कारोबार


चौधरी ग्रुपले विदेशमा सञ्चालित होटलमा नेपाली झण्डा फहराउने

चौधरी ग्रुपले विदेशमा सञ्चालित होटलमा नेपाली झण्डा फहराउने

नेपालखबर
पुस २०, २०७६ आइतबार १०:२३,

चौधरी ग्रुपले आफ्ना विदेशमा सञ्चालित होटलहरुमा नेपाली झण्डा फहराउने भएको छ। सीजीले विदेशमा नेपाल र नेपालीको पहिचानको प्रतीक राष्ट्रिय झण्डा फहराउने भएको हो।

सोहीअनुसार सीजीले संयुक्त अरब इमिरेट्स (यूएई)को शानदार पाँचतारे होटल ‘ताज जुमिरा लेक टावर्स’मा पनि चन्द्र र सूर्यअंकित नेपाली राष्ट्रिय झण्डा फहराएको छ।

नेपालका एक्ला अर्बपति विनोद चौधरीका गैरआवासीय छोराहरूले हाँकिरहेको सीजी कर्प ग्लोबलले यूएईमा रहेको पाँचतारे होटलमा नेपाली झण्डा फहराएको हो। उक्त होटलको उद्घाटनमै नेपाली झण्डा फहराएको थियो।

होटलमा सुरुमा यूएईको झन्डा फहराइएको थियो भने भारतीय प्रख्यात ब्रान्ड ताजले आफ्नो देशको गौरवका लागि भारतीय झण्डा पनि फहराएको थियो। त्यसपछि अर्बपति चौधरीले पनि आफ्नो देशको झण्डा फहराउने विचार गरे र सोहीअनुसार नेपालको झण्डा होटलमा राखिएको हो।

यसका मुख्य लगानीकर्ता नेपाली छोरा भएको भन्दै सीजीले उक्त काम गरेको चौधरी ग्रुपले जनाएको छ। कार्यक्रममा विनोद चौधरी पनि विशिष्ट पाहुनका रुपमा उपस्थित थिए। कार्यक्रमको उद्घाटन अघि नै नेपालको झण्डा फहराइएको सीजीले जनाएको छ। विश्वमा नेपालको पहिचान सगरमाथा, गौतम बुद्ध वा वीर गोर्खाका कारण मात्रै होइन वल्र्डक्लास कर्पोरेटबाट पनि हुन सक्छ भन्ने सन्देश दिन यसो गरिएको सीजीले जनाएको छ।

दुबईको ‘ताज जुमिरा लेक टावर्स’ विश्वको एकमात्र त्यस्तो पाँचतारे होटल हो, जसमा नेपालको राष्ट्रिय झन्डा फहराउँछ। सीजी कर्प ग्लोबल भन्छ, “अब सीजी हस्पिटालिटीले विश्वका जुनकुनै मुलुकमा स्थापना गर्ने होटलमा चन्द्र र सूर्य अंकित झन्डा फहराउनेछ ।”

यसको घोषणा विनोद स्वयंले पोखरा पुगेर गरेका थिए। नेपाल साहित्य महोत्सवको आठौं शृंखलामा वक्ता बनेका विनोदले यस्तो उद्घोष गरेका थिए। दुबईबाहेक कजाकस्तानमा स्थापित वाईवाईको प्लान्टमा पनि उनले नेपालको झन्डा फहराइसकेका छन् ।

“नेपाललाई विश्व बजारमा स्थापित गर्ने हाम्रो प्रयासलाई यसले ठूलो आडभरोसा दिन्छ । कुनै पनि समृद्ध मुलुकको आलिशान होटलमा नेपालको झन्डा फहराएको देख्दा नेपालीको मन गर्वले कसरी फुल्छ, मैले त्यो अनुभूत गरेको छु,” विनोद भन्छन्, “विश्वभर खुल्ने हाम्रा होटलमा यस्ता दृश्य अब सधैं देखिनेछन् ।”

ताज जुमिरा लेक टावर्स’मा लगानी गरेसँगै सीजी हस्पिटालिटीले मध्यपूर्व, युरोप र अफ्रिकी बजारलाई केन्द्रमा राखेर लगानी अगाडि अगाडि बढाएको छ ।

“यो होटल शताब्दी पुरानो भारतीय पुरातात्विक महत्व र त्यसको विरासतलाई समकालीन विश्वव्यापी सेवा र सुविधासँग जोड्ने सेतु हो,” सीजी कर्प ग्लोबलले भनेको छ, “सीजी हस्पिटालिटीले यूएईमा विलासी होटल स्थापनामात्रै गरेको छैन, व्यावसायिक मूल्य र मान्यतालाई पनि उत्तिकै मजबुत खम्बाका रूपमा ठड्याएको छ । यो होटलले यो क्षेत्रको ‘बिजनेस लग्जरी’लाई नयाँ उचाइमा पु¥याउनेछ ।”

काठमाडौंमा मुकाम रहेको सीजी ‘सीजी कर्प ग्लोबल’ले विश्वका २० मुलुकमा आफ्नो व्यावसायिक उपस्थिति जनाइसकेको छ । पुस्तौंदेखिको साखलाई विश्वभर स्थापित गर्न समूहले आक्रामक बजार विस्तार गरिरहेको छ । चौधरी ग्रुपलाई ‘फोब्र्स’ले नेपालको एकमात्र अर्ब डलरको कम्पनी भनेर सूचीकृत गरेको छ ।

सन् २००१ मा सीजी कर्प ग्लोबलले श्रीलंकाको ताज समुद्र र माल्दिभ्सका अन्य दुई ताज होटलमा लगानी गरेपछि सीजी हस्पिटालिटीको विधिवत् यात्रा शुरु भएको हो । पिताको व्यावसायिक विरासतलाई कायम राख्दै छोरा राहुल चौधरीले सन् २००६ देखि सीजी कर्प ग्लोबल र सीजी हस्पिटालिटीको जिम्मेवारी सफलतापूर्वक सम्हाल्दै आएका छन् ।

सीजी कर्प ग्लोबलले १३ वर्षको अवधिमा हस्पिटालिटी क्षेत्रको विस्तार ११ मुलुकमा ४,३०० प्रतिशतले बृद्धि गरेको छ । उसले विश्वका ११ मुलुक र ८७ गन्तव्यमा १३० होटल र रिसोर्ट सञ्चालन गरिरहेको छ । तिनमा ६,५०७ कोठा उपलब्ध छन् । राहुलले सबै होटलको व्यवस्थापन हेर्छन् । सीजी कर्प ग्लोबल निकट भविष्यमै २०० होटल सञ्चालनको लक्ष्य भेटाउने योजना कार्यान्वयनमा ल्याउने जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad