राजनीति


बालुवाटारमा चार दलको बैठक, भागबन्डा मिलाउने तयारी

बालुवाटारमा चार दलको बैठक, भागबन्डा मिलाउने तयारी

फाइल तस्बिर


नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १८:१०, काठमाडौँ

पुरानो गठबन्धन ब्युँताउने प्रयासमा रहेका चार दलको बैठक बालुवाटारमा सुरु भएको छ। 

राष्ट्रपति निर्वाचन बारे सहमति जुटाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीको बैठक बालुवाटारमा सुरु भएको हो। 

यसअघि शुक्रबार बिहान तीन घण्टा बसेको बैठक बेलुकी ५ बजे फेरि बस्ने गरी स्थगित भएको थियो। 

बैठकमा माओवादीका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा र कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी छन्। 

यस्तै जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, नेता राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव वेदुराम भुसाल, नेता धनश्याम भुसाललगायतका नेताहरु बैठकमा सहभागी छन्।

बैठकपछि कांग्रेसका महामन्त्री गगन थापाले सकारात्मक छलफल भएको र बेलुकी ५ बजे फेरि आफूहरु बैठक बस्ने जानकारी दिएका थिए। 

‘अहिले बिहान पनि हामी चारवटा दल एक ठाउँमा बसेर छलफल गर्यौँ। विभिन्न विकल्पमा छलफल भएको छ,’ उनले भनेका थिए, ‘सकारात्मक दिशामा छलफल भइरहेको छ। अहिले आ–आफ्नो दलभित्र छलफल गर्ने गरी उठेका छौँ, फेरि ५ बजे बस्ने छौँ।’

बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले चार दलबीच कुरा मिल्ने गरी छलफल भए पनि निर्णय भइनसकेको बताएका थिए। 

‘हामीले राष्ट्रपति र उपराष्टपति कै विषयमा केन्द्रित रहेर छलफल गर्यौँ,’ उनले नेपालखबरसँग भने, ‘राष्ट्रपतिमा समाजवादीको पनि दाबी छ। तर बेलुकी ५ बजेभित्र एउटा टुंगोमा पुग्छौँ।’  

चार दलले शुक्रबार बेलुकी ६ बजे प्रतिनिधिसभाका साना तीन दलहरुसँग पनि छलफलको तयारी गरेका छन्।
  
राष्ट्रपति निर्वाचनका लागि सहमति जुटाउन छलफलमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले साना दलहरुसँग छलफल गर्ने भएका हुन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकमा सहभागी कांग्रेसका एक नेताले शुक्रबार बेलुकी ६ बजे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग छलफल गरिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .