राजनीति


रास्वपाको नजर समानुपातिक मतमा, देशैभर संगठन लैजाँदै

वैचारिक लाइन भने अझै अस्पष्ट
रास्वपाको नजर समानुपातिक मतमा, देशैभर संगठन लैजाँदै

फाइल तस्बिर


नेपालखबर
फागुन २, २०७९ मंगलबार १९:२५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आक्रमक पार्टी संगठन विस्तार र सुदृढीकरणमा जुटेको छ। देशभरको समानुपातिक मत तान्ने योजनासहित उसले संगठन विस्तारलाई प्राथमिकता दिएको हो।

गठन भएको ६ महिनामै राष्ट्रिय राजनीतिमा प्रभाव जमाउन सफल भएपछि दीर्घकालीन राजनीति गर्न संगठन विस्तार अघि बढाएको सभापति रवि लामिछानेले बताए। 

जेठ महिनाभित्र संगठन निर्माणको काम सक्ने तयारी छ। आगामी चैतसम्म जिल्ला, जेठभित्र पालिका र वडास्तरीय समिति बनाइसक्ने उनले जानकारी दिए। 

त्यसकै लागि रास्वपाले १ फागुनमा केन्द्रीय समिति विस्तार गर्दै ४० सदस्यीय बनाएको छ। यस्तै, विभिन्न विभाग गठन गरी त्यसको प्रमुख तोकेको छ।

जसअन्तर्गत अभियान तथा प्रचारप्रसार विभाग, प्रवासी नेपाली सम्पर्क विभाग, प्रशिक्षण विभाग, संगठन विभाग, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित, केन्द्रीय गुनासो व्यवस्थापन विभाग, विकास योजना तथा नीति तर्जुमा विभाग, सूचना तथा प्रविधि विभाग छन्। 

यसको मुख्य उद्देश्य नै संगठनलाई बलियो बनाउनु रहेको लामिछानेले बताए। 

‘संगठन विस्तारलाई द्रूत गतिमा अगाडि बढाउने प्रक्रिया थालेका छौँ,’ लामिछानेले नेपालखबरसँग भने, ‘पार्टी गठन गर्नेबित्तिकै हामी चुनावमा केन्द्रित हुँदा संगठननात्मक संरचना निर्माण गर्न पाएका थिएनौँ, अब चुनावपछि विभिन्न समिति निर्माण गरेका छौँ।’

उनका अनुसार हरेक संगठन केन्द्रदेखि वडातहसम्म बन्ने र सबै कार्यकारी हुने छन्। 

बिनातयारी पार्टी गठन गरेर चुनावमा होमिएकाले अब देशभर संगठन विस्तार गर्न लागिएको हो।

तर अझै पनि रास्वपाको वैचारिक लाइन प्रष्ट छैन। ‘हाम्रो पार्टी कार्यकर्ता बेस्स होइन, मास बेस्ड हो,’ उनले थपे, ‘भ्रातृ संरचनामा जाने योजना छैन। तर, संगठन आवश्यक पर्छ।’

‘सांसद, नेतालाई प्रशिक्षित गर्न, परिपक्क बनाउन, पार्टीलाई मजबुत स्रोत साधन सम्पन्न बनाउन आवश्यक ज्ञान विज्ञहरुबाट उपलब्ध गराउन विभाग बनाइएको हो।’ 

रास्वपाले अन्य राजनीतिक दलमा जस्तो भ्रातृ संगठन भने नबनाउने उनले घोषणा गरे।

४ मंसिरको निर्वाचनमा प्रदेशसभामा उम्मेदवारी नदिएको रास्वपाले अहिले प्रदेशस्तरीय गोष्ठी र भेला सकाएको छ। रास्वपाले ८ माघमै देशभर संगठन विस्तार गर्ने निर्णय गरेको थियो।

संगठनलाई प्रभावकारी बनाउन १ फागुनमा १६ केन्द्रीय थप गरिएको सह-महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए।

‘छोटो समयमा हामीले जनताबाट पाएको साथले उत्साहित छौँ,’ उनले थपे, ‘पार्टीलाई अझै बलियो बनाउन विभिन्न विभाग बनाएर जिम्मेवारी दिइएको छ।’

पत्रकारिता, स्वास्थ्य, अर्थतन्त्र, सामाजिक अभियन्ता लगायत विभिन्न क्षेत्र, पेशा र समुदायका विज्ञ र अभियानकर्मी समेटेर ७ असारमा रास्वपा गठन भएको थियो।

४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा चुनावमा रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ११ लाख ३० हजार मत पायो। 

देशभर संगठन र कार्यकर्ता नहुँदा पनि राम्रो मत पाएपछि यसलाई कायम राख्न पार्टीलाई बलियो बनाउने अभियान अघि बढाइएको सह-महामन्त्री बुर्लाकोटीले नेपालखबरलाई जानकारी दिए। 

‘कुनै कार्यकर्ता संगठन नभई हामीले यत्रो सफलता पायौँ, अब यसलाई जोगाउनुपर्छ। त्यसका लागि संगठन बिस्तार हुनु पर्छ,’ बुर्लाकोटीले भने, ‘दीर्घकालीन राजनीति गर्न संगठन चाहिन्छ, कार्यकर्ता हुनुपर्छ।’

४ मंसिरको चुनावमा रास्वपाले १ सय ३७ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो। अब देशभर आफ्ना उम्मेदवार उठाएर चुनाव जित्नेगरी तयारी गर्न संगठनको आवश्यकता महसुस गरिएको उनी बताउँछन्। 

वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रसम्मका पाँचवटा संरचनाअनुसार संगठन बनाउने तयारी रास्वपाले गरेको छ।

वडा र पालिका संगठन ११ सदस्यीय, जिल्ला र प्रदेश समिति भने पालिकाको संख्याअनुसार तय हुने उनले बताए।

‘वडादेखि केन्द्रसम्म जोड्नेगरी पाँच तहका समिति बनाउँछौं, हाम्रा सबै समितिहरु कार्यकारी हुन्छन,’ बुर्लाकोटीले थपे।

बिनासंगठन पार्टी गठन गरेको ६ महिनामै प्रतिनिधि सभा चुनावमा होमिएको रास्वपाले सफलता बचाउन पनि विचारसहितको संगठन बनाउन लागेको हो। 

यद्यपि विचारबारे रास्वपाका नेताहरुबीच एकरुपता छैन। सभापति लामिछाने पार्टी लेफ्ट र राइट दुवै धारको नभइ बीचको हुने बताइरहेका छन्। तर सांसदसहितका केही नेताहरु भने पार्टीले लेफ्ट विचारधारा अंगिकार गर्नुपर्ने पक्षमा छन्। 

त्यसो त रास्वपाले देशका ६० जिल्लामा आफ्नो अस्तित्व रहेको बताइरहेको छ। त्यसैलाई औपचारिक संगठन निर्माणमा बदल्न खोजेको हो।  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्दै सरकारमा सहभागी भएको रास्वपाले नागरिकता प्रकरणमा सभापति लामिछानेको सांसद पद गुमेपछि २२ माघमा सरकारबाट मन्त्री फिर्ता बोलाएको थियो। 

सरकारबाट बाहिरिएपछि रास्वपा पार्टी निर्माण र संगठन विस्तारमा केन्द्रित भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad