ad ad

राजनीति


संसदमा जेठ ४ गते प्रधानमन्त्रीले सांसदहरूसँग प्रश्नोत्तर गर्ने

संसदमा जेठ ४ गते प्रधानमन्त्रीले सांसदहरूसँग प्रश्नोत्तर गर्ने

नेपालखबर
बैशाख ३१, २०८० आइतबार १७:४३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ४ गते प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो।

बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले  जेठ ४ गते को बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी भएको जानकारी दिए।

उनले संसदभित्र रहेका दलहरुको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको पनि बताए।

‘प्रधानमन्त्रीले नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्तामध्ये प्रधानमन्त्रीलाई अनुकुल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने भनेर हामीले व्यवस्थित गरेका छौँ। त्यस सन्दर्भमा ४ गते नै प्रधानमन्त्रीले प्रश्नोत्तरमा सहभागि हुने तयारी हुँदैछ,’ उनले भने, ‘त्यो हुँदा संसदभित्र रहेका दलहरुको स्ट्रेन्थको आधारमा प्रश्नहरू प्रधानमन्त्रीलाई सोध्नेगरी समझदारी बनेको छ।’

त्यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समितिको बैठक पनि चाँडै बोलाउने सहमति भएको बताए। 

सकेसम्म सोमबार (भोलि) नै समितिको बैठक बोलाउन जोड गरिएको उल्लेख गरे। 

संयुक्त समिति बनाउनका लागि नियमावली संशोधन आवश्यक रहेकाले नियमावली संशोधनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने कुरा पनि उनले बताए।

‘अब चाँडै समितिको बैठक बसाउने कार्यव्यवस्था परामर्श समितिमा त्यो निर्णय भएको छ। सकेसम्म भोलि नै समितिका बैठक प्रारम्भ गर्ने। र जुन–जुन समितिमा विधेयक बसेका छन्। कमसेकम ति समितिका बैठक बसिहालौँ,’ लेखकले भने, ‘विधेयकमाथिको छलफल शुरु गरिहालौँ। सँगसँगै समितिको नेतृत्वको चयनको कुरा अगाडी बढाउ भन्नेकुरा भएको छ। अब हामीले सुनुवाइ समिति पनि तत्काल बनाउनु जरुरी छ किनभने प्रधानन्यायाधीशको सिफारिस भइसकेको अवस्था छ।’

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले समितिको बैठक बस्न कुनै समस्या नभएको बताए। उनले प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्न ३ दिन अगावै सभामुख कहाँ पुग्नुपर्ने र सो प्रश्नहरु प्रधानमन्त्रीलाई जानकारी गराइने व्यवस्था रहेको उल्लेख गर्दै इच्छुक १५ जना सदस्यहरुले प्रश्न सोध्न पाउने पनि स्पष्ट पारे।

‘इच्छुक १५ जना सदस्यले प्रश्न सोध्न पाउने व्यवस्था छ। यसरी सोधिएको प्रश्नमा थप स्पष्टीकरण सोध्ने अभ्यास पनि छैन,’ उनले भने, ‘नियमावलीमा पनि त्यो व्यवस्था छैन। ३ दिन अगावै प्रधानमन्त्रीज्युलाई सोध्ने प्रश्न सभामुखज्युकोमा आइपुग्नुपर्छ। त्यसको सामान्य जानकारी प्रधानमन्त्रीज्युलाई गराइन्छ।’

उनले संसदीय समितिहरुको बैठक भोलि (सोमबार) नै बस्न सक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .