राजनीति


ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामलाई जेल हाल्नुपर्छ : ज्ञानेन्द्र शाही

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामलाई जेल हाल्नुपर्छ : ज्ञानेन्द्र शाही

फाइल तस्बिर


नेपालखबर
साउन १०, २०८० बुधबार १६:१९, काठमाडौँ

काठमाडौंको बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरेर दिएको प्रकरण फेरि संसद्मा उठेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बुधबारको संसद् बैठकमा बोल्ने क्रममा ललिता निवासमा नक्कली मोही खडा गर्ने निर्णय तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको पालामा भएको दाबी गरे। 

शाहीले ललिता निवास प्रकरणमा तत्कालीन दुई प्रधानमन्त्रीहरु बाबुराम र माधव नेपाललाई पक्राउ गरेर जेल हालिनुपर्ने बताए। 

उनले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा २०६६ साल चैत २९ गते, २०६७ साल वैशाख ३१ गते र
२०६७ साल साउन २८ गते तीन पटकसम्मको मन्त्रिपरिषद्को निर्णयबाट ललिता निवासको ११३ रोपनी जग्गामा नक्कली मोही खडा गरिएको बताए। 

त्यस्तै तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा २०६९ साल असोज १८ गते थप नक्कली मोही खडा गरेर ललिता निवासको सरकारी जग्गा अपचलन गरिएको उनले दाबी गरे। 

‘११३ रोपनी सरकारी जग्गा चार पटकको मन्त्रिपरिषद्बाट नक्कली मोही खडा गरेर दिएका छन्। मन्त्रिपरिषद्को निर्णय गरेर बालुवाटारको जग्गा बेच्नेहरु अहिले संसद्मा आउँछन्’, उनले भने, ‘त्यस प्रकरणमा टिप्पणी उठाउनेहरुमाथि कारबाही गरेर अहिलेका मन्त्रीहरुले शक्ति प्रदर्शन गरिरहेका छन्। धान खाने मुसो चोट पाउने भ्यागुतो जस्तो भएको छ। यदि दम र हिम्मत छ भने काम गर्ने क्षमता छ भने तत्कालीन दुईजना प्रधानमन्त्रीहरुलाई जेल हालेर देखाउनुस्।’

उनले सुन तस्करी काण्डमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरालाई कारबाही गर्न पनि माग गरेका छन्। 

‘सुन काण्डमा कृष्णबहादुर महरा र छोराहरुलाई किन छानबिनमा नल्याएको? प्रहरीले पनि दोषी देखाएकोलाई किन छानबिन गरिएन’, उनले भने, ‘यति यति मितिमा मन्त्रिपरिषद्को निर्णय गर्नेलाई किन कारबाही गरिएन? सरकारले वास्तविक दोषीलाई कारबाही गर्नुपर्छ। रुखको टुप्पा काटेर रुख सुक्दैन जरा नै काट्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .