राजनीति


चितवनमा उम्मेदवारी दर्ता गराउन चार दललाई दिइयो छुट्टाछुट्टै समय, सबभन्दा पहिले रवि लामिछाने

चितवनमा उम्मेदवारी दर्ता गराउन चार दललाई दिइयो छुट्टाछुट्टै समय, सबभन्दा पहिले रवि लामिछाने

नेपालखबर
चैत २०, २०७९ सोमबार ९:५५, चितवन

आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि दलहरूले आज उम्मेदवारी दर्ता गर्दै छन्। जिल्लामा विशेषगरी चार दलका लागि निर्वाचन कार्यालयले समय तालिका तोकेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिनको १ बजे देखि ४ बजेसम्म ठूला दलहरूलाई उम्मेदवारी दर्ताका लागि समय दिइएको छ। कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बिहान १० बजे, नेपाली कांग्रेसका लागि दिउँसो २ बजे, नेकपा एमालेका लागि दिउँसो ३ बजे र राप्रपाका लागि  अपराह्न ४ बजेलाई समय तोकिएको छ।

निर्वाचन अधिकृतको कार्यालयले समय तालिका तोकेसँगै मनोनयनका लागि दलहरूले आआफ्ना तयारी थालेका छन्। यस क्षेत्रको उपनिर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ,  एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरीले उम्मेदवारी दर्ता गर्दै छन्। 

रास्वपाका केन्द्रीय सभापति लामिछानेले बिहान १० बजे मनोनय दर्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। आफ्नो उम्मेदवारी दर्ता गरेसँगै तनहुँमा समेत उम्मेदवारको दर्ता कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेकाले चाँडै दर्ता गर्न लागिएको उनका निजी सचिव प्रकाश सिग्देलले बताए। 

कांग्रेसले उम्मेदवारी दर्ता गर्नका लागि दिनको १ बजे चौबिसकोठीमा भेला हुन आह्वान गरेको छ। मनोनयन दर्ताका क्रममा कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) चितवन आउने कार्यक्रम छ।

भेलामा नेताले सम्बोधन गरेपछि जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए।

एमालेका उम्मेदवार न्यौपानेले दिउँसो ३ बजे उमेदवारी दर्ता गर्दै छन्। उमेदवारी दर्ता गर्नुअघि जिल्ला पार्टी कार्यालयमा भेला भएर जुलुससहित निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने कार्यक्रम छ। त्यस्तै, राप्रपाका उम्मेदवार पुरीले अपराह्न ४ बजे उमेदवारी दर्ता गर्दै छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एकैचोटि सबै दलका उमेदवार पुगेर भीडभाड नहोस् भनेर दललाई छुट्टाछुट्टै समय दिइएको हो।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय सभापति लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा  १ लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन्। उनीहरूले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad