राजनीति


राष्ट्र निर्माणका लागि राज्यका तीनै अंगबीच समन्वय आवश्यक छ: सभामुख अर्याल

राष्ट्र निर्माणका लागि राज्यका तीनै अंगबीच समन्वय आवश्यक छ: सभामुख अर्याल

नेपालखबर
असार १६, २०८३ मंगलबार १२:४०, काठमाडौँ

सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख तीन अङ्गबीच कार्यगत एकता र गतिशीलता आवश्यक रहेको बताएका छन्। 

मंगलबार ६८औँ संसद् दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले जनजीविका, राष्ट्रियता र समृद्ध राष्ट्र निर्माणको दिशामा सरकारलाई निरन्तर खबरदारी गर्न नागरिक समाज र सरोकारवालालाई आग्रह गरे। ‘आगामी दिनमा जनजीविकाको हकमा, राष्ट्रियताको हकमा, राष्ट्र निर्माणको विषयमा, समृद्ध राष्ट्र निर्माण गर्ने विषयमा, सुशासन कायम गर्ने विषयमा तथा भ्रष्टाचारको अन्त्य गर्ने विषयमा यहाँहरूले हामीलाई निरन्तर झकझक्याइरहनुपर्छ,’ अर्यालले भने।

नेपाल बस्न लायक मुलुक बन्यो, अब स्वदेश फर्किनुपर्छ भन्ने वातावरण सिर्जना गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको उनको भनाइ थियो। वैदेशिक रोजगारी र अन्य सिलसिलामा विश्वभर छरिएर रहेका नेपालीलाई स्वदेश फर्किने आधार तयार गर्न नागरिकले झक्झक्याइरहनुपर्ने उनले बताए। 

‘कम्तीमा पनि अब नेपाल साँच्चिकै नेपाल बन्यो, नेपाल बस्नलायक बन्यो, हामी फर्किनुपर्छ भन्ने अनुभूति संसारभर विभिन्न देशमा बसिरहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा जगाउने वातावरण निर्माण गर्न हामी सबै लाग्नुपर्छ,’ उनले भने।

उनले विकास र सुशासनको मार्गमा अनावश्यक प्रक्रियागत जटिलतामा अल्झिनु नहुने र भ्रष्टाचारमुक्त समाज निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए। अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको प्रविधिमैत्री ज्ञानलाई एकीकृत गरेर मात्र मुलुकलाई द्रुतमार्गबाट विकासको दिशामा अगाडि बढाउन सकिने उनको तर्क छ। 

‘अघिल्लो पुस्ताले हामीलाई यो देशमा लोकतान्त्रिक अभ्यास गर्ने र उच्चस्तरको राजनीति गर्ने अवसर प्रदान गर्नुभएको हो। त्यसकारण उहाँहरूको सम्मान गर्दै उहाँहरूको अनुभवबाट हामीले सिक्नुपर्छ,’ उनले भने, ‘अघिल्लो पुस्ताको अनुभव र पछिल्लो पुस्ताको नवीन सोच तथा क्षमतालाई सँगसँगै लिएर अगाडि बढ्न आवश्यक छ।’

सभामुख अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको ‘स्पिड र स्पिरिट’ मिलेमा मात्र जनताको चाहनाअनुसारको परिणाममुखी काम गर्न सकिने उल्लेख गरे। उनले संविधानको अक्षरशः पालना गर्दै कानूनी राज्यको अवधारणामा कुनै आँच नआउने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए। 

‘हामीसँग रहेको देश निर्माणको हुटहुटी, देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना तथा जनजीविकाका सवालमा प्रभावकारी ढङ्गले काम गर्ने सङ्कल्पलाई सफल बनाउन कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका–यी तीनै अङ्गको गति र भावना एकआपसमा मिल्नुपर्छ भन्नेकुरा मैले पटक–पटक भन्ने गरेको छु,’ उनले भने, ‘यस क्रममा संविधानलाई अक्षरशः पालना गर्दै, कानूनी राज्यको अवधारणालाई कुनैपनि रूपमा कमजोर हुन नदिई तथा विद्यमान संवैधानिक व्यवस्थाभित्र रहेर अघि बढ्नुपर्छ भन्ने कुरामा कुनै द्विविधा छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad