प्रतिनिधिसभा उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार बनेका केन्द्रीय सदस्य गोविन्द भट्टराईको उम्मेदवारी दर्ता गराउन नेपाली कांग्रेसका महामन्त्री गगन थापा आज तनहुँ जाने भएका छन्।
मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि सांसद पद रिक्त भएकाले त्यहाँ उपचुनाव गर्न लागिएको हो।
त्यहाँ कांग्रेसले आफ्ना नेता गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको हो। आज उम्मेदवारी दर्ता गर्ने दिन भएकाले कांग्रेस महामन्त्री थापा उम्मेदवारी दर्ताका लागि त्यहाँ जाने भएका हुन्।
भट्टराईको उम्मेदवारी दर्ताका लागि आज महामन्त्री थापा आउने कार्यक्रम रहेको कांग्रेसका तनहुँ जिल्ला सभापति जितप्रकाश आलेले जानकारी दिएका छन्।
उनका अनुसार भट्टराईको उम्मेदवारी दर्ताका लागि महामन्त्री गगन थापासँगै नेताहरू शंकर भण्डारी, ध्रुव वाग्ले र प्रदीप पौडेल पनि तनहुँ जाने कार्यक्रम छ।
तनहुँ–१ मा कांग्रेस छाडेका अर्थविद् डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी र पूर्व आईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेबाट चुनाव लड्दै छन्।
Shares
प्रतिक्रिया