ad ad

राजनीति


मुस्ताङमा कलेज खोल्न पैसा माग्दै एमालेकै अध्यक्षले पठाए भारतीय दूतावासमा पत्र

मुस्ताङमा कलेज खोल्न पैसा माग्दै एमालेकै अध्यक्षले पठाए भारतीय दूतावासमा पत्र

मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङ, जसले आर्थिक सहयोग माग्दै भारतीय दूतावासमा पठाएका थिए पत्र


नेपालखबर
फागुन २१, २०७९ आइतबार २०:१३, काठमाडौँ

एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल सरकारमाथि लगाएको आरोप विपरित मुस्ताङको संवेदनशील फल्याक क्षेत्रमा बौद्ध कलेज स्थापनाका लागि आर्थिक सहयोग गर्न आग्रह गर्दै एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्षले नै भारतीय दूतावासमा पत्राचार गरेको खुलेको छ। 

एमालेबाट निर्वाचित मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले मुस्ताङ शाक्य बुद्धिष्ट एसोसिएसनले बौद्ध शाक्य कलेज स्थापना गर्न आर्थिक सहयोग खोजिरहेको भन्दै त्यस्तो संस्था स्थापनाका लागि आर्थिक सहयोग गर्न करिब साढे तीन महिनाअघि काठमाडौंस्थित भारतीय दूतावासमा आग्रह गरेका हुन्। 

‘मुस्ताङ र छिमेकी जिल्ला डोल्पा, मनाङ तथा स्थानीय र विदेशी विद्यार्थीहरूको हितका लागि यो ऐतिहासिक परियोजना सम्पन्न गर्न आर्थिक सहयोगका लागि म तपाईंको सरकारसँग विनम्र आग्रह गर्दछु’, अध्यक्ष रिङजीन नामगेल गुरुङले भारतीय दूतावासका डेपुटी सेक्रेटरी करुन बंसललाई सम्बोधन गर्दै २२ नोभेम्बर २०२२ मा पठाएको पत्रमा भनिएको छ। 

मुस्ताङको फल्याकमा बौद्ध कलेज स्थापनाको लागि ७० करोड ३३ लाख रुपैयाँ अनुदान स्वीकृति माग गर्दै भारतीय दूतावासले पठाएको पत्रमाथि अर्थमन्त्रालयले अध्ययन गरिरहेको छ। 

अध्यक्ष गुरुङले आइतबार नेपालखबरसँग भारतीय दूतावासमा सहयोगको आग्रह गर्दै आफूले पत्र पठाएको स्वीकार गरे।

‘पालिकाले एउटा चिठ्ठी पठाएकै भरमा सहयोग आउँछ भने किन नगर्ने भनेर सिफारिस गरेको हुँ’, अध्यक्ष गुरुङले भने।

नयाँ प्रतिनिधिसभा र प्रदेश सभाका लागि ५ मंसिरमा निर्वाचन भएको थियो। अध्यक्ष रिङजीनले भारतीय दूतावासमा पठाएको पत्रमा ६ मंसिर अर्थात् २२ नोभेम्बर उल्लेख छ। एमालेको मुख्य पहल र समर्थनमा पुस १० गते मात्र माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। 

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष मात्रै होइन उपाध्यक्षमा एमालेकै दिकी गुरुङ छिन्। भारतको सहयोगमा बौद्ध कलेज स्थापना गर्न लागिएको ५ नम्बर वडाका अध्यक्ष सुरेन्द्र गुरुङ पनि एमालेबाटै निर्वाचित भएका हुन्। 

मुस्ताङको निषेधित क्षेत्रमा बौद्ध कलेज खोल्न भारत अग्रसर भएको रिपोर्ट कान्तिपुरमा बिहीबार (१८ फागुन) प्रकाशित भएपछि एमाले अध्यक्ष ओलीले शनिबार दाहाल नेतृत्वको सरकारले चीनविरुद्ध गतिविधि बढाउन भारतलाई मुस्ताङमा कलेज स्थापना गर्ने अनुमति दिएको गम्भीर आरोप लगाएका थिए। 

‘मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो, राष्ट्रियतामाथिको प्रहार हो, चीनविरुद्धको गद्दारी हो’, ओलीले भनेका छन्,  ‘२०३१ साललाई ठूलो स्केलमा दोहोर्याउन खोजेको हो, आफ्नै राष्ट्रको सार्वभौमसत्ता र स्वाधिनतालाई अस्वीकार गरेको हो।’ 

सीआईएले तालिम र हतियार दिएर चीनविरुद्ध लड्न मुस्ताङमा तयार गरेका तिब्बती विद्रोही कमान्डर वाङ्दी २०३१ सालमा नेपाल सरकारले गरेको अप्रेसनका क्रममा भारत भाग्दै गर्दा नेपाली सेनाबाट मारिए।   

ओलीले विश्वविद्यालयको नाममा मुस्ताङलाई विदेशीहरूको खेल मैदान बनाउन खोजिएको आरोप लगाउँदै भने, ‘यो बहुतै खतरनाक कुरा हो।’  

‘जहाँ मान्छे छैनन् त्यहाँ विश्वविद्यालय!’, ओलीले थपे, ‘त्यो ठाउँमा खास उद्देश्यका पेड (पैसा दिइएका) मान्छेहरू मात्रै बस्छन्।’

नेपालखबरको प्रश्नमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष गुरुङले आइतबार भने :

तपाईँले मुस्ताङमा विश्वविद्यालय खोल्न आर्थिक सहयोग माग्दै भारतीय दूतावासमा पत्र पठाउनु भएको हो?
विश्वविद्यालय होइन, सायद कलेज होला, प्लस टू कलेज। यसबारे शाक्य बौद्ध संघले जान्ने कुरा हो। फल्याकमा लालपूर्जा भएको जग्गा पाएका छौं, यहाँ कलेज बनाउन भारतीय दूतावासलाई पत्र पठाएर सहयोग माग्नुपर्यो भनेर बौद्ध संघका साथीहरु निवेदन बोकेर पालिकामा आउनुभयो। त्यही आधारमा पालिकाले एउटा चिठ्ठी पठाएकै भरमा सहयोग आउँछ भने किन नगर्ने भनेर सिफारिस गरेको हुँ।

दूतावासमा पत्र पठाउनुअघि पार्टीकै माथिल्लो तहका नेताहरूसँग पनि छलफल भएको थियो? 
यस्तो हो, बौद्ध संघले निवेदन दिएर अनुरोध गर्नुभयो– सिफारिस गर्नुपर्यो भनेर। यहाँका स्थानीयको एउटा समस्या छ, प्लस टू पढ्नका लागि कि तिब्बत जानुपर्छ, कि भारत पुग्नुपर्छ। ३ वटा पालिकाबाट उत्पादन भएका भिक्षुहरुलाई यहीँ राख्न सके हुन्थ्यो भन्ने कुरामा समर्थन गर्नैपर्यो। बौद्ध संघले यहाँका भिक्षुहरुको थप पढाइको विषयमा एउटा कार्यक्रम राखेको थियो, त्यहाँ हामी पनि गएका थियौँ। शैक्षिक विकास गर्ने उद्देश्यलाई पालिकाले समर्थन र सहयोग गर्नुपर्यो। शैक्षिक विकासका लागि रोकतोक गर्ने कुरा त भएन।

भारतले मुस्ताङका अन्य ठाउँमा पनि सहयोग गरेको छ? 
छ नि, भारतले मुस्ताङका विभिन्न ठाउँमा गुम्बा निर्माणमा आर्थिक सहयोग गरेको छ। यस्तै शैक्षिक संस्थाहरूमा पनि भारतले सहयोग गरेको छ।

तपाईंहरूले त्यो जग्गाको लालपुर्जा सही नै हो भनेर कसरी ठम्याउनुभयो? 
हामीले लालपुर्जा चेक गरेका थियौँ। चेक गर्दा जग्गा व्यक्तिको नाममा रहेको देखियो। किनेको हो वा दान दिएको हो भन्ने खुलेको छैन। अहिलेसम्म किनेको जस्तो लागेन।

अर्थमन्त्रालयका अधिकारीहरूका अनुसार मुस्ताङ बुद्धिष्ट एसोसिएसनले बौद्ध कलेज खोल्ने गरी वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्षले भारतीय दूतावासमा पत्र पठाएको भए पनि यससम्बन्धी सम्झौता भने भइसकेको छैन। 

फल्याक क्षेत्रमा बौद्ध कलेज स्थापना गर्न करिब ७० करोड ३३ लाख रुपैयाँ अनुदान दिन तयार रहेको भन्दै दूतावासले अर्थमन्त्रालयसँग अनुमति मागेपनि त्यस्तो अनुमति दिइनसकेको मन्त्रालयका एक अधिकारीले बताए। मन्त्रालयले यो प्रस्ताव स्वीकृत गरिनसकेकाले दूतावास सहयोग दिन तयार रहेपनि सम्झौत भएको छैन। 

‘मुस्ताङमा बौद्ध कलेज स्थापनाका लागि आर्थिक सहयोग गर्न स्वीकृति माग्दै भारतीय दूतावासको पत्र मन्त्रालयमा आएको छ’, अर्थमन्त्रालयका ती अधिकारीले नेपालखबरसँग भने, ‘आयोजनाको लागत अनुमान कस्तो हुने भन्ने विषयमा अध्ययन नगरि अर्थमन्त्रालयले सम्झौता गर्दैन। अहिले आयोजना कस्तो हो भन्ने अध्ययन भइरहेको छ।’

ती अधिकारीले थपे, ‘नेपाल सरकारले लिने सहयोग बजेटरी प्रणालीमा समावेश हुने गरि दिनुपर्ने माग पनि अर्थमन्त्रालयको छ।’

सरकारका अर्का एक अधिकारीका अनुसार गाउँपालिका अध्यक्षले लिखित प्रस्ताव पठाएपछि सहयोग दिन तयार रहेको जवाफ भारतीय दूतावासले दिइसकेको छ।  

‘सरकारले रोक्न चाहेन भने यो सम्झौता चाँडै हुनेछ’, उनले भने।

(मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले फल्याक क्षेत्रमा बौद्ध शाक्य कलेज स्थापना गर्न आर्थिक सहयोग माग्दै भारतीय दूतावासमा पत्र पठाएको कुरा यस अन्तर्वार्तामा खुलेर बताएका छन्। यो रिपोर्ट प्रकाशित भइसकेपछि थप बुझ्दा भारतीय दूतावासको उच्च स्रोतले नेपालखबरसँग सो पत्र आएको पुष्टि गरेको छ। तर दूतावासले संवेदनशीलताका कारण सो पत्रको सक्कल प्रति सार्वजनिक गर्न अस्वीकार गरेको र यसअघि हामीले प्रकाशित गरेको पत्रको ड्राफ्टको आधिकारिकतामाथि प्रश्न उठेकाले सो ड्राफ्ट हटाइएको छ–सम्पादक) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .