नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले चितवन–२ को उपनिर्वाचनमा आफ्नो पार्टीसहित त्रिपक्षीय भिडन्त हुने बताएका छन्।
एमालेको मिसन ग्रासरुट अभियानका क्रममा केही दिनदेखि चितवनमै रहेका नेता बाँस्कोटाले एमालेले पनि आज चितवन–२ का लागि उम्मेदवार तोक्ने जानकारी दिएका छन्।
गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद नागरिकता प्रकरणका कारण गुमेपछि त्यहाँ उपचुनाव हुन लागेको हो। जहाँ रास्वपाबाट पुनः लामिछाने नै चुनाव लड्दै छन् भने नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ।
यस विषयमा टिप्पणी गर्दै बाँस्कोटाले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशकै एक प्रमुख पर्यटकीय गन्तव्य जिल्ला चितवन–२ मा कांग्रेसले रैथाने जितनारायण श्रेष्ठलाई टिकट दिएपछि कांग्रेसजनमा उत्साह नै पैदा गरेको देखियो। सायद एमालेले आज नै टिकट सिफारिस गर्ने पक्कापक्की छ। चुनाव एकपक्षीय नभई त्रिपक्षीय भिडन्ततर्फ जाने देखियो। शुभ प्रभात, पटीहानी।’
प्रतिक्रिया