बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आज पदभार ग्रहण गरेका छन्।
आजै चारवटा निर्णयमा हस्ताक्षर गरेका मन्त्री बस्नेतले कोभिड, डेंगीजस्ता सरुवा र दीर्घरोगका कारण स्वास्थ्य क्षेत्र चुनौतीपूर्ण रहेको बताए।
आफू २२ वर्षअघि स्वास्थ्य राज्यमन्त्री हुँदाको प्रगति विवरणको समेत चर्चा गर्न भ्याएका मन्त्री बस्नेतले आफूलाई ‘खोट’ लगाउने कुनै ठाउँ नभएको दाबी समेत गरे।
केहीबेर सञ्चारकर्मीसँग विषयवस्तुमै बसेर कुरा गरेका मन्त्री बस्नेत त्यसपछि भने ठट्टयौलो रुपमा प्रस्तुत भए।
बुढेसकाल लागे पनि आफू अझै स्वस्थ रहेको र परिआए अझै ‘घच्याकघुचुक’ गर्न सक्षम रहेको बताए।
‘म नियमित एक घण्टा एक्सरसाइज गर्छु। मैले अहिलेसम्म औषधि खान पनि परेको छैन्,’ मन्त्री बस्नेतले भने, ‘यो शब्द यहाँ भन्न मिल्छ कि मिल्दैन तर साँच्चिकै घच्याकघुचुक गर्नुपर्यो भने अहिले पनि सक्छु। अहिले म ६५ हुन लागेँ। म स्वस्थ नै छु।’
बस्नेतले यसो भनिरहँदा सञ्चारकर्मीबीच हाँसोको फोहोरा छुटेको थियो। पत्रकार सम्मेलन सकेर निस्कँदै गर्दा पनि धेरैजसोले सोही शब्द दोहोर्याउँदै मन्त्री बस्नेतको गुण्डागर्दीसँग जोडिएको पृष्ठभूमिबारे चर्चा गरेका थिए। चुनावी क्षेत्रमा उनले गुण्डागर्दी गर्ने गरेको आरोप विपक्षीहरुले लगाउने गर्छन्।
बस्नेत गत ४ मंसिरको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने मन्त्री बस्नेत त्यसअघि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने गरेका थिए।
उनी मार्सल आट्र्सका खेलाडीसमेत हुन्। निडर र हक्की स्वभावका मन्त्री बस्नेत सर्वसाधारणमाझ भने समाजसेवी नेताको पहिचान बनाउन लागिपरेका हुन्छन्।
तर, उनले मन्त्री बन्नेबित्तिकै दिएको यो अभिव्यक्तिलाई भने कतिपयले ‘उट्पट्याङ शैली’ भन्दै आलोचना पनि गरेका छन्।
कोभिड र डेंगीको संक्रमणबाट बल्लतल्ल देश बामे सर्न थालेको उनको बुझाइ छ। आफू स्वास्थ्य राज्यमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा ३३ हजार कर्मचारी भएको र अहिले पनि त्यो खासै नबढेको उनको गुनासो थियो।
नेतृत्वमा रहेको मान्छेले राम्रो मार्गनिर्देश गर्न सक्यो भने धेरै मान्छे पनि नचाहिने उनको बुझाइ छ।
‘स्वास्थ्य मन्त्रालयलाई महत्वका साथ हेर्न थालिएको धेरै भएको छैन,’ मन्त्री बस्नेतले भने, ‘२२ वर्ष पहिला ११ महिना राज्यमन्त्री भएर बस्दा पनि मलाई चित्त बुझ्ने गरेर काम गरेर गएँ। सायद मलाई खोट लगाउने ठाउँ कतै पनि छैन।’
यो पटक पनि आफूले सक्दो काम गर्ने प्रतिबद्धता उनले जनाएका छन्।
साथै, चीनबाट सबैभन्दा पहिला ४० लिटर अक्सिनको सिलिन्डर ल्याएर नेपालमा निःशुल्क बाँड्ने कामको नेतृत्व समेत आफूले नै गरेको उनले बताए।
बस्नेतले भने, ‘कुरा धेरै छन्। काम धेरै गर्नु छ। म विश्वास दिलाउन चाहन्छु, तपाईंसँग बुद्धि र क्षमता छ भने त्यो क्षमता राष्ट्र निर्माणमै लगाऔं।’
आफूलाई जनताको सेवा गर्नमा कसैले रोक्न नसक्ने उनको भनाइ छ।
‘स्वास्थ्य विज्ञानलाई चुनौती दिएँ’
मन्त्री बस्नेतले कोरोनाकालमा आफ्नो खुट्टामा प्लास्टर गर्दा समेत एक दिन पनि आराम नगरी भोलिपल्टबाटै हिँडेको समेत सुनाए।
‘सबै विशेषज्ञ हुनुहुन्छ। एउटा खुट्टामा प्लास्टर गरेर चारहप्ता राख्दा अलिकति सुक्छ भन्छन्,’ उनले भने, ‘सबैको सिद्धान्त यही नै हो। तर मेरो सुकेन, किनभने मैले आराम नै गरिनँ। फिजियोथेरापी गर्नेहरु नै मलाई हेरेर दंग परेर अंकल तपाईंले त विज्ञानलाई नै जित्नु भयो भनेर सोधे।’
क्रियाशील जीवन बिताउने मानिसले मेडिकल साइन्स मात्र नभएरै सबै बदलिदिने अनभुव आफूले भोगेको उनको भनाइ छ।
मन्त्री बस्नेतले आफूले नियमित व्यायाम र स्वस्थ जीवनशैली अपनाएका कारण आफू फिट रहेको समेत सुनाए।
Shares

प्रतिक्रिया