राजनीति


बालकृष्ण खाँणको मोबाइलमा भेटिएलान् आरजु र मञ्जुका प्रमाण?

बालकृष्ण खाँणको मोबाइलमा भेटिएलान् आरजु र मञ्जुका प्रमाण?

फाइल तस्बिर


नेपालखबर
बैशाख २८, २०८० बिहिबार २३:३८, काठमाडौँ

नक्कली शरणार्थी खडा गरेर ठगी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल फोन परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको छ। यो प्रकरणमा एकपछि अर्को प्रमाण प्रहरीले मोबाइल फोनबाटै जुटाएको छ। 

पूर्व गृहमन्त्री खाँण पनि मोबाइल फोनकै प्रमाणका आधारमा प्रहरी हिरासतमा तानिएका हुन्। उनी र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेबीच भएको सम्वाद प्रहरीका लागि प्रमाण बन्यो। जुन कुरा पाण्डेको मोबाइलबाट खुलेको हो।

प्रहरीको फरेन्सिक ल्याबमा गरिएको परीक्षणमा पाण्डेले डिलिट गरेका सबै म्यासेज रिकभर भएका थिए। म्यासेजमा पाण्डे र खाँणबीच नक्कली शरणार्थी प्रकरणमा आर्थिक लेनदेन भएको प्रमाण फेला परेको प्रहरीले जनाएको छ। 

यो प्रकरणमा खाँणको संलग्नता रहेको आरोप पक्राउ परेका बिचौलियाले सुरुदेखि नै लगाएका थिए। 

तर पक्राउ गर्न प्रहरीसँग बलियो प्रमाण थिएन। तर उपराष्ट्रपतिको कार्यालयमा कार्यरत पाण्डेलाई पक्राउ गरेपछि उनको मोवाइलबाट खाँणविरुद्धका प्रमाण फेला परे।

तिनैलाई आधार बनाउँदै प्रहरी उनलाई हिरासतमा ल्याउने निर्णयमा पुग्यो। त्यही प्रमाणका आधारमा जिल्ला अदालत काठमाडौंले खाँणलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। 

बुधबार बिहान चाबहिलको मैजुबहालस्थित निवासबाटै पक्राउ परेका खाँणलाई पहिलो दिनभर सोधपुछ गरिएको थियो। दिउँसो ३ बजे स्वास्थ्य परीक्षण गरी उतैबाट म्याद थपका लागि सरकारी वकील कार्यालय र जिल्ला अदालत लगियो। 

अदलतले आगामी आइतबार उपस्थित गराउने गरी म्याद दिएको छ। शनिबारसम्म चार दिन खाँण काठमाडौं परिसरको हिरासतमै रहनेछन्। 

खाँणलाई राख्न परिसरमा छुट्टै कोठाको व्यवस्था गरिएको छ। यसअघि परिसरका डीएसपीको कार्यालयलाई अहिले खाँणलाई राख्ने हिरासत बनाइएको छ। 

प्रहरीले खाँणलाई दरबारमार्ग बृत्तको हिरासतमा लैजाने तयारी गरेको थियो। तर खाँण जान मानेनन्। 

त्यसपछि बुधबार साँझ डीएसपीको कोठामा खाटको व्यवस्था गरेर खाँणलाई राख्ने व्यवस्था मिलाइएको छ। खाँण हिरासतमा परेसँगै परिसरमा उनलाई भेट्नेको बाक्लो उपस्थिति छ। 

बुधबार साँझ नै केही नेता र परिवारका सदस्य काठमाडौं परिसर पुगेका थिए। बिहीबार पनि विहान साढे ७ बजेदेखि उनलाई भेट्नेहरु पुग्न थालेका थिए। 

त्यहाँ जाने सबैलाई भने प्रहरीले भेट्न दिएको छैन। खाँणका परिवार र केही नेताहरुले मात्रै भेट्न पाएका छन्। प्रहरीले नै खाँणलाई सकेसम्म कम भेटघाट गर्न भनेको छ। 

बिहीबार दिनभर खाँणले हिरासतमै बिताए। उनलाई कुनै सोधपुछ गरिएन। तर उनको मोबाइल फोन भने परीक्षणका लागि पठाइएको छ। 

यसअघि तत्कालीन गृहसचिव पाण्डेको मोबाइल परीक्षणबाट उनको संलग्नता पुष्टि भएको थियो। खाँण पत्नी मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु पनि यो घटनामा जोडिएका छन्। 

उनीहरुको संलग्नता अहिलेसम्म पुष्टि भइनसकेको प्रहरीले जनाएको छ। तर, खाँणको मोवाइलबाट थप प्रमाण खुल्न सक्ने प्रहरीको अनुमान छ। 

प्रमाणबाट पुष्टि भएमा उनीहरुलाई पनि प्रहरीले पक्राउ गर्नेछ। यसअघि खाँण गृहमन्त्री हुँदाका निजी सचिव नरेन्द्र केसी भने बुधबार नै पक्राउ परिसकेका छन्। 

सचिवकै मोबाइलबाट उनको पनि संलग्नता खुलेको थियो। 

मञ्जु र आरजु संलग्न रहेको आरोप यसअघिदेखि नै लाग्दै आएको छ। बिचौलियाले पीडितसँग गरेको कुराकानीमा समेत उनीहरुलाई रकम बुझाएको भनेका छन्। 

तर त्यो उनीहरुबीचमा मात्रै भएको कुराकानीलाई बलियो प्रमाण मानिँदैन। अडिओमा खाँणसहित मन्जु र आरजुलाई पनि रकम बुझाएको भनिएको छ। 

खाँणको मोबाइल परीक्षणको रिपोर्ट आएपछि भने यसबारे थप पुष्टि हुने र प्रमाण फेला पर्न सक्ने प्रहरीको दाबी छ। 

अहिलेसम्म नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा १२ जना पक्राउ परिसकेका छन्। 

पक्राउ पर्नेमा खाँण र उनको निजी सचिव केसीसँगै पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले सचिव (निलम्बित) टोपबहादुर रायमाझीका छोरा सन्दीप र अन्य बिचौलिया पक्राउ परेका छन्। 

बिचौलियाले बयानका क्रममा मुख्य दोषी गृहका अधिकारीहरुलाई लगाएका छन्। उनीहरुले पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, उनकी पत्नी, पूर्वगृहसचिव एवम् अख्तियार प्रमुख प्रेम राई लगायतलाई पनि यो ठगीमा संलग्न रहेको आरोप लगाएका छन्। 

तर, अहिलेसम्म प्रमाण फेला नपर्दा प्रहरीले अनुसन्धानको दायरामा ल्याउन सकेको छैन। पूर्वमन्त्री रायमाझीसहित केहीविरुद्ध भने पक्राउ पुर्जी जारी भइसकेको छ। तर उनीहरु फरार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .