ad ad

राजनीति


‘राजनीतिक अस्थिरता हटाउन देशभक्तहरु एमालेमा आउनुपर्छ’

‘राजनीतिक अस्थिरता हटाउन देशभक्तहरु एमालेमा आउनुपर्छ’

नेपालखबर
साउन ७, २०८० आइतबार १२:४६, काठमाडौँ

नेकपा (एमाले) महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई राष्ट्रिय विभूति भनेका छन्।

समग्र रामेछापको विकासका लागि पुष्पलालको जन्मथलो भंगेरीको विकासमा दलगत स्वार्थभन्दा माथि उठ्नु पर्नेमा पनि उनले जोड दिए।  

पुष्पलालको ४५ औँ स्मृति दिवसको अवसरमा उनको जन्मथलो भंगेरीमा एमाले रामेछाप जिल्लाको समन्वयमा केन्द्रीय कमिटीको कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै उनले यस्तो बताए।  

‘रामेछाप जिल्लाको भंगेरी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मथलो हो। उहाँ जन्मिएको माटोमा आएर आज उहाँको सम्मानमा कार्यक्रम आयोजना गर्न पाउँदा खुशी लागेको छ,’ पोखरेलले भने, ‘रामेछाप तीनलाल अर्थात पुष्पलाल, गंगालाल र सुब्बा कृणलालको जन्मथलो पनि हो। उहाँहरु तीनै जनाले लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेल्नुभएको छ।’ 

राजनीतिको माध्ययमबाट पुष्पलाल र गंगालाल अनि साहित्यको माध्यययमबाट कृष्णलालले लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेलेको उनले बताए। 

‘कृष्णलालले मकैको खेती लेखे वापत जेल पर्नुपर्यो र उहाँको जेलमै मृत्यु भयो,’ उनले भने, ‘परिवर्तनको आन्दोलन टंक प्रसाद आचार्यको नेतृत्वमा प्रजापरिषद गठन हुँदा नै लोकतान्त्रिक आन्दोलनमा लाग्नु भएका गंगालालले पहिलो पटक सबै भन्दा ठूलो सभा गरेर तत्कालिन शासकको विरुद्धमा बुलन्द आवाज उठाउँदा उहाँलाई १९९७ सालमा मृत्युदण्ड दिइयो।’

पुष्पलालको सम्झना गर्दै महासचिव पोखरेल राजनीतिक इतिहासमा पहिलो दल गठन गरेर अघि बढ्ने सन्दर्भमा पुष्पलालले प्रजातान्त्रिक राष्ट्रिय काङ्ग्रेसको कार्यालय सचिव भएर काम गरेको पनि स्मरण गराए।

‘प्रजातान्त्रिक राष्ट्रिय काङ्ग्रेसका माध्ययमबाट लोकतान्त्रिक आन्दोलन सफल बनाउन नसकिने निष्कर्षसहित विश्व कम्युनिस्टको घोषणापत्र नेपालीमा रुपान्तरण गरेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो,’ पोखरेलले भने, ‘उनले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी अहिले नेकपा एमालेको नाममा अस्तित्वमा छ।’ 

पुष्पलालको भग्नावशेष जन्मघरको माटोमाथि उभिएर पोखरेलले पुष्पलालको जन्मथलोमा तीनलालको शालिक स्थापना गर्नुपर्नेमा जोड दिए। 

‘पुष्पलालको ऐतिहासिक विरासत धानेको पार्टी एमाले हो भन्ने कुरा यहाँसम्म आएर गरेको कार्यक्रमले पनि देखाउँछ,’ उनले भने, ‘एमाले नेतृत्वको सरकारका पालामा बनेका तीनलालका शालिक अहिलेसम्म यहाँ ल्याएर स्थापना गर्न सकिएको छैन। अहिले संघ र प्रदेश सरकारको नेतृत्व कम्युनिस्टले गरेको छ। तर, एमालेले अघि बढाएको गुरुयोजनाको बजेट त्यही सरकारले काट्ने काम गरेको छ।’ 

उनले विभूति कुनै पार्टीका नहुने भन्दै रामेछापलाई जीवन्त नगरपालिका बनाउन र यो ठाउँलाई राजनीति पर्यटनको विकास गर्न पनि सबै दलको सहयोग आवश्यक हुने बताए।

‘रामेछाप नगरपालिका अहिले कांग्रेसले जितेको छ। मैले मेयर लवश्री न्यौपानेसँग आजै भेट गरेर यहाँको विकासमा सकारात्मक भूमिका खेल्न आग्रह गरेको छु,’ पोखरेलले भने, ‘उहाँले पनि सकारात्मक रुपमा लिनुभएको छ। 

समग्र नगर र जिल्लाको विकासका लागि तीनलालको सम्मान हुनुपर्छ। यतिबेला दुई खाले आर्थिक संकटबाट मुलुक अघि बढिरहेको छ। मुलुकबाट नीतिगत विचलनको अन्त्य गर्न र  वैदेशिक हस्तक्षेप रोक्न बलियो राष्ट्रिय शक्ति चाहिन्छ।’ 

उनले त्यसका लागि एमालेको झण्डामुनि गोलबद्ध हुन आग्रह गरेका छन्। ‘राजनीति अस्थिरता हटाउने सरकार मुलुकलाई चाहिएको छ। त्यो भनेको देशभक्तहरु एमालेको झण्डामुनि आउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि राजनीतिक ध्रुवीकरण अघि बढाउँदै पुष्पलालले बनाएको पार्टी वरिपरि बसौँ।’ 

उनले साउन ६ गते बीपी स्मृति दिवस र ७ गते पुष्पलाल स्मृति दिवस भएको भन्दै दुवै नेताको आ–आफ्ना विषेशता रहेको बताए। 

नेपालको कम्युनिस्ट आन्दोनको विचारधारा संगठन, सिद्धान्त र संघर्ष भएको भन्दै उनले अवसरवाद मौलाएका बेला वैचारिक धारबाट अराजकताको अन्त्य गर्नुपर्ने बताए। समाजमा फैलिएको अराजकताको अन्तयका लागि बलियो शक्ति निर्माण आवश्यक रहेको पनि उनले बताए।

‘राणा, पञ्चायत र निरङ्कुश राजतन्त्र अन्त्य भयो। हामी राजनीतिक परिवर्तनका लागि च्याम्पियन भयौँ। अब राजनीतिसँगै सामाजिक परिवर्तन आवश्यक छ। लोकप्रियतावाद अन्त्यमा गएर यथास्थितिवादीधारमा सकिन्छ,’ उनले भने, ‘दलहरु कहिल्यै पुरानो हुँदैनन्। हामी परिवर्तनशील छौँ। एमालेको ६ वटा नेतृत्व परिवर्तन भयो। एमालेले ६ वटा नेतृत्व परिवर्तन गर्दा कांग्रेसका ४ वटा नेतृत्व फेरिए। तर, माओवादीको अहिलेसम्म नेतृत्व फेरिएको छैन। म पुष्पलालको जन्मस्थल उभिएर प्रतिज्ञा गर्छु। आर्थिक सामाजिक परिवर्तनको दिशातर्फ सबै मिलेर अघि बढौँ र यसमा सबै प्रतिबद्द बनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .