राजनीति


आत्मसमर्पण प्रयास असफल भएपछि एमालेले गर्‍यो टोपबहादुरलाई कारबाही

आत्मसमर्पण प्रयास असफल भएपछि एमालेले गर्‍यो टोपबहादुरलाई कारबाही

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०८० बुधबार १८:७, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई प्रहरीसमक्ष आत्मसमर्पण गराउने प्रयास गरेको थियो।

पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई बचाउने सम्भावना नभएपछि एमालेले प्रहरीसमक्ष आत्मसमर्पण गराउने योजना बनाएको थियो।

तर, उनी पार्टी सम्पर्कमै नभएपछि एमाले अप्ठेरोमा पर्‍यो।

मंगलबार बसेको एमाले सचिवलाय बैठकले प्रहरी अनुसन्धानमा सहयोग गर्न रायमाझीलाई आह्वान गर्‍यो।

‘कानुन मान्नु पर्छ, परपर लुकेर हुँदैन, पार्टीलाई पनि बेफाइदा गर्छ, त्यही भएर टोपबहादुरजीले आफ्ना जे कुरा हो त्यो प्रहरीसमक्ष बयान दिनुपर्छ,’ सचिवालय बैठकको निष्कर्ष उद्धृत गर्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेपालखबरसँग भनिन, ‘कानुनी रुपमै आफू दोषी भए-नभएको प्रष्ट पार्नुपर्छ।’

रायमाझीलाई एमालेले संरक्षण गरेको भन्ने आरोप लागिरहेको छ। 

त्यही भएर पनि केन्द्रीय कमिटीका एजेन्डा तय गर्न बसेको सचिवालय बैठकमा ओलीले भुटानी शरणार्थीको कथा भन्नमै केही समय खर्चेका थिए। 

त्यसपछि उनले रायमाझीको प्रक्राउ पुर्जीका विषयमा ब्रिफिङ गर्दै टोपबहादुर रायमाझीको पक्राउ रोक्न नसकिने संकेत गरेका थिए।  

‘टोपबहादुरजीले के गर्नुभयो हामीलाई थाहा हुने कुरा भएन, त्यसबेला को को संलग्न थिए? त्यो पनि आइसकेको छैन,’  ओलीको भनाइ थियो, ‘तर, पक्राउ पुर्जी जारी भइसकेपछि यो रोक्न सकिने होइन।’

नक्कली शरणार्थी प्रकरणमा रायमाझीको नाम आइसकेपछि ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चार पटक भेटिसकेका छन्। 

उनी रायमाझीको विषयमा गम्भीर भएरै राजनीतिक रुपबाट समस्या समाधानको पहल गर्न प्रयासरत थिए। 

उपप्रधानमन्त्री भइसकेका, पार्टी सचिव, अर्घाखाँचीबाट निर्वाचित सांसद विरुद्ध पक्राउ पुर्जी जारी हुनु ओलीका लागि पनि राम्रो थिएन।

त्यही भएर वैशाख २१ र त्यसयता अध्यक्ष ओली आफैँले कहिले सिंहदबार त कहिले बालुवाटारमा प्रचण्डसँग भेटेका थिए।

तर, प्रधानमन्त्रीले भ्रष्टाचारका विषयमा मिलेर जानुपर्ने जवाफ दिएको बालुवाटारनिकट स्रोतले जनाएको छ। 

ओलीले नक्कली शरणार्थी बनाउन अन्य पार्टीका नेताहरुको संलग्न भएको बताउँदै सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा केहीलाई मात्रै दोषी देखाएकोमा आपत्ति जनाए। 

त्यसपछि बुधबार (वैशाख २७) मा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई प्रहरीले निवासबाटै पक्राउ गरेको छ। 

बालकृष्ण पक्राउ परेपछि एमालेले पनि एक विज्ञप्ति जारी गर्दै टोपबहादुर रायमाझीलाई निलम्बित गरेको जनाएको छ।

एमालेले कानुनको शासनलाई मान्ने भन्दै रायमाझीलाई निलम्बन गरिएको जनाएको छ।

यदि पार्टी सम्पर्कमा रहेको भए, सहज रुपमा प्रहरीमा पुगेको भए एमालेले यो कारबाही गर्ने थिएन ।

तर, उनकै कारण पार्टी अप्ठेरोमा परेपछि कठोर निर्णय गर्नुपरेको एक नेताले नेपालखबरलाई बताए।

‘उहाँले खुला भएर कानुनलाई सहयोग गर्दा राम्रो हुन्थ्यो, गल्ती हो कि होइन यथार्थ बाहिर आउँथ्यो,’ ती नेताले भने, ‘तर, पार्टी सम्पर्कमै नभएपछि समस्या भयो।’

बुधबार मात्रै टोपबहादुरले संसद सचिवालयलाई पत्र लेख्दै आफू उपचारका क्रममा रहेको बताउँदै बिरामी विदा दिन आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .