प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल विरोधमा उत्रिएको छ।
बुधबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुन भनेर पशुपतिमा पित्तलको जलहारी लगाएको आरोप लगाएका थिए।
सुन भनेर ओलीले पित्तलको जलहारी लगाएको दाहालको आरोपलाई गम्भीर भन्दै एमालेका सांसदहरुले उभिएर संसद बैठकमा अवरोध गरेका हुन्।
बैठकको सुरुमै एमाले सांसदहरुले ड्यासबाट उठेर विरोध सुरु गरे। एमाले प्रमुख सचेतक पदम गिरीले सत्ता पक्षले गम्भीर आरोप लगाएको भन्दै त्यसबारे प्रष्ट नहुन्जेल संसद अघि बढ्न नदिने उल्लेख गरे।
‘सदन सुचारु हुनुपर्छ। हामी पनि त्यही चाहन्छौँ। यति गम्भीर किसिमको आरोप लगाइएको छ। पशुपतिनाथमा सुन भनेर पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लागेको छ’, उनले भने, ‘यसबारे छानबिन हुनुपर्छ। देशको मुख्य चुनौती भ्रष्टाचार हो। जुनसुकै पक्षको मनोबल गिराउनु छ। सदनभित्र भ्रष्टाचारका विषय मनलाग्दो गरी आएका छन्। बिनाआधार बिनाप्रमाण आरोप लगाइन्छ भने एमाले चुप बस्दैन।’
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्तापक्षबाट बिनाआधारका एकपछि अर्को आरोप आउने काम भएको भन्दै आपत्ति जनाएका थिए।
‘जेठ १० गते माओवादी सांसद लेखनाथ दाहालले पशुपतिनाथको जलहारीमा भ्रष्टाचार भएको गम्भीर कुरा झिक्नु भयो। यो आरोप कसरी आएको छ, तथ्यमा आधारित भएर आएको हो कि होइन? पशुपतिमा लगाएको सुन होइन, पित्तल हो भनियो। यसबारे जनताले बुझ्न पाउनुपर्छ, सरकारले यो विषयमा जवाफ दिनुपर्छ। कुनै पनि भ्रष्टाचारका मुद्दामा कोही पनि उम्किनु हुँदैन।’
नेम्वाङले सरकाले जलहारीमा लगाइएको सुन हो कि पित्तल हो जवाफ दिनुपर्ने उनले बताए।
‘सत्ता पक्षले सुनको जलहारी चढाउने भनेर पित्तलको जलहारी चढाइ भनेर भ्रष्टाचारको आरोप हामीमाथि लगायो’, उनले भने, ‘सत्ता पक्षले भनेपछि यो हो भन्ने हुन्छ, जनतामा त्यही कुरा जान्छ। हामी यस्तो आरोप टाउकोमा बोकेर प्रक्रिया अघि बढाउन सक्दैनौँ।’
प्रतिक्रिया