राजनीति


ओलीको भनाइबारे सरकारको जवाफ : भारतलाई मुस्ताङमा कलेज खोल्ने अनुमति दिइएको छैन

ओलीको भनाइबारे सरकारको जवाफ : भारतलाई मुस्ताङमा कलेज खोल्ने अनुमति दिइएको छैन

नेपालखबर
फागुन २१, २०७९ आइतबार १९:२९, काठमाडौँ

सरकारले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बौद्ध विश्वविद्यालय खोल्न भारतलाई अनुमति नदिएको स्पष्टीकरण दिएको छ।

सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतवार विज्ञप्ति निकालेर यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको पनि खण्डन गरेकी छन्। 

'पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई भनी सञ्चारमाध्यममा सार्वजनिक भएको समाचारप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ', विज्ञप्तिमा भनिएको छ, 'यस सम्बन्धमा नेपाल सरकारको धारणा स्पष्ट गर्न चाहन्छौँ।'

सरकारले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको जनाएको छ।

'नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौँ', शर्माले विज्ञप्तिमा भनेकी छन्, 'मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले सोको अध्ययन र आवश्यक छानविन गरी सत्य तथ्य सार्वजनिक गर्ने व्यहोरा जानकारी गराउन चाहन्छौँ।'

शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीनरूपमा यस्ता विषय श्रृंखलाबद्धरूपमा सार्वजनिक हुनु दुःखद भएको जनाएकी छन्। 

'परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन', विज्ञप्तिमा भनिएको छ, 'मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित एवम् स्वतन्त्र र सन्तुलित कूटनीतिका पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको छ।'

शर्माले नेपाल निरन्तर असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिवद्ध रहेको पनि दाबी गरेकी छन्। 'तसर्थ, यस्ता भ्रमपूर्ण अभिव्यक्तिबाट भ्रमित नहुनसमेत सञ्चारमाध्यम र आम जनसमुदायमा हार्दिक अपील गर्दछौँ', विज्ञप्तिको अन्त्यमा भनिएको छ।

के भनेका थिए ओलीले?

एमाले अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय बनाउने नाममा विदेशीहरूको खेल मैदान बनाउने खेल भइरहेको आरोप शनिबार लगाएका थिए।

स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त आरोप लगाएका थिए।

‘मुस्ताङमा विश्वविद्यालय भनेको के हो? मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो, राष्ट्रियतामाथिको प्रहार हो, मित्रराष्ट्र चीनविरुद्धको गद्दारी हो,’ ओलीले भनेका थिए, ‘३१ साललाई ठूलो स्केलमा दोहोर्याउन खोजेको हो। स्वाधीनतालाई अस्वीकार गर्न खोजेको हो? विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ? विश्वविद्यालयको नाममा विदेशीको खेल मैदान बनाउन खोजेको हो।’

मान्छे नै नभएको ठाउँमा विश्वविद्यालय खोल्न खोजेर खास उद्देश्यका मान्छे मात्र त्यहाँ बसोवास गर्न खोजेको उनले बताए। उनले उक्त कुरा खतरनाक भएको भन्दै सचेत पनि गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .