माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्।
दलका उम्मेदवारहरुले सबै प्रदेशको राजधानीमा रहेको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार बनेका सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेत्री भगवती न्यौपानेले पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन्।
पार्टीका नेता, प्रदेश सरकारका मन्त्री तथा कार्यकर्तासहित निर्वाचन कार्यालय पुगेका श्रेष्ठ र न्यौपानेले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका हुन्। श्रेष्ठको प्रस्तावकमा रामशरण बस्नेत तथा समर्थकमा डिलमाया रोक्का छन्।। त्यस्तै न्यौपानेका प्रस्तावकमा किरण गुरुङ र समर्थकमा मञ्जु गुरुङ छन्।
यता, काठमाडौंमा नेकपाका बेदुराम भुषाल र गंगा बेल्बासे मनोनयन दर्ता गराएका छन्। त्यस्तै नेपाली कांग्रेसका हरिशरण श्रेष्ठ र छलिकुमारी शर्मा उपाध्याय र नेपाल मजदुर किसान पार्टीका कृष्ण बहादुर तामाङ र गीता काफ्लेले मनोनयन दर्ता गराएका छन्।
मनोनयन दर्तापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार वेदुरामा भुषालले प्रतिनिधि सभाले गरेको कामलाई राष्ट्रिय सभाले हेर्ने भएकोले कानून निर्माणमा भएका कमजोरीहरुलाई सुधार्न भूमिका रहने बताए। त्यस्तै अर्का उम्मेद्वार गंगा बेल्बासे विश्वास अविश्वासका धेरै प्रश्न उठेकाले नीति निर्माणमा महत्वपूर्ण भूमिका निभाउने बताइन्।
नेपाली कांग्रेसका उम्मेदवार हरिशरण श्रेष्ठले प्रतिनिधि सभाले पास गरेका गलत खालका कानूनको सुधारमा आफ्नो भूमिका रहने बताए। उनले सरकार अधिनायकवादी तरिकाले अगाडि बढिरहेको र राष्ट्रिय सभालाई प्रतिपक्ष विहिन बनाउने बदनियत राखेकाले शशक्त आवाज उठाउने बताए। त्यस्तै अर्का उम्मेदवार छलिकुमारी शर्मा उपाध्यायले गलत खालका नीतिहरु सच्याउन आफ्नो भूमिका रहने बताइन्।
राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि दिउसो ३ बजे सम्ममा मनोनयन दर्ता गर्नुपर्ने व्यवस्था अनुसार दलका उम्मेदवारहरुले आ आफ्नो प्रदेशमा रहेको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका हुन्।
Shares

प्रतिक्रिया