सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर बधाई दिएका छन्।
शुक्रबार बिहान पौडेलकै निवासमा पुगेर घिमिरेले बधाई दिएका हुन्। भेटका क्रममा उनले पौडेललाई सफल कार्यकालको लागि शुभकामना पनि व्यक्त गरेका छन्।
नौ दलीय गठबन्धनको साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल बिहीबार भएको निर्वाचनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए।
भेटका क्रममा सभामुख घिमिरेले बहराइनमा शनिबारदेखि हुने अन्तर व्यवस्थापिका संघको एक सय ४६औँ महासभामा भाग लिन आफू आज त्यसतर्फ जान लागेको नवनिर्वाचित राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।
उक्त बैठकमा जाने कार्यक्रम यसअघि नै निर्धारण भइसकेकाले नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ कार्यक्रममा सहभागी हुन नपाउने व्यहोरासमेत सभामुख घिमिरेले जानकारी गराएका उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
Shares

प्रतिक्रिया