठग्ने १९ हजार व्यापारीलाई गरियो कारबाही, सबैभन्दा बढी काठमाडौंमा

नापतौलमा ठग्ने १९ हजार व्यापारीलाई गरियो कारबाही, सबैभन्दा बढी काठमाडौंमा

फाइल तस्बिर : नेपाल गुणस्तर तथा नापतौल विभाग


नेपालखबर
साउन १७, २०८० बुधबार ९:५८, काठमाडौँ

नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ। 

विभागले आर्थिक वर्ष २०७९/८० मा देशभर अनियमित रूपमा नाप्ने–तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको पाइएपछि उनीहरुलाई कारबाही गरेको हो। विभागले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको हो। 

विभागका महानिर्देशक दिनानाथ मिश्रले पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले विभागले विशेष निगरानी बढाएको बताए। ‘अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ,’ महानिर्देशक मिश्रले भने। 

कारबाही गरेकामध्ये सबैभन्दा धेरै काठमाडौँ कार्यालयले गरेको छ। काठमाडौँ कार्यालयले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन तथा गल्ती गर्नेलाई कारबाही गर्ने गरेको छ। 

सोही आवमा काठमाडौँमा मात्र ११ हजार चार सय ९१ व्यापारी कारबाही परेका छन्। यस्तै, पोखरामा दुई हजार एक सय ८९, बुटवलमा एक हजार दुई सय ४४, नेपालगन्जमा एक हजार चार सय ७९, सुर्खेतमा पाँच सय एक, धनगढीमा एक हजार २६ व्यापारी कारबाहीमा परेका छन्।

यस्तै, सिलगढीमा दुई सय दुई, वीरगन्जमा एक हजार चार सय ३६, जनकपुरमा सात सय २५, विराटनगरमा दुई हजार चार सय ६ र झापामा एक हजार तीन सय ३४ व्यापारी कारबाही परेको विभागले जनाएको छ।

विभागका प्रवक्ता, ज्योति जोशी भट्ट गुणस्तर र नापतौलका नाममा उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याइने बताउँछिन्। ‘जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कारबाहीलाई प्राथमिकता दिएका छौँ,’ उनले भनिन्। नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ। 

विभागले देशभर नापतौलका लागि नयाँ इजाजत तथा प्रमाणपत्र दिने, इजाजत नलिएका व्यापारीलाई कारबाही गर्ने ट्याक्सीको चेकजाँच गर्नेलगायतका कामबाट रु सात करोड १६ लाख ११ हजार ८५ राजस्व सङ्कलन गरेको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad