ग्लोबल


लेबनान-इजरायल सम्झौता अस्वीकार गर्दै हेज्बुल्लाहले भन्यो: प्रतिरोध जारी रहनेछ

लेबनान-इजरायल सम्झौता अस्वीकार गर्दै हेज्बुल्लाहले भन्यो: प्रतिरोध जारी रहनेछ

नेपालखबर
असार १४, २०८३ आइतबार ५:५९, काठमाडौँ

हेज्बुल्लाहका महासचिव शेख नइम कासेमले अमेरिकाको मध्यस्थतामा लेबनान र इजरायलबिच भएको युद्धविराम सम्झौतालाई अस्वीकार गरेका छन्।

बीबीसी उर्दुका अनुसार उनले यसलाई लेबनानको सार्वभौमसत्ता उल्लंघन गर्ने र इजरायली कब्जालाई वैधानिक बनाउने प्रयास भनेका छन्।

इरानी समाचार एजेन्सी इरनाका अनुसार शनिबार जारी विज्ञप्तिमा शेख नइम कासेमले भनेका छन्, ‘यस सम्झौताको सट्टा इरान र अमेरिकाबिचको सम्झौता कार्यान्वयन गरिनुपर्छ र इजरायल लेबनानबाट फिर्ता नभएसम्म प्रतिरोध जारी राख्नुपर्छ।’

उनले हेज्बुल्लाहले आफ्नो हतियार बिसाउने सर्तमा दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुने प्रस्ताव एकदमै खतरनाक भएको उल्लेख गरेका छन्। यो सम्झौताले इजरायलको दीर्घकालीन कब्जा र लेबनानी क्षेत्र विलय गराउन मार्ग प्रशस्त गर्न सक्ने आशंका गरेका छन्। 

इरनाका अनुसार हेज्बुल्लाहका महासचिव शेख नइम कासेमले दाबी गरेका छन्, ‘इस्लामाबादमा इरान र अमेरिकाबिच भएको सम्झौताले लेबनानविरुद्ध युद्धविराम र ६० दिनभित्र इजरायली सेना पूर्ण फिर्ताको ग्यारेन्टी गरेको छ, तर हालको सम्झौताले लेबनानको कूटनीतिक श्रेष्ठता र प्रतिरोध शक्ति खोसिएको छ।’

उनले सम्झौतालाई ‘अपमानजनक, लज्जास्पद र सार्वभौमसत्ताको आत्मसमर्पण’ भनी टिप्पणी गरेका छन्। 

उनले भनेका छन्, ‘इजरायली कब्जा अन्त्य नभएसम्म हेज्बुल्लाहले आफ्नो प्रतिरोध जारी राख्नेछ।’

यसैबिच लेबनानको सरकारी समाचार एजेन्सीले शनिबार दक्षिणी लेबनानको नाबाटिह क्षेत्रमा इजरायली ड्रोनले प्रहार गरेको उल्लेख गरेको छ।

सम्झौताका बाबजुद पनि इजरायलले केही दिनयता दक्षिणी लेबनानलाई निसाना बनाएको छ।

यो हवाई हमला इजरायल र लेबनानबिच सम्झौतामा हस्ताक्षर भएको एक दिनपछि भएको हो। यो घटनाले पहिले नै कमजोर रहेको युद्धविरामलाई थप जोखिमपूर्ण बनाएको छ।

इरान र अमेरिकाबिच हालै भएको समझदारी पत्र (एमओयू) मा लेबनानको द्वन्द्व पनि अन्त्य गर्ने कुरा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad