राजनीति


मञ्जु अझै गायब, दुई दिनदेखि हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्

मञ्जु अझै गायब, दुई दिनदेखि हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्

फाइल फोटो


नेपालखबर
बैशाख २८, २०८० बिहिबार २३:४, काठमाडौँ

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको दुई दिन हुन लागेको छ। तर उनकी पत्नी मञ्जु खाँण अझै पनि उनलाई भेट्न पुगेकी छैनन्।

बालकृष्ण पक्राउ पुर्नअघि नै गायब भएकी उनी मोबाइल फोन बन्द गरेर सम्पर्कविहीन भएकी हुन्। 

नेपाली कांग्रेसकी समानुपातिक सांसदसमेत रहेकी उनी संसदमा जारी सरकारका सिद्धान्त तथा नीतिमाथिको बहसमा सहभागी हुन पनि गएकी छैनन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी नेतृत्वको टोलीले बालकृष्णलाई चाबहिलस्थित मैजुबहालमा रहेको निवासबाट पक्राउ गर्दा मञ्जु त्यहाँ थिइनन्।

बरु प्रहरीले पक्राउ गर्नुअघि बालकृष्ण फोनमा व्यस्त थिए। अर्थात् मंगलबार नै पक्राउ पर्ने संकेत पाइसकेका बालकृष्ण र मञ्जु मैजुबहालमा सँगै थिएनन्।

श्रीमान्लाई प्रहरीले हिरासतमा थुनिरहँदा नक्कली शरणार्थी प्रकरणमा जोडिएकी मञ्जुको लोकेशनबारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन।

मञ्जुले साढे ६ करोड र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले २ करोड बुझेको अडिओ आइसकेको छ। 

उक्त अडिओबारेमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। करिब २० मिनेटको भनिएको उक्त अडिओको वास्तविकतामाथि प्रहरीले छानबिन गरिरहेको छ।

काठमाडौं परिसरको हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न बुधबारै उनका परिवारका अन्य सदस्य टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगे।

बालकृष्णका दाजुभाउजु बुधबार नै काठमाडौं परिसर पुगे। उनीहरुले बुधबार र बिहीबार दुवै दिन बालकृष्णका लागि खाना लिएर पुगेका थिए।

त्यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयरसमेत रहेका भाइ रामकृष्ण पनि बालकृष्णलाई भेट्न काठमाडौं आइसकेका छन्। 

बुधबारदेखि नै नातेदार, कार्यकर्ता र शुभेच्छुकहरु बुधबारदेखि नै परिसरमा जम्मा भएका थिए। बिहीबार पनि बिहानैदेखि उनीहरुको भीड परिसरमा थियो। तर मञ्जु दुवै दिन त्यहाँ  देखिइनन्।

पक्राउ परेदेखि प्रहरीले बालकृष्णलाई मोबाइल फोन प्रयोग गर्न दिएको छैन। उनलाई अन्य थुनुवासँग राखिएको छैन। प्रहरीले अरुलाई जसरी हत्कडी पनि लगाएको छैन। 

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको बयानका आधारमा पक्राउ परेका बालकृष्णले नक्कली शरणार्थी प्रकरणमा रकम लेनदेन गरेको प्रमाण भेटिएको जनाएको छ।

नक्कली शरणार्थी प्रकरणमा सचिव पाण्डेलाई उनले पठाएको एक एसएमएसमा आफ्ना निजी सहयोगी नरेन्द्र केसीलाई ५ लाख रुपैयाँ दिनु भनेको प्रमाण पनि भेटिएको प्रहरीले जनाएको छ। 

बालकृष्ण पक्राउ परेपछि दोस्रो दिन बिहीबार बिहान साढे सात बजेदखि नै परिसरमा भेटघाट चलिरहेको छ। उनका नजिक टाढाका नातागोता र इष्टमित्र भेट्न पुग्दा मञ्जुको खोजी भइरहेको छ। तर त्यो भिडमा मञ्जु कतै पनि देखिएकी छैनन्। 

बालकृष्णका लागि बुधबार साँझ पनि तिलोत्तमा नगरपालिकाका मेयरसमेत रहेका भाइ रामकृष्ण लुगा लिएर परिसर पुगेका थिए।

मञ्जुविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छैन। तर उनी दुई दिनदेखि गायब छिन्। न्। 

बुधबार बिहान पनि बालकृष्ण र उनका सहयोगी नरेन्द्र केसी मात्रै घरमा थिए। अहिले उनको मोबाइल फोनसमेत बन्द छ। उनी सम्पर्कविहीन भइरहँदा प्रतिनिधिसभामा सरकारका नीति तथा सिद्धान्तमाथि छलफल चलिरहेको छ।

आरजु र मञ्जुलाई साढे ८ करोड बुझाएको दाबीसहितको अडिओ जाहेरवालाले नै दिएका थिए प्रहरीलाई

नक्कली शरणार्थी प्रकरणमा मञ्जुले पनि साढे ६ करोड रुपैयाँ बिचौलियाबाट लिएको अडिओ केही दिनअघि सार्वजनिक भएको थियो। 

उनीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पनि अढाई करोड रुपैयाँ बुझेको विवरण उक्त अडिओमा थियो।

उक्त प्रकरणमा मुछिन पुगेपछि मञ्जु अहिले पति बालकृष्ण र प्रहरीको पनि सम्पर्कबाहिर रहेकी हुन्। 

हालसम्म प्रहरीले यो प्रकरणका १२ जनालाई पक्राउ गरिसकेको छ। पछिल्लो पटक खाँण समातिएका छन्। 

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा बुधबार ५ घण्टासम्म बयान लिइएको छ। तर यतिका समय बित्दा पनि पतिको अवस्थाबारे जानकारी लिन मञ्जुले प्रहरीसँग पनि सम्पर्क नगरेको स्रोतले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .