ad ad

राजनीति


विद्युत प्राधिकरणमाथि सांसद शाहको आक्रोश- नाफा देखाएर दुनियाँलाई झुक्याउने?

विद्युत प्राधिकरणमाथि सांसद शाहको आक्रोश- नाफा देखाएर दुनियाँलाई झुक्याउने?

नेपालखबर
असार ४, २०८० सोमबार १६:३५, काठमाडौँ

आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु शाहले नेपाल विद्युत प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको आरोप लगाएका छन्। 

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै शाहले प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताएका हुन्। उनले ऊर्जा क्षेत्रमा ६० अर्ब पैसा छुट्टयाएको भएपनि कहाँ खर्च गर्ने भन्ने स्पष्ट उल्लेख नभएको बताए।

उनले रेडबुकमा स्पष्टसँग विद्युत प्राधिकरण अन्तर्गत हुने खर्चहरू नलेखिएको भन्दै त्यसरी अपारदर्शी बन्नु पनि भ्रष्टाचार भएको बताए।

‘विद्युत प्राधिकरण नेपाल सरकार र नेपाली जनताप्रति उत्तरदायी छ वा विदेशी शक्तिकेन्द्रप्रति जवाफदेही छ? रेड बुकले के भन्छ भने विद्युत प्राधिकरण जनताप्रति जवाफदेही छैन। सभामुखज्यूले त्यसलाई त फर्काइदिनुपर्ने हो,’ शाहले भने, ‘किनकी ऊर्जामा झन्डै ६० अर्बजति पैसा छ कुन कहाँ के क्रियाकलापमा कसरी खर्च गर्छ भन्ने छैन। वैकल्पिक ऊर्जाको २० पाना ओगटेर झण्डै ४० पेजसम्म कुन–कुन पालिकामा कति–कति लाख भनेर छापेर जनतालाई झुक्याउने?’

उनले अघि प्रश्न गरे, ‘यति दुनियाँको इन्ट्रेस्ट भइरहेको ऊर्जा क्षेत्र सांसदले जान्नै नहुने? के छ भित्री कुरा किताब लेख्नै नहुने? शिर्षक अनुसार गतिविधि सांसदहरुले जान्नै नहुने हो? कुन ठाउँमा विद्युत प्रशारण बढाउँदै हुनुहुन्छ? कहाँ सबस्टेशन बढाउँदै हुनुहुन्छ? के रेडबुकमा आउनै नहुने हो?’

उनले प्राधिकरणले आफुलाई नाफामा देखाएर दुनियाँलाई झुक्याएको बताए।

‘यसरी अपारदर्शिता भनेकै भ्रष्टाचार होइन? बक्यौता रकमहरु किन उठाउन पहल भइराखेको छैन? अन्तिम आर्थिक वर्षमा नाफामा देखाएर
दुनियाँलाई झुक्याउने?,’ उनले भने, ‘एकातिर ठूल्ठूला व्यापारिक घरानाहरुलाई सेवा गर्ने। अर्कोतिर गाउँमा मिटर जोड्नुहुन्छ, चेक पनि गर्न जानुहुन्न। समयमा लाइन पनि दिनुपर्दैन। तर दण्ड ठोकी हाल्नुपर्छ।’

प्राधिकरणले व्यापारिक घरानाहरुलाई सेवा गरेको तर गाउँघरमा विद्युत प्रशारण गर्न नसकेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .