ad ad

राजनीति


वंशजको नागरिकता लिएर अब भारतीयले नेपाल कब्जा गर्छन् : केसी

वंशजको नागरिकता लिएर अब भारतीयले नेपाल कब्जा गर्छन् : केसी

नेपालखबर
जेठ १७, २०८० बुधबार २१:५२, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकाले भारतीयलाई नेपाली नागरिकता दिएर राष्ट्रपति–प्रधानमन्त्री बन्ने बाटो खोलेको आरोप लगाएका छन्।

भारतद्वारा नेपालको लुम्बिनी र कपिलवस्तुलाई समेत आफ्नो नक्सामा सामेल गरेर संसद भवनमा राख्ने कार्यको विरोधमा राष्ट्रिय जनमोर्चा काठमाडौंले बुधबार शान्तिवाटिकामा विरोध सभामा बोल्दै केसीले यस्तो आरोप लगाएका हुन्।

केसीले नेपालको नागरिकता लिएर भारतीयले यहाँको शासन चलाउने बाटो खुलेको दाबी गरे। नेपालमा ४७ लाख बढी अंगीकृत नागरिक रहेको भन्दै केसीले उनीहरुका सन्तानले वंशजको नागरिकता लिएर देश चलाउन खोजेको केसीको भनाई थियो।

‘अब नेपालमा अंगीकृतबाट जन्मेका लाखौं लाख भारतीयहरु नेपालको वंशजको नागरिक भए। यहाँ भारतको लागि समस्या के थियो ? बन्द व्यापार केही छेक्किएको थिएन, उद्योग धन्दा केही छेक्किएको थिएन। एउटै मात्र भारतमा समस्या के परेको थियो भने हाम्रो ७२ को संविधानमा प्रधानमन्त्री, राष्ट्रपति, प्रधान सेनापति, सर्वोच्चको प्रधान न्यायाधीश हुनको लागि वंशजको नागरिक मात्र हुन पाउँछ भनेर संविधानमा छ’ केसीले भने, ‘त्ययसकारण भारतले वंशजको नेपाली नागरिक बनाएर नेपालको प्रधानमन्त्री, राष्ट्रपति, प्रधान सेनापति, प्रधानन्यायाधीश, सभामुख, मुख्यमन्त्री बनाउने योजना पुरा भयो ।’

अध्यक्ष केसीले भारतले आफ्ना नागरिकलाई नेपालको नागरिकता दिन पहिल्यैदेखि डिजाइन गरिरहेको र त्यो आज सफल भएको बताए।

‘नेपालको तीन तिरै खुला सिमाना छन्। भारतीयहरु नेपालमा आउँछन् र आइरहेका छन्। र उनीहरु यहाँ आएपछि उनीहरुका छोरा छोरी जन्मिनछन्। ४७ लाख अंगीकृत नागरिक छन्। उनीहरुलाई वंशजको नागरिकता दिनुपर्छ भनेर भारतले यो डिजाइन पहिले नै गरेको थियो’ केसीले भने।

उनले संसदमा भएका राजनीतिक पार्टीहरु जहिले पनि लाखौं नेपालीले नागरिकता पाएनन् भनेर बोलिरहने गरेको स्मरण गरे।

अध्यक्ष केसीले भारतले नेपालका धेरै भुभाग कब्जा गरेको छ भन्दै अहिले फेरि नयाँ बनेको संसदको भित्तामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई राखेको बारे धेरैले थाहा पाए पनि यो विषयमा कोही नबोलेको बताए।

भारतले दक्षिण एशियामा शान्ति नहोस् भन्ने चाहन्छ : पुरी
विरोध सभालाई सम्बोधन गर्दै प्रवक्ता पुरीले भारतीय साम्राज्यवादले शान्ति नचाहेको आरोप लगाए। भारतले एकातिर सीमा अतिक्रमण र अर्कोतिर जनसांख्यिक आक्रमण गरेर नेपालमाथि हस्तक्षेप गरेको पुरीले बताए।

‘भारतले दक्षिण एशियामा शान्ति चाहँदैन । उसले युद्ध चाहन्छ’ उनले भने, ‘गण्डकी, कालापानी, लिपुलेक होस् वा नागरिताको कुरा होस् जसरी पनि उसले विभिन्न नयाँ नयाँ तरिकाले नेपाललाई हस्तक्षेप गर्दै गैइरहेको छ ।’

कार्यक्रममा अखिल नेपाल कानुन व्यवसायी संघ (अन्ला) का महासचिव लक्षणदेव पाण्डेले पनि सम्बोधन गरेका थिए भने सञ्चालन नेकपा (मसाल) का काठमाडौं जिल्ला प्रवक्ता जगतप्रसाद रेग्मीले गरेका थिए।

भारतले हालै आफ्नो नयाँ संसद भवनमा नेपालको लुम्बिनी र कपिलवस्तुसमेत समेटेर नयाँ नक्सा राखेपछि राष्ट्रिय जनमोर्चाले देशब्यापीरुपमा त्यसको विरोध गरेको हो। त्यसका साथै हालै राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको पनि राजमोले तीब्र विरोध गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .