समाज


टोपबहादुर भारत भागेको आशंका, पक्राउ गर्न देशभर सर्कुलर

सीआईबीको टोली पनि परिचालन
टोपबहादुर भारत भागेको आशंका, पक्राउ गर्न देशभर सर्कुलर

नेपालखबर
बैशाख २५, २०८० सोमबार १७:४७, काठमाडौँ

पूर्व उप्रधानमन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको छ। भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा टोपबहादुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। 

तर गत बुधबारदेखि रायमाझी फरार भएका छन्। प्रहरीलाई आफैं आउँछु भन्दै ढाँटेर भागेका रायमाझीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा प्रहरी प्रधान कार्यालयलले सबै जिल्लामा सर्कुलर गरेको हो। 

प्रहरी प्रवक्ता कुवेर कडायतले फरार व्यक्ति पक्राउ गर्न यसरी सर्कुलर गर्नु नियमित प्रक्रिया भएको बताए। गत बुधबार पक्राउ पुर्जी जारी भएपछि रायमाझीले काठमाडौं पुगेर अनुसन्धानमा सहयोग गर्ने प्रतिक्रिया दिएका थिए। 

तर त्यसै साँझदेखि उनी मोबाइल बन्द गरेर भागेका हुन्। प्रहरी महानिरीक्षक वशन्त कुंवरलाई नै फोन गरेर आफैं उपस्थित हुने बताएपछि उनलाई पक्राउ गर्न खटिएको प्रहरी पनि फिर्ता भएको थियो। 

काठमाठौं प्रहरी परिसरले रायमाझीलाई बुटवलबाटै पक्राउ गर्ने तयारी गरेको थियो। तर काठमाडौं ओर्लिनासाथ पक्राउ गर्ने बुझेपछि रायमाझी साँझबाट सम्पर्कबिहिन भएका थिए। उनका छोरा सन्दीपलाई भने प्रहरीले बुटवलबाट त्यसैदिन पक्राउ गरेको थियो। 

भोलिपल्ट उपस्थित हुने भनेका रायमाझीले भने ढाँटेपछि प्रहरी दबाबमा परेको हो। 

भारत भागेको प्रहरीको आशंका
फरार भएका रायमाझी भारत भागेको प्रहरीको आशंका छ। उनी बुुटवलबाट त्यसै बेलुकी भारततर्फ भागेको आशंका प्रहरीले गरेको छ। 

भारतको भागेको आशंकामा रायमाझीलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई समेत निर्देशन दिइसकिएको गृह मन्त्रालय श्रोतले जनाएको छ। 

‘अनुसन्धानका क्रममा उनी उतैबाट भारत भागेको देखिएको छ, पक्राउ गर्न सीआईबीलाई पनि भनिएको छ’, गृह स्रोतले सोमबार दिउँसो नेपालखबरसँग भन्यो। 

उनका छोरा सन्दीपसहित ८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्व गृहसचिव टेकनारायण पाण्डे, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ पनि थुनामा छन्। 

अन्य केही फरारको खोजि भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .