त्रिभुवन विमानस्थलले चेकजाँचमा कडाइ गरेपछि तस्करहरुले फरक तरिकाले सुन तथा अन्य बहुमूल्य धातुहरु भित्र्याउन थालेका छन्।
आइतबार त्रिभुवन विमानस्थलमा भारतीय नागरिकको पेटमा बहुमूल्य धातु हीरा भेटिएपछि यो रहस्य बाहिरिएको हो।
आरए०४१६ नम्बरको फ्लाइटमा दुबईबाट आएका भारतीय नागरिक मोहम्मद मिदिन सथालीको पेटमा २०० ग्राम हीरा भेटिएको हो।
त्रिभुवन विमानस्थलको भन्सार एरिया कटिसकेपछि अपराध महाशाखाको टोलीले शंकाका आधारमा सथालीलाई पक्राउ गरेको हो।
पक्राउपछि टोलीले उनलाई काठमाडौँ मेडिकल कलेज सिनामंगल लगेर चेकजाँच गराउँदा उनको पेटमा २०० ग्राम हीरा रहेको तथ्य खुलेको हो।
सो हीरासहित उनलाई महाशाखाको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
त्यस्तै विमानस्थलबाट अर्का भारतीय नागरिक आधाकिलो सुनसहित पक्राउ परेका छन्। जी९ ०५९ को फ्लाइटमा युएईकाे सारजहाबाट आएका भारतीय नागरिक कोताकुत किजाकेथिल नौसादको साथबाट प्रहरीले आधाकिलो सुन बरामद गरेको हो।
नौसादले आधाकिलाे सुनलाई चार क्याप्सुल बनाएर ल्याएकाे प्रहरीले जनाएकाे छ।
सुनसहित उनलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
महाशाखा प्रमुख एसएसपी सहकुल थापाले महाशाखाकाे सूचनापछि विमानस्थल प्रहरी र भन्सारकाे संयुक्त कारबाहीमा दुबैजना पक्राउ परेकाे बताए। उनले हीराकाे तस्करीकाे घटना यस वर्षकाे पहिलाे भएकाे बताए।

प्रतिक्रिया