नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उप सभामुख शिवमाया तुम्बाहाङ्फेले अघि सारेका मागको विषयमा दुवै अध्यक्ष निष्कर्षमा पुगेपछि मात्रै सभामुख चयनको विषयले प्रवेश पाउने भएको छ।
उपसभामुख तुम्बाहाङ्फेले आफूलाई सभामुख बनाउनुपर्ने माग गर्दै आएकी छिन्। तुम्बाहाङ्फेले आफूले राजीनामा गर्नुअघि सभामुखको टुंगो हुनुपर्ने सर्त राखेर दुई अध्यक्षको आग्रह र पार्टी सचिवालयको निर्णयलाई समेत चुनौती दिँदै आएकी छन्। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डसँग’सँग बालुवाटारमा आइतबार मध्यान्ह भएको भेटमा पनि तुम्बाहाङ्फेले आफूलाई सभामुख बनाउने निर्णय नभएसम्म राजीनामा नदिने जवाफ दिएकी छन्।
उपसभामुखले पार्टी सचिवालयको निर्णयलाई नै चुनौती दिएपछि यसबारे के गर्ने भन्ने विषयमा नेकपामा छलफल सुरु भएको छ। नेकपाका महासचिव विष्णु पौडेलले अहिले सभामुख को बनाउने भन्दा पनि उपसभामुखको मागबारे कसरी सम्बोधन गर्ने भन्ने विषयमा दुई अध्यक्षबीच छलफल भइरहेको बताए।
‘उपसभामुखले उठाउनु भएको विषयमा दुवै अध्यक्षहरुबीच सहमति भएपछि मात्रै नयाँ सभामुखको विषयमा छलफल शुरु हुनेछ,’ महासचिव पौडेलले नेपालखबरसँग भने, ‘त्यसपछि मात्रै सभामुखको कसलाई बनाउने भन्नेबारे छलफल अगाडि बढ्छ। अहिले व्यक्तिमा प्रवेश नै गरेका छैनौँ।’
सभामुख चयनको विषयमा देखिएको गतिरोधको विषयमा बालुवाटारमा दुवै अध्यक्षहरुबीच भएको छलफलमा महासचिव पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेल पनि सहभागी थिए।
शनिबार बसेको सचिवालय बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गर्न निर्देशन दिएको थियो। सभामुखको दावी गर्दै आएकी उनले आफूले राजीनामा नदिने भन्दै नयाँ सभामुख चयन प्रक्रिया शुरु गर्ने चेतावनी दिएकी थिइन्। तर, आइतबार दुवै अध्यक्षसँग भेटपछि उपसभामुखले संसदको बैठक ८ दिनका लागि स्थगित गरेकी छिन्।
तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयासकाे आराेपमा असोज १४ गते राजीनामा दिएदेखि नै सभामुख पद रिक्त रहेको छ। दुवै अध्यक्षहरुले पदमा आफूनिकट नेताहरुलाई ल्याउन चाहेका छन्। सभामुखमा अडान राख्दै आएकी उपसभामुख तुम्बाहाङ्फेले राष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाउँदै आएकी छन्।

प्रतिक्रिया