नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको मात्र नभई सबै राजनीतिक दलले आफूमाथि सद्भाव राखेको टिप्पणी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले सो कुरा बताएका हुन्।
‘कांग्रेसले मात्र होइन, सबै पार्टीले म माथि सद्भाव राखेका छन्। नेपालको राजनीतिक जगतले ममाथि सद्भाव राखेका छन्,’ पौडेलले भने, ‘सबै दलका संसदमा रहेका प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका साथीहरुको सद्भाव भएको मैले पाएको छु।’
बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। आजै दिउँसो १ बजे २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
‘नेपालको संविधानको संरक्षण, नेपालको राष्ट्रियतको संरक्षण र नेपाली जनताको रेखदेख गर्ने अधिकार र जिम्मेवारी मलाई आउन लागेको छ,’ पौडेलले भने, ‘म सबै नेपाली दाजुभाई दिदिबहिनीलाई अनुरोध गर्न चाहन्छु, हामी सबै मिलेर यो राष्ट्र र संविधानको रक्षा गरौं। ७० वर्षसम्म संघर्ष गरेर प्राप्त गरेको व्यवस्थाको महत्व धेरै छ। यसमाथि खेलवाड गर्नेप्रति सबै नेपाली सजग हुनुपर्छ।’
साथै, उनले नेपालको संविधानको संरक्षण र रेखदेख गर्ने जिम्मा आफूले पाएको पनि बताए।
राष्ट्रपति निर्वाचनका विषयमा शुक्रबार बसेको सत्ता साझेदार नेकपा माओवादी केन्द्रसहित ८ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई जिताउने निर्णय गरेको छ।
यो सँगै वर्तमान सत्ता गठबन्धन भने टुट्ने अवस्थामा पुगेको छ। राप्रपाले सत्ताबाट बाहिरिने निर्णय गरिसकेको छ भने एमाले बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी छ।

Shares

प्रतिक्रिया