प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङले ‘बजेट संशोधन गर्छु’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति संसदीय मान्यता विपरित रहेको टिप्पणी गरेका छन्।
हामीले प्रचलनमा ल्याएको बेलायती मोडलको संसदीय मान्यता र परिपार्टी भित्र सरकारको बजेट, नीति तथा कार्यक्रम संशोधन गर्न नमिल्ने भएकाले प्रधानमन्त्री दाहालको सो अभिव्यक्ति ठिक नभएको उनको तर्क छ।
‘संशोधन हुँदैन भन्ने छ। अब त्यसबारेमा फरक फरक कुराहरु आईराखेको अवस्था छ। तर भर्खरै होला। यहाँहरुले नै सूचना प्रवाह गर्नु भएको प्रधानमन्त्रीज्यूले बालुवाटारमा बैठक नै राखेर संशोधन गरेर बजेटमा म सबैको चित्त बुझाउँछु भनेर गठबन्धनमा साथीहरुले यो बजेट जस्ताको तस्तै पास हुँदैन भनेर भन्नु भएको छ,’ नेम्वाङले भने, ‘यो परिप्रेक्ष्यमा यसबारेमा गम्भिर छलफल चल्नु राम्रै हो। तर जहाँसम्म मान्यता, परिपार्टीको कुरा छ। हामीले संसदीय प्रणाली वेष्ट मिनिष्टर प्रणालीलाई नै पछ्याएका छौं।’
शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उपनेता नेम्वाङले बजेट संशोधन गर्ने मान्यता नभएकै कारण संसदमा सांसदहरुले खर्च कटौतिको प्रस्ताव राख्ने प्रावधान राखिएको र सो प्रस्ताव पारित भए सरकार ढल्ने मान्यता रहेको स्पष्ट पारे।
‘कतिसम्म भन्दा अर्थ विधेयकहरुमा तपाईले ती भारतमा हेर्नु भयो भने पाउनु हुन्छ अहिले पनि अर्थ विधेयकमा संशोधन हाल्नु प¥यो भने राष्ट्रपतिको पूर्व स्विकृति चाहिन्छ। तपाईहरुलाई म सम्झना दिलाऊ–नेपालमा पनि त्यही प्रक्रिया छिरेको हो,’ नेम्वाङले भने, ‘२०४७ को संविधान हुँदा अर्थ विधेयकमा संशोधन हाल्नु प¥यो भने राजाबाट पूर्व स्विकृति चाहिन्थ्यो। त्यसैले यो बजेटलाई संशोधन गर्ने प्रक्रिया छैन।’
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट संसदमा संशोधन हुन नसक्ने उपनेता नेम्वाङले बताए।
‘तपाईलाई म अझै बताई दिऊ। हाम्रो बजेटमा नियम बमोजिम बजेट विनियोजन विधेयककै रुपमा आउँछ। विनियोजन विधेयकले बजेटलाई बोक्छ । तर, त्यो विनियोजन विधेयकमा संशोधन हैन,’ उनले भने, ‘सांसदहरुले त्यसप्रति असहमती व्यक्त गर्न खर्च कटौतिको प्रस्ताव राख्छन्। हामीले देखिराखेका छौं–अहिले खर्च कटौतिको प्रस्तावलाई लिएर छलफल भईरहेको छ। र, हामी कुन मान्यतामा छौं त भन्दा खर्च कटौतिको प्रस्ताव पास भयो भने सरकारको बजेट फेल भयो।’
उपनेता नेम्वाङले बजेट परिवर्तन गर्नुपर्छ भन्ने मान्यतामा आफ्नो पार्टी रहेपनि त्यसलाई संशोधन गर्न भने मिल्ने परिपार्टी नभएको बताए।
‘प्रधानमन्त्रीजीले त बालुवाटारमा बैठक गरेरै सांसदहरुलाई, देशलाई आश्वस्त तुल्याउनु भएको छ। अब प्रधानमन्त्रीजीले नै म संशोधन गर्छु भन्नु हुन्छ भने त हामी प्रतिपक्षले त नाई भन्ने कुरै भएन। हामी त यो बजेटनै ठिक छैन भनिराखेको। साह्रै भेदभावपूर्ण छ। साह्रै असन्तुलित छ,’ उनले भने, ‘हिजो आफैंले राखेका जुन नीति, कार्यक्रम छन्। त्यो नीति, कार्यक्रम बोक्ने बजेट भएन भनेर भनिराखेकाहरु यो बजेटमा आमूल परिवर्तन गर्नु पर्छ त हामी भनिराखेकै छौं। तर मान्यताको कुरा गर्नु हुन्छ भने नीति, कार्यक्रम र बजेट सरकारले जे ल्यायो नि। त्यसमा संशोधन गरिँदैन।’
Shares

प्रतिक्रिया