ad ad

म्यागेजिन


सीआईएको हतियारले चीनसँग लडे, भारत भाग्दै गर्दा नेपाली सेनाबाट मारिए

सीआईएको हतियारले चीनसँग लडे, भारत भाग्दै गर्दा नेपाली सेनाबाट मारिए

मुस्ताङको क्याम्पमा गे वाङ्दीसहितका खम्पा लडाकू (तस्बिरः अर्फान अफ द कोल्ड वार)


सीताराम बराल
भदौ २५, २०७८ शुक्रबार २२:११, काठमाडौँ

नेपाल–चीन सीमानामा लिपुलेकबाट याकको पिठ्यूँमा बोकाएर ६ जनाको शव दार्चुलाको टिङकर गाउँमा २६ भदौ (२०३१) बिहानै ल्याइपुर्याइएको थियो। ती शव निरीक्षण गर्न प्रशासन र नेपाली सेनाका उच्च अधिकारीहरू बैतडीबाट त्यही दिन टिङ्कर पुगेका थिए। 

हेलिकोप्टरबाट टिङ्कर पुग्नेमा कृषि मन्त्रालयका उपसचिव नारायणप्रसाद राजभण्डारी (चित्तरञ्जन नेपाली), नेपाली सेना ४ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी आदित्यशमशेर राणा, सेनाको युद्धकार्य विभागका प्रमुख महासेनानी भरतकेशर सिंह, लेफ्टिनेन्ट प्रदीप कार्कीलगायत थिए। 

लहरै राखिएका ६ वटा शवमध्ये एउटा अजङ्गको थियो। गोलीले कोखा छेडिएको थियो। नेपाली सेनाको ४ नम्बर बाहिनीअन्तर्गतको फौजले २ दिनअघि गरेको कारबाही (अपरेसन) मा ती व्यक्ति मारिएका थिए।

भयंकर ज्यानका ती मृतकको सनाखत उपसचिव राजभण्डारीले गरे। 

त्यसपछि बाहिनीपति राणा, त्यो शवअगाडि उभिए र भने, ‘तँ हाम्रो शत्रु भए पनि प्रोफेसनल आर्मी थिइस्, साँच्चिकै अनरेवल (सम्मान गर्न लायक), तँलाई लडाइँमा सहादतको गौरव प्राप्त भयो।’

उनले अगाडि भने, ‘तर, तैंले एउटा अनैतिक काम गरिस्। त्यसैले, तेरो यस्तो हविगत भयो।’

यति भन्दै बाहिनीपति राणाले मृत शरीरलाई सलाम गरे, ‘वीरता प्रदर्शन गर्दै लडाइँमा मारिएको’ भन्दै सम्मान प्रकट गरे।  

२३ वर्षअघि नेपाली सेनाको लेफ्निनेन्ट कर्णेलबाट अवकास प्राप्त प्रदीप कार्कीका भनाइमा– ती व्यक्तिहरू मुचु (हुम्ला) मा चौँरी गाई काटेर मासु खाई दार्चुलातर्फ अघि बढेका थिए। त्यसैलाई संकेत गर्दै राणाले ‘तैंले अनैतिक काम गरिस्’ भनेका थिए।

नेपाली सेनाको ४ नम्बर बाहिनीका तत्कालीन इन्टिलिजेन्स अफिसर कार्कीका भनाइमा– ‘शत्रु’ नै भए पनि बाहिनीपति राणाबाट सलाम–सम्मान पाएको त्यो शव खासमा खम्पा कमान्डर गे वाङ्दी (वास्ताविक नाम : वाङ्दु ग्याटोट्स्टाङ) को थियो। 

गे वाङ्दीको शव (स्रोत: अमर पन्त, सिपाही)

वाङ्दी २ दिनअघि (२४ भदौ) १८ हजार फिटभन्दा बढी उचाइमा रहेको लिपुलेक भन्ज्याङमा नेपाली सेनासँगको भिडन्तमा आफ्ना ६ जना सहयोद्धासँगै मारिएका थिए।

गत अगस्ट १५ (साउन ३१) का दिन राजधानी काबुल प्रवेश गर्दै तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि यतिबेला अफगान नागरिकलाई अमेरिकाले ‘धोका’ दिएको भन्दै विश्वव्यापी चर्चा भइरहेको छ। यस्तै नियति ४७ वर्षअघि गे वाङ्दीसहित नेपालमा रहेका खम्पाहरूले पनि भोग्नुपरेको थियो। 

अमेरिकाले दिएको त्यस्तै ‘धोका’को परिणाम थियो– लिपुपास (दार्चुला) मा नेपाली सेनासँगको भिडन्तमा वाङ्दीसहित खम्पा लडाकुहरूको अवसान।    

सीआईएको मुस्ताङ ‘कनेक्सन’
‘केही विदेशी शक्तिका आडमा खम्पाहरूले फौजी स्रोत संकलन गर्न थाले’, नेपाली सेनाको जंगी अड्डाद्वारा प्रकाशित ‘नेपालको सैनिक इतिहास’ (२०४९) मा भनिएको छ, ‘त्यसबखत मुस्ताङ क्षेत्रमा खम्पाहरूले सामान्य तौरमा सरकारी निकायबाहेक अरूलाई निषेध आज्ञाजस्तो जारी गर्न थाले।’ 

उक्त पुस्तकका अनुसार, नेपाली सेनाले अपरेसन अभियान सञ्चालन गर्ने बेला (२०३१ असार) सम्म खम्पाहरूले जोमसोमको उच्च पहाडी स्थान ​केसाङमा आफ्नो बलियो सामरिक दुर्ग (किल्ला) बनाइसकेका थिए; उनीहरूको प्रधान कार्यालय (हेडक्वार्टर) पनि त्यहीँ थियो।

दोस्रो विश्वयुद्ध सकिएको ४ वर्ष पुग्दानपुग्दै चीनमा माओत्सेतुङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्यो। योसँगै विजयी जनमुक्ति सेना तिब्बतलाई पनि मुक्त गर्न अघि बढ्यो।

त्यसपछि तिब्बतबारे चासो बढाउन थालेको अमेरिकाले चीनप्रति असन्तुष्ट तिब्बती–खम्पा युवाहरूलाई छापामार युद्धसम्बन्धी तालिम दिन थाल्यो। तीमध्ये पहिलो तालिमका लागि सन् १९५६ मा ६ जना खम्पा युवा अमेरिका पठाइए। २४ भदौ (०३१) मा लिपुपासमा मारिएका गे वाङ्दी ती ६ जनामध्ये एक थिए।

तालिमपछि चिनियाँ सेनाविरुद्ध विद्रोहका लागि उनीहरूलाई हतियार–सञ्चार उपकरण दिएर तिब्बत पठाइएको थियो। एयर ड्रप (हवाईजहाज) मार्फत ‘सीआईए’ले ती युवालाई तिब्बत पुर्याएको थियो। 

तर, चिनियाँ सेनाले तिब्बतमा भएको विद्रोह सफलतापूर्वक दमन गर्यो। त्यसपछि १७ मार्च १९५९ (४ चैत २०१५) मा दलाई लामा ल्हासा छाडेर भारत गए। उनलाई खम्पा लडाकुहरूले सुरक्षा दिएर भारतीय सीमानासम्म पुर्याए। 

दलाई लामा भारत पलायन भएसँगै हजारौं नागरिकले तिब्बत छाड्न थाले। तिनै तिब्बतीहरूलाई प्रयोग गरी सीआईएले चीन–तिब्बतविरुद्ध सशस्त्र संघर्ष गर्ने योजना बनायो। दलाई लामाका दाजु ग्यालो थोन्डुप योजना प्रमुख बनाइए।

थोन्डुप, चीनमा जनवादी क्रान्ति सम्पन्न भएपछि सीआईएको सम्पर्कमा थिए। र, तिब्बतमा चिनियाँ प्रभाव बढ्दै गएपछि पूर्वी नेपालको सीमास्थित भारतीय सहर कालिम्पोङमा उनले व्यापार तथा बसोबास सुरु गरेका थिए।  

जोन केनेथ नाउस नामका अमेरिकी अधिकारीले सीआईएका तर्फबाट नयाँदिल्लीमा बसेर चीन–तिब्बतविरुद्धको यो अपरेसनको नेतृत्व गरेका थिए।  

मुस्ताङमा खम्पा लडाकुहरूको क्याम्प राख्न सीआईएले कसरी सहयोग गरेको थियो– थोन्डुपले आफ्नो आत्मकथा ‘द नुडल मेकर अफ कालिम्पोङ’मा र नाउसले ‘अर्फान अफ द कोल्ड वार’ पुस्तकमा विस्तृत रूपमा बताएका छन्।

थोन्डुप र नाउसका भनाइमा– सीआईए नेतृत्वको योजनामा भारतले समेत समर्थन गरेको थियो। त्यसैले, तिब्बतविरुद्धको अपरेसन सञ्चालनका लागि नयाँदिल्लीमा सीआईए, तिब्बती लडाकु र भारतीय गुप्तचरसहितको संयुक्त अपरेसनसम्बन्धी कार्यालय स्थापनासमेत गरिएको थियो। त्यसमा भारतीय अधिकारीहरू पनि सामेल थिए।  

सन् १९६० को दशकको सुरुवातदेखि नै शरणार्थीको भेषमा खम्पा लडाकुहरू सीआईएले दिएको हतियारसहित मुस्ताङ प्रवेश गर्न थाले। तिनलाई तिब्बतमै ‘एयर ड्रप’ गरी मुस्ताङ पुर्याइएको नाउसले आत्मकथामा उल्लेख गरेका छन्।

सोभियत संघविरुद्ध लड्न (१९७८–८९) अमेरिकाले अफगानिस्तानका मुजाहिद्दिनहरूलाई सोभियत मोडलकै हतियार उपलब्ध गरायो। मुस्ताङका खम्पा लडाकुहरूलाई उसले आफ्नो संलग्नता पुष्टि नहुने खालका हतियार दिएको थियो। 

मुस्ताङको केशाङ क्याम्पमा खम्पा लडाकूहरुका साथ गे वाङ्दी– बायाँबाट पाचौँ (स्रोत: अर्फान अफ द कोल्ड वार) 

खम्पा क्याम्पका लागि मुस्ताङ छनोट गरिनाका केही कारण थिए। मुस्ताङ काठमाडौंबाट टाढा थियो। हिमाल (नीलगिरि) पारिको जिल्ला भएकाले आवागमन सहज थिएन। भौगोलिक दृष्टिले तिब्बती प्लेटोको एक भाग भएकाले हावापानी र रहनसहन तिब्बतसँग मिल्थ्यो। तिब्बतमा आक्रमणपछि सुरक्षित फर्किन पनि सजिलो। 

केसाङमा क्याम्प स्थापनासँगै त्यसको कमान्डर गे येसी (हिस्सी) लाई बनाइयो। मुस्ताङका थप आधा दर्जन स्थानमा क्याम्प विस्तार गरिए। खम्पा फौजलाई आवश्यक हतियार तिब्बतमा ‘एयर ड्रप’ गरी मुस्ताङ पुर्याइयो। 

मे १९६५ (वैशाख–जेठ २०२२) मा सीआईएले तेस्रोपटक हतियार मुस्ताङ झार्यो। यो नै उसले हतियार मुस्ताङ ओसारेको अन्तिम खेप थियो। 

अन्तिमपल्ट मुस्ताङ पुर्याइएका हतियारमा २ सय ५० थान राइफल, हजार वटा ग्रिनेड, ६ थान मोर्टार, ३६ वटा ब्रेन गन, ४२ वटा स्टेन गन, ६ थान ५८ मिमिका रिक्वाइललेस राइफल (पर्खाल भत्काउन मिल्ने रकेटलन्चर), ७२ वटा ह्यान्डगन र ७२ हजार राउन्ड गोली थिए। 

‘त्यसअघि सीआईए आफैंले तिब्बतमा ‘एयर ड्रप’ गरी हतियार मुस्ताङ पुर्याएको थियो’, नाउसले लेखेका छन्, ‘तर यसपटक भारतको अनुरोधपछि मुस्ताङमा हतियार झारिएका थिए।’ 

दरबारको छत्रछाया  
बीपी कोइराला प्रधानमन्त्री छँदाताका नै हतियारसहित छिटपुट रूपमा खम्पा लडाकु मुस्ताङ प्रवेश गर्न थालेका थिए। यससम्बन्धी समाचार केही भारतीय समाचारपत्रले दिएका पनि थिए। 

तर, अवैध हतियारसहित खम्पाहरूको नेपाल प्रवेशलाई खासै नियन्त्रण गरिएन। बरु, यस्ता समाचारको खण्डन गरेर सशस्त्र खम्पाहरूको नेपाल प्रवेशलाई ढाकछोप गर्न खोजियो। 

१ पुस (२०१७) मा बीपी कोइराला प्रधानमन्त्रीबाट अपदस्थ भए। राजा महेन्द्रको एकछत्र शासन सुरु भयो। राजा महेन्द्रको एकल शासनकालमै सीआईएको सहयोगमा खम्पाहरू केसाङ (मुस्ताङ) मा सैनिक क्याम्प स्थापना गर्न सफल भए। 

दलाई लामाका दाजु ग्यालो थुन्डुपका अनुसार राजा महेन्द्रकै स्वीकृतिमा मुस्ताङमा सैनिक क्याम्प खडा गरिएका थिए।  मुस्ताङमा क्याम्प स्थापना गरेर  चीनविरुद्ध सूचना संकलन र सैन्य आक्रमणको योजना बनाउन नयाँदिल्लीस्थित सीआईए प्रतिनिधिले गोम्पो तासी (खम्पा लडाकु दलका संस्थापक र कमान्डर) सँग कुराकानी गरेका थिए। 

‘यो विषय निकै जटिल भएकाले सीआईएका प्रतिनिधिले राजा महेन्द्रसँग कुराकानी गरे’, थोन्डुपले लेखेका छन्, ‘यस (क्याम्प स्थापना गर्ने) विषयमा राजा महेन्द्र पनि सहमत भए’ (द नुडल मेकर अफ कालिम्पोङ, पृष्ठ २०६)।

पुस १, २०१७ को ‘फौजी कु’पछि कांग्रेस नेता सुवर्णशमशेरले राजाको कदमविरुद्ध भारतीय भूमिबाट सशस्त्र संघर्ष थालेका थिए। यस्तो आन्तरिक राजनीतिक परिस्थितिका कारण राजा महेन्द्र शक्ति राष्ट्रहरूको समर्थन खोज्नैपर्ने दबाबमा परे।  

चीनले राजालाई सहयोग–समर्थन गरेको थियो। तर, कांग्रेसलाई समर्थन गरिरहेको नयाँदिल्लीले सैन्य सामग्रीको आपूर्ति रोकेका कारण उनले अमेरिकाबाट हतियार अपेक्षा गरिरहेका थिए। 

सम्भवतः यही कारण राजा महेन्द्रले चीन–तिब्बतविरुद्ध खम्पामार्फत हुने आक्रमणका लागि मुस्ताङको भूमि प्रयोग गर्न स्वीकृति दिए। त्यसबाहेक अमेरिकी सहयोग–प्राप्त खम्पाहरूलाई गोप्य रूपमा रहन दिँदा उत्तरी क्षेत्रमा साम्यवादको प्रसार रोक्न सकिने विश्लेषण पनि भएको हुँदो हो।  

राजा महेन्द्रको स्वीकृति पाएपछि सीआईएले हजार जना खम्पा गुरिल्ला भर्ना गर्न आफूलाई भनेको थोन्डुपले पुस्तकमा उल्लेख गरेका छन्। तर, लडाकु दलमा यति धेरै शरणार्थी युवा आकर्षित भए कि २ हजार जना भए। 

मुस्ताङबाहेक ताप्लेजुङ, सोलुखुम्बु, हुम्लालगायत जिल्लामा पनि सशस्त्र खम्पाको उपस्थिति थियो। तर उनीहरूलाई हतियार प्रदर्शन गर्ने छुट थिएन। हतियार लुकाएर राख्न वा नेपाली लाइसेन्स लिन प्रशासनले भनेको थियो।    

पछि सशस्त्र खम्पाहरूका गतिविधि निगरानी गर्न सरकारले उल्लिखित ४ जिल्लामा ‘उत्तरी सीमा क्षेत्रीय प्रशासन कार्यालय’ स्थापना गर्यो। जसका प्रमुख सहायक– अञ्चलाधीश तहका प्रशासक हुने व्यवस्था गरिएको थियो।  

वि.सं. २०२३ मा भएको सीमा क्षेत्रीय प्रशासकहरूको सम्मेलनमा प्रस्तुत प्रतिवेदनमा मुस्ताङ र ओलाङचुङ्गोला (ताप्लेजुङ) मा रहेका खम्पाहरूसँग हतियार रहेको उल्लेख थियो।  

तुलसी नारायण श्रेष्ठद्वारा लिखित ‘नेपालको उत्तरी सीमा क्षेत्रीय प्रशासन : एक विश्लेषण’ (२०६४) पुस्तकमा उल्लेख भएअनुसार, मुस्ताङका प्रशासकले पेस गरेको प्रतिवेदनमा भनिएको थियो– यिनीहरूलाई यी हातहतियारहरू भारतबाट आएको सर्भे पार्टी, रेडक्रसको टिमका व्यक्तिहरू एवं विदेशीहरूले ल्याएर छाडेका रहेछन्।

त्यो बेला नेपाल रेडक्रसको अध्यक्ष अधिराजकुमारी प्रिन्सेप शाह (राजा महेन्द्रका माइला भाइ हिमालयकी श्रीमती) थिइन्। रेडक्रसको आवरणमा उनले सशस्त्र खम्पाहरूलाई सहयोग गर्ने गरेको चर्चा उतिबेला चलेको थियो।   

वि.सं. २०३१ मा खम्पाविरुद्ध अपरेसन सुरु हुनुअघि मुस्ताङको सीमा प्रशासक रहेका नारायणप्रसाद राजभण्डारी (चित्तरञ्जन नेपाली) का भनाइमा– राजा महेन्द्र हुँदा उनलाई ‘खम्पाहरूसँग राम्रो सम्बन्ध राख्नू’, तर हतियार लिएर हिँड्न नदिनू’ भन्ने निर्देशन थियो।

‘म राजा महेन्द्र हुँदा प्रशासक बनाइएको थिएँ’, राजभण्डारीले भने, ‘खम्पाहरूमाथि कडाइ हुन थालेको वीरेन्द्र राजा भएको केही वर्षपछि मात्र हो।’ 

खम्पा अपरेसन सुरु हुनुभन्दा केही महिनाअघि मात्र पोखरामा ल्हामो छिरिङ नामका एक जना उच्च खम्पा अधिकारी पक्राउ परे। खासमा उनी दलाई लामाका दाजु ग्यालो थोन्डुपका सहयोगी थिए। उनी थोन्डुपको प्रतिनिधिका रूपमा सीआईए र खम्पा लडाकुहरूबीच समन्वयको काम गर्थे। 

पक्राउ परेपछि प्रहरीसँगको बयानमा उनले दरबार–खम्पाबीच रोचक सम्बन्धको खुलासा गरेका थिए। 

‘अर्फान अफ द कोल्ड वार’मा उल्लेख भएअनुसार, छिरिङले (बयानमा) भनेका थिए, ‘राजा (वीरेन्द्र) र उनका काका (सम्भवतः हिमालय विक्रम शाह) दुवै जना मुस्ताङ पुगेका थिए। त्यस क्रममा उनको गे हिस्सीसँग भेट भएको थियो र गे हिस्सी (वाङ्दीअघिका खम्पा कमान्डर) ले उपहार दिएको घोडा राजाले सहर्ष स्वीकार गरेका थिए।’ 

‘राजाको समर्थन आफूहरूप्रति रहेको कुराको पुस्ट्याइँका लागि ल्हामो छिरिङले राजा वीरेन्द्र र गे वाङ्दी सँगै रहेको एउटा तस्बिर पनि प्रस्तुत गरेका थिए’, नाउसले लेखेका छन्, ‘त्यो तस्बिरमा राजा र वाङ्दीअगाडि सहज पोज दिएर उभिएका देखिन्छन्।’

धौलागिरि अञ्चलाधीश  सत्यनारायण झा (बायाँ) राजा वीरेन्द्र, रानी ऐश्वर्य र गे वाङ्दी– सबैभन्दा दायाँ, ज्याकेट लगाएका (स्रोत: अर्फान अफ द कोल्ड वार )

खासमा त्यो तस्बिर राजा वीरेन्द्र गद्दीमा बसेको २ वर्षपछि मुस्ताङको तत्कालीन सदरमुकाम दानामा खिचिएको थियो। वीरेन्द्र दाना जाँदै छन् भन्ने जानकारी पाएपछि वाङ्दी घोडा चढेर रातारात त्यहाँ (दाना) पुगेका थिए। त्यस क्रममा अन्य सरकारी अधिकारीले खम्पा–दरबार सम्बन्धबारे थोरै भए पनि जान्ने मौका पाए।

‘राजा दाना जाने कार्यक्रम अघिल्लो दिन मात्र तय भएको थियो, तर यो कुरा वाङ्दीले तत्काल जानकारी पाएछन्। त्यसपछि उनी रातारात दानामा आइपुगे’, धौलागिरि अञ्चलका तत्कालीन अञ्चलाधीश सत्यनारायण झाले भने, ‘राजाले ‘यिनीहरूलाई कुनै तकलिफ छ कि सोधपुछ गर्नू’ भन्नुभयो। मैले सोध्दा वाङ्दीले ‘सबै कुरा ठीक छ’ भन्ने जवाफ दिए।’

दरबार–खम्पाबीचको यो सुमधुर सम्बन्धको जानकारी सबै सुरक्षा र प्रशासनिक निकायका अधिकारीलाई जानकारी हुने कुरा थिएन। त्यसैले उनीहरू वाङ्दीलगायत खम्पा कमान्डरहरूसँग बेलाबेला सोधपुछ गरिरहन्थे। 

त्यो बेला वाङ्दी आफू राजा वीरेन्द्रसँग बसेको त्यही तस्बिर देखाउँथे। राजासँगकै तस्बिर देखेपछि अधिकारीहरू पनि चुप लाग्न बाध्य हुन्थे।  

तर वीरेन्द्र गद्दीमा बसेको केही समयपछि नै अन्तर्राष्ट्रिय राजनीतिमा नाटकीय परिवर्तन देखिन थाल्यो। त्यसको असर दरबार–खम्पा सम्बन्धमा पनि पर्यो। 

नेपाली सेनाले खम्पाहरूलाई निःशस्त्र पार्न गरेको कारबाही र दार्चुलामा भएको खम्पा कमान्डर गे वाङ्दीको अन्त्यको कारण यही थियो।

शीतयुद्धका टुहुरा
अमेरिकाले सुरुमा चीनविरुद्ध तिब्बती–खम्पा लडाकुहरूलाई प्रयोग गरेको हो। तर जब चीन–सोभियत संघबीच सम्बन्ध चिसियो, तब शीतयुद्धकालीन शत्रु सोभियत संघलाई अझ कमजोर बनाउन अमेरिकाले चीनसँग मित्रताको हात अघि बढायो। 

त्यसपछि मारमा परे– अमेरिकी सहयोगमा मुस्ताङमा क्याम्प बनाएर बसेका खम्पा लडाकुहरू। सहयोग रोकिएपछि उनीहरू अमेरिकाका ‘टुहुरा सन्तान’जस्तै भए। नाउसले पुस्तकको नाम ‘अर्फान अफ द कोल्ड वार’ (शीतयुद्धका टुहुराहरू) राख्नुको कारण पनि यही हो।  

आफूसँग मित्रताको हात अघि बढाएपछि अमेरिकासँग चीनले विद्रोही तिब्बतीहरूसँगको सम्बन्ध र उनीहरूलाई दिने गरिएको सहयोग रोक्नुपर्ने सर्त राख्यो। अमेरिकाको ‘राष्ट्रिय स्वार्थ’का लागि अब दलाई लामा र खम्पाहरूभन्दा चीन महत्त्वपूर्ण बनिसकेको थियो। 

चीनसँग सम्बन्ध कायम गरेर अमेरिका, सोभियत संघलाई झट्का दिन चाहन्थ्यो। त्यसैले चिनियाँ सर्त सहजै स्वीकार गर्यो। चीन–अमेरिकाबीच सम्बन्ध सुधारसँगै खम्पाहरूका लागि गरिने अमेरिकी लगानी पनि रोकियो। 

थोन्डुपका भनाइमा– अमेरिकी सहयोग स्थगन भएपछि भारतले सहयोग गर्न थाल्यो। भारतीय सहयोग सन् १९७४ (वि. सं. २०३१) सम्म मुस्ताङबाट (चीनविरुद्ध) अपरेसन जारी रहुन्जेल कायम थियो।  

मुस्ताङबाट निर्वाचित राष्ट्रिय पञ्चायत सदस्य एवं पञ्चायतकालीन मन्त्री नरबहादुर हिराचन लामो समयदेखि केसाङस्थित खम्पा क्याम्पका लागि रासन आपूर्तिको काम गर्थे। शेरचन (हाल स्वर्गीय) का भनाइमा– आर्थिक सहयोग रोकिएपछि वाङ्दी अमेरिकासँग निकै क्रुद्ध भएका थिए। 

‘अमेरिकाले हामीमाथि ठूलो बेइमानी गर्यो, हामीलाई दिँदै आएको सहयोग बन्द गर्यो’, शेरचनका भनाइमा– वाङ्दीले भनेका थिए, ‘अब हामीलाई खान–बस्न समस्या पर्ने भयो।’

त्यसपछि नेपालमा रहेका खम्पा–तिब्बती शरणार्थीहरूले होटलसहित ट्याक्सी र बस व्यवसाय पनि सुरु गरे। तर अमेरिकाले हात झिके पनि भारतले सहयोग गरेका कारण सैनिक क्याम्पहरू यथावत् रहे। लडाकुको संख्या भने घट्दै थियो।  

अन्तर्राष्ट्रिय राजनीतिमा आएको परिवर्तनसँगै नेपालमा दरबारले पनि खम्पाहरूलाई सहानुभूति र साथ दिन छाड्न थाल्यो। खम्पाहरूले दरबारको साथ–सहयोग नपाउनुको अर्काे महत्त्वपूर्ण कारण नेपालको आन्तरिक राजनीति पनि थियो।  

भारत प्रवासमा रहेका बीपी कोइरालाले आफूसँग सम्झौताका लागि राजालाई बाध्य गराउन नेपालमा सशस्त्र संघर्ष (२०२९–०३१) सुरु गरेका थिए। बनारस (भारत) बसेर थालिएको सशस्त्र संघर्षले वीरेन्द्रलाई अप्ठेरोमा पार्ने भइहाल्यो। 

विदेशीको साथ पाएका खम्पा र भारतीय भूमिमा रहेर नेपालमा सशस्त्र संघर्ष सञ्चालन गरिरहेका बीपीबीचको सम्पर्क त्यही विदेशी शक्तिले गराइदिने त होइन भन्ने भय पनि राजा वीरेन्द्रलाई भयो।    

खम्पा अपरेसन (२०३१) ताका मुस्ताङमा सैनिक मेजरका रूपमा आर्टिलरी (तोप) गुल्मको नेतृत्व गरेका नेपाली सेनाका पूर्व सहायक रथी केदारबहादुर सिंहका भनाइमा– २०३१ मा खम्पाविरुद्ध नेपाली सेनाले सैन्य अपरेसन गर्नुको मुख्य कारणै यही थियो ।  

राजा वीरेन्द्रको राज्याभिषेक १२ फागुन २०३१ मा हुँदै थियो। त्यही अवसरमा नेपाललाई ‘शान्ति क्षेत्र’ प्रस्ताव (घोषणा) गर्ने योजनामा राजा वीरेन्द्र  थिए।    

तर, एकातिर मुस्ताङमा सशस्त्र खम्पाहरूको उपस्थिति, अर्कातिर राजाविरुद्ध नेपाली कांग्रेसको सशस्त्र संघर्ष, यो स्थितिमा नेपाललाई ‘शान्ति क्षेत्र’ प्रस्ताव गर्नु आफैंमा हास्यास्पद कुरा हुन्थ्यो। ​

शुभराज्याभिषेक र शान्ति क्षेत्र घोषणा हुनु अघिल्लो वर्ष राजा वीरेन्द्र  चीन भ्रमण (२२–२९ मंसिर २०३०) मा थिए। त्यस क्रममा चीनका प्रधानमन्त्री चाउएन लाई र अध्यक्ष माओत्सेतुङसँग भेटघाट भयो। खम्पाहरूविरुद्ध तत्काल कारबाही हुने वातावरण राजा वीरेन्द्रको त्यो चीन भ्रमणले पनि बनायो। 

थोन्डुपले लेखेका छन्, ‘त्यो भेटमा माओले नयाँ नेपाली राजासँग स्पष्टसँग मुस्ताङमा रहेका खम्पा क्याम्प हटाउन अनुरोध गरे।’

त्यसपछि खम्पा लडाकुहरूलाई एकपछि अर्काे संकट आउन थाले।

राजा वीरेन्द्र र माओ 

लगत्तै खम्पाहरूको शक्ति, क्याम्प आदिबारे अध्ययन गर्न जंगी अड्डाले एउटा गोप्य सैन्य टोली मुस्ताङ पठायो। छिट्टै खम्पाहरूविरुद्ध हुने अपरेसनको तयारी स्वरूप त्यो टोली त्यहाँ पठाइएको थियो।

अपरेसनको योजना बन्दै गर्दा सरकारले वाङ्दीलाई काठमाडौं बोलायो र हतियार समर्पणका लागि दबाब दियो। वाङ्दीले लडाकुहरूको बसोबास र पुनस्थापनाको सर्त राखे। यो कुरामा सरकारले पनि सहमति जनायो। 

खम्पा अपरेशनअघि काठमाडौँ आएका गे वाङ्दी ठमेलस्थित मस्र्याङ्दी होटलमा (तस्बिरः लिसा चोग्याल)

तर, हतियार समर्पण र पुनस्थापनासम्बन्धी योजना सुनाउन मुस्ताङ पुगेका वाङ्दीले कमान्डरहरूको विरोध सामना गर्नुपर्यो। अधिकतर खम्पा लडाकु हतियार बुझाउने होइन, युद्धका पक्षमा देखिए। 

रक्तपातको स्थिति देखिएपछि दलाई लामाले नै हतियार समर्पणका लागि आग्रह गर्नुपर्यो।

धर्मशालाबाट उनले सहयोगी पीटी टाक्लालाई रेकर्ड गरिएको सन्देशसहित मुस्ताङ पठाए, जसमा शरण दिएको नेपाललाई अप्ठेरोमा पार्न नहुने भन्दै हतियार बुझाउन आग्रह गरिएको थियो।

आफ्नो आत्मकथा ‘निर्वासनमा स्वतन्त्रता’मा दलाई लामाले भनेका छन्, ‘नेपालमा रहेका हजारौं शरणार्थीहरूले दुःख पाउने भएकाले लडाइँको साटो हतियार बुझाई नेपाल सरकारप्रति अनुगृहीत भएर बस्नु उपयुक्त हुने कुरा मैले रेकर्ड गरिएको त्यो टेपमा उल्लेख गरेको थिएँ।’

दलाई लामाको सन्देशपछि आक्रोशित खम्पा लडाकुहरूले भिडन्तको योजना त्यागे। तर कतिपयका लागि आत्मसमर्पण स्वीकार्य भएन। बरु आत्महत्याको बाटो रोजे। 

‘टाक्लाले पछि मलाई सुनाए– धेरै लडाकुहरूले आफूलाई धोका दिइएको अनुभव गरे। अनि केहीले आफ्नो घाँटी आफैँले रेटेर आत्महत्या गरे’, दलाई लामाले भनेका छन्, ‘यो कुरा सुनेर म पनि विक्षिप्त भएँ।’ 

दार्चुला भिडन्त
केसाङ (मुस्ताङ) क्याम्पका हतियार बुझाउन वाङ्दी पनि सहयोगी नै देखिए। तर उनले पनि आत्मसमर्पण गर्न चाहेनन्। उनी जोमसोमबाट ३ दिनमा पुगिने (उत्तरतर्फ) घिलिङ क्याम्पका हतियार बुझाउने भन्दै त्यसतर्फ लागे।  

हाल प्रस्तावित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका प्रमुख नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा पनि खम्पा निःशस्त्रीकरण अपरेसनका लागि मुस्ताङ जानेमध्ये एक जना थिए। शर्माका भनाइमा– खम्पा निःशस्त्रीकरण अभियान समाप्त नहोउन्जेल वाङ्दीको मागबमोजिम उनको सुरक्षाका लागि केही लडाकुसहित हतियार राख्ने छुट दिइएको थियो। 

केसाङ क्याम्पको खानतलासी सकेर नेपाली सेनाको टोली घमीतर्फ लाग्यो। 

‘तर, हामीलाई घमी क्याम्पमा प्रवेश गर्न दिइएन, त्यसैले सचितशमशेर जबर्जस्ती क्याम्पभित्र प्रवेश गर्नुभयो’, शर्माले भने, ‘उनीहरूले क्याम्पभित्र चौंरी गाई काटेर सुकुटी बनाएका रहेछन्। हतियार र केही लडाकुका साथमा वाङ्दी सुकुटी पोको पारेर भागिसकेका रहेछन्।’

घमी क्याम्पबाट भागेपछि नेपाली सेनाले पैदल र हेलिकोप्टरबाट समेत वरिपरिका क्षेत्रमा वाङ्दीको खोजी गर्यो। तर उनी कता लागे, सेनाले जानकारी पाउन सकेन। 

मुस्ताङबाट भागेका वाङ्दीसँग सीआईएले उपलब्ध गराएको स्याटलाइट रेडियो (वायरलेस) सेट थियो। त्यसैबाट वाङ्दीले नयाँदिल्लीस्थित अमेरिकी, भारतीय र तिब्बती–खम्पाहरूलाई सहभागी गराई बनाइएको संयुक्त कार्यालय (कम्बाइन्ड अपरेसन अफिस) मा सम्पर्क गरी केसाङजस्तै कुनै अनकन्टार स्थानमा खम्पा फौजलाई पुनःसंगठित गर्ने प्रस्ताव राखे। 

‘अर्फान अफ कोल्ड वार’मा नाउसले लेखेका छन्, ‘तर कम्बाइन्ड अपरेसन अफिसलाई वाङ्दीले भनेजस्तो मुस्ताङ वा अन्यत्र कतै फेरि पहिलेजस्तो फौज पुनर्संगठित गर्ने रुचि थिएन। त्यसैले वाङ्दीलाई इन्डिया आउन भनियो।’

वाङ्दी नेपालको साटो तिब्बत–भारत सीमाबाट भारत प्रवेश गर्न चाहन्थे। त्यसैले डोल्पा वा हुम्लाको कुनै नाकाबाट तिब्बत पसेका थिए। 

न्यूजविकको अप्रिल १९९९ को ‘कभरस्टोरी’ : मुस्ताङमा गे वाङ्दी (सबैभन्दा वायाँ) लगायतका खम्पा लडाकू

तर तिब्बतमा चिनियाँ सेनाको बाक्लो उपस्थिति भएकाले वाङ्दी नेपाली क्षेत्रतर्फ नै फर्कन बाध्य भए। त्यसपछि तिब्बती सीमाना नजिकैको नेपाली भूमि हुँदै भारत छिर्ने योजना बनाए।  

वाङ्दीको टोली २२ भदौ (२०३१) मा मुचु (हुम्ला) पुगेको थियो। त्यहाँ उनको टोलीले एउटा रणनीतिक भूल गर्यो, जसका कारण उनी पश्चिमतर्फ लागेका छन् भन्ने जानकारी नेपाली सेनाले पायो। 

त्यहाँ वाङ्दीको टोलीले प्रहरी चौकी तोडफोड गर्यो। प्रहरीलाई कुटपिट पनि गर्यो। अनि फेरि चौंरी गाई काटी मासु बोकेर बझाङ हुँदै उनीहरू लिपुपास (दार्चुला) तर्फ प्रस्थान गरे।   

तर यो टोलीले प्रहरीको साथमा रहेको सञ्चार सेट त्यत्तिकै छाड्यो। खम्पा टोली गएपछि त्यहाँ रहेका प्रहरीले घटनाबारे उपल्लो निकायमा जानकारी गराए। खबर जंगी अड्डा र दरबार दुवैतिर पुग्यो।

लिपुपासमा भएको सैनिक अपरेसनमा खटिएका तत्कालीन उपसेनानी (पछि रथीबाट अवकाश) अमर पन्तले २०६५ को ‘सिपाही’ पत्रिकामा लेखेका छन्, ‘भदौ २२ (२०३१) मा डीएमओ (नेपाली सेनाको अपरेसन विभाग) बाट करिब ११:३० बजे १५० जना सशस्त्र खम्पाहरूले मुचुमा रहेको प्रहरी चेकप्वाइन्ट कब्जा गरेको तथा खम्पाहरूको मुख्य पंक्ति यारीतर्फ बढेको खबर प्राप्त भयो, जुन वाङ्दीको ग्रुप हुनसक्ने सम्भावना थियो।’   

त्यसपछि जंगी अड्डाले नेपालगन्जमा रहेको नेपाली सेनाको ४ नम्बर बाहिनीलाई सैनिक कारबाही (अपरेसन) मा जान निर्देशन दियो। बाहिनीपति आदित्यशमशेरले अरिदमन गुल्मका सुबेदार दानबहादुर चन्दको नेतृत्वमा हेलिकोप्टरमार्फत एक प्लाटुन सैनिक टुकडी लिपुलेकतर्फ पठाए। 

चन्दको टोली वाङ्दीहरू भारत पस्न सक्ने एउटा नाकामा एम्बुस थापेर बस्यो। संयोगवश २४ भदौ बिहान ९ बजेतिर खम्पा टोली त्यहीँ पुग्यो। 

चन्दका भनाइमा– टोलीको सबैभन्दा अगाडि वाङ्दी आफैं थिए। नेपाली सेनाको टोली हतियारसहित बसेको ७५ मिटर परैबाट देखेपछि वाङ्दी घोडाबाट ओर्ले। 

‘मेरो साथमा वाङ्दीको फोटो थियो, त्यहाँ सबैभन्दा अगाडि भएकाले मैले परैबाट उनलाई चिनेँ।​घोडाबाट ओर्लेपछि उनले एक हातले घोडाको लगाम समातेका थिए,  अर्काे हातले राइफल’, चन्दले भने, ‘हामीलाई देखेपछि ७५ मिटर टाढाबाट खम्पाहरूले हामीमाथि पहिलो फायर खोलेपछि मैले पनि फायर खोलेँ। गोली हानाहान सुरु भयो।’

सबैभन्दा अगाडि रहेका वाङ्दी चन्दको पहिलो फायरमै ढले। त्यस दिन बेलुकीसम्मै नेपाली सेना र खम्पा लडाकुबीच गोली हानाहान भइरह्यो। 

भिडन्तमा वाङ्दीसहित ६ जना खम्पा लडाकु मारिए। खम्पा टोलीले प्रयोग गरेका २१ वटा घोडा र खच्चर पनि मारिए। साँझ परेपछि खम्पा लडाकुहरू लडाइँ छाडेर सुरक्षित स्थानतर्फ लागे। 

भोलिपल्ट मात्रै सेनाले ती शव आफ्नो कब्जामा लियो। भिडन्तमा बचेका खम्पा भने लुक्दै छिप्दै भारतीय सीमाभित्र प्रवेश गरिसकेका थिए।  

चन्दका भनाइमा– भिडन्तको भोलिपल्ट भारतीय सेनाका हेलिकोप्टर भारतीय सीमानापट्टि देखिए। 

‘ती फाइटर हेलिकोप्टर थिए, महाकालीको माथिपट्टि कालापानी क्षेत्रमा राउन्ड लगाएर फर्किए’, चन्दले भने, ‘तर हामीविरुद्ध कुनै एक्सन लिएनन्।’

भिडन्तमा मारिएकामध्ये मुख्य खम्पा कमान्डर वाङ्दी हुन् वा होइनन्, एकिन गर्न आवश्यक थियो। त्यसैले पर्सिपल्ट मुस्ताङका पूर्वप्रशासक राजभण्डारीलाई काठमाडौंबाट टिङ्कर लगियो। 

खम्पा अपरेसनसँग सरोकारै नभएको कृषि मन्त्रालयमा कार्यरत नारायणप्रसाद​ राजभण्डारीलाई टिङ्कर पुर्याइनुको एउटा कारण वाङ्दीको ज्याकेटभित्र फेला परेको तस्बिर थियो।

मुस्ताङमा सीमा क्षेत्रीय प्रशासक हुँदा वाङ्दीले राजभण्डारीसँगै बसेर त्यो तस्बिर खिचेका थिए।

मुस्ताङ छाड्दा उनले त्यो तस्बिर साथै लगेका रहेछन्। त्यो तस्बिर र वाङ्दीसँग चिनजानका आधारमा मारिएका व्यक्ति वाङ्दी नै हुन् कि होइनन् भनेर सनाखतका लागि उनलाई टिङ्कर पुर्याइएको थियो।

गे वाङ्दी–नारायणप्रसाद​ राजभण्डारीको तस्बिरका साथ दानबहादुर चन्द (तस्बिरः सीताराम बराल)   

‘शव देखेपछि मैले वाङ्दीलाई चिनिहालेँ, उनको अनुहार फुलेको (सुनिएको) थियो’, राजभण्डारीले भने, ‘मैले उनी वाङ्दी हुन् भनेर सनाखत गरेँ। त्यसपछि आदित्यशमशेर शवनजिकै गए र सम्मान स्वरूप सलाम अर्पण गरे।’ 

यो भिडन्तको एक हप्तापछि ३० भदौमा सरकारले राष्ट्रिय पञ्चायतमार्फत वाङ्दी लिपुपासको भिडन्तमा मारिएको आधिकारिक जानकारी दिएको थियो। 

राष्ट्रिय पञ्चायतमा सार्वजनिक महत्त्वको वक्तव्य दिँदै गृहमन्त्री होमबहादुर श्रेष्ठले भने, ‘भर्खरै प्राप्त भएको समाचारअनुसार सशस्त्र डफ्फासहित पश्चिमतिरबाट भाग्न तरखर गर्न लागेका खम्पा डफ्फाको नाइके गे वाङ्दी हाम्रो सुरक्षा टोलीसँगको भिडन्तमा दार्चुला जिल्लाको लिपुलेकमा मारिएको छ।’

गे वाङ्दीको मृत्युसँगै चीनविरुद्ध अमेरिका–भारतद्वारा खम्पा विद्रोहीहरूमार्फत सञ्चालित ‘प्रोक्सी वार’ (छद्म युद्ध) को विधिवत अन्त्य भयो। 

अमेरिकाले त्यो बेला गरेको व्यवहारप्रति दलाई लामाले आत्मकथामा आक्रोश व्यक्त गरेका छन्। 

‘उनी (अमेरिकी) हरूको सहायता साम्यवादविरोधी गतिविधिहरूका लागि मात्र थियो’, उनले भनेका छन्, ‘त्यो सहयोग तिब्बती स्वाधीनता पुनस्थापनाको सच्चा समर्थनका लागि होइन’ (निर्वासनमा स्वतन्त्रता, पृष्ठ २६७)।  

दलाई लामाका दाजु थोन्डुप पनि अमेरिकी भूमिकाप्रति आक्रोशित छन्। थोन्डुपले ‘द नुडल मेकर अफ कालिम्पोङ’मा भनेका छन्, ‘तिब्बतीहरूलाई चिटिङ गर्ने माओ मात्र थिएनन्, सीआईएले पनि हामीमाथि त्यसरी नै चिटिङ गर्ने काम गर्यो।’ 

४७ वर्षअघिको यो इतिहासले देखाउँछ– अमेरिकी व्यवहारका कारण अफगान नागरिकले अहिले जस्तो नियति भोगिरहेका छन्, त्यस्तै नियति नेपालमा रहेका खम्पा लडाकुहरूले पनि भोग्नुपरेको थियो।  

अफगान र खम्पाहरूले पाएको ‘सहयोग’ र त्यसबापत भोगेको नियति नेपालीहरूले कहिल्यै भोग्न नपरोस्।

(नोट : यो रिपोर्टमा उद्धृत व्यक्तिमध्ये धेरैजसोसँग केही वर्षअघि नै कुराकानी गरिएको हो– लेखक)। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .