प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सिंहदरबारस्थित कार्यकक्षमै पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीसँग भेटवार्ता गरे, २६ माघमा। ओलीका गतिविधिबारे जानकारी दिन ओलीको सचिवालयले सञ्चालन गर्ने ‘बालकोट’ फेसबुक पेजबाट तत्काल प्रचण्ड–ओली भेटघाटको तस्बिर सार्वजनिक भयो।
माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रचण्डका गतिविधि सार्वजनिक गर्न उनको सचिवालयले पनि ‘सीएम प्रचण्ड’ नामक फेसबुक सञ्चालन गर्छ। उनी तेस्रो पटक प्रधानमन्त्री हुनुभन्दा धेरै अगाडिदेखि सञ्चालित यो फेसबुक पेजमा उनका दैनिक गतिविधिबारे तस्बिर र समाचार पोष्ट हुन्छन्।
जस्तो: माथि उल्लेख गरिएको प्रचण्ड–ओली भेटघाटकै दिन (२६ माघ) निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन प्रणालीमा सुधारसम्बन्धी कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहभागी थिए। त्यसैदिन उनले वरिष्ठ पत्रकार भैरव रिसालसहित नेपाल वातावरण पत्रकार समूहको टोलीसँग पनि भेटघाट गरे।
प्रचण्डको आधिकारिक फेसबुक पेज ‘सीएम प्रचण्ड’ ले प्रचण्ड सहभागी यी दुवै कार्यक्रम र भेटघाटको तस्बिर र समाचार पोष्ट गर्यो। तर, ओलीसँगको भेटबारे ‘सिएम प्रचण्ड’ मौन देखियो।
प्रचण्ड–ओलीबीचको त्यसदिनको भेटघाट मात्र भुलचुकबस ‘सीएम प्रचण्ड’ मा पोष्ट नभएको होइन। खासमा डेढ महिना यता ‘सीएम प्रचण्ड’ ले ओली–प्रचण्डबीच भएका भेटघाटका तस्बिर वा समाचारलाई स्थान दिन चाहेको देखिँदैन।
सत्तागठबन्धनका यी दुई शीर्ष नेताबीच भएको द्विपक्षीय भेटघाटको तस्बिर ‘सीएम प्रचण्ड’ मा सार्वजनिक भएको अन्तिम दिन १३ पुस हो।समकालिन नेताहरुसँग भेट गर्न सम्बन्धित नेताकै निवासमा विरलै पुग्ने ओली त्यसदिन भने प्रचण्डसँग भेट गर्न आफैँ खुमलटार पुगेका थिए।
त्यसदिनको भेटघाटको तस्बिर भने ‘सीएम प्रचण्ड’ बाट सार्वजनिक भयो। सो दिन दुवै नेता प्रचण्ड निवासको छतमा सुकाइएको गुन्द्रुक नजिकै राखिएको कुर्सी–टेबुलमा बसेर गफिएका थिए।
फोटो भाइरल हुने गरी भएको १३ पुसको सो चर्चित भेटघाटपछि पनि ओली–प्रचण्डबीच दर्जन बढी भेटघाट भइसकेको छ। पछिल्लो समय त अझ उनीहरुबीच लगातार तीन दिन भेटवार्ता भयो– २४, २५ र २६ माघमा।
तर, ‘बालकोट’ सँगै प्रत्येक भेटवार्ताको तस्बिर लिने गरेपनि ‘सीएम प्रचण्ड’ ले भने प्रचण्ड–ओलीबीचका भेटवार्तालाई स्थान दिने गरेको छैन। जबकी १० पुसमा प्रचण्ड प्रधानमन्त्री बनेपछि अध्यक्ष ओलीले प्रचण्डसँग गर्ने सबैजसो भेटघाटका तस्बिर ‘बालकोट’ फेसबुक पेजबाट सार्वजनिक हुने गरेका छन्।
ओलीसँगका भेटवार्तालाई स्थान नदिएको ‘सीएम प्रचण्ड’ ले प्रचण्डका अन्य राजनीतिक, कूटनीतिक, सामाजिक–सांस्कृतिक भेटवार्ता र गतिविधिहरुलाई स्थान दिँदै आएको छ।
जस्तो : नेत्रविक्रम चन्द (विप्लव) सँग अलग भएको नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले ६ माघमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरे, ज्ञापनपत्र बुझाए। ‘सीएम प्रचण्ड’ ले त्यो भेटघाटलाई स्थान दियो।
१० करोड राशिको अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका प्रख्यात नेत्र चिकित्सक डा. सन्दुक रुइतले त्यसको भोलिपल्ट अर्थात् ७ माघमा प्रधानमन्त्री प्रचण्डसँग भेट गरे। त्यो भेटघाटले पनि ‘सीएम प्रचण्ड’ मा स्थान पायो।
चिनियाँ राजदूत चेन सोङले २ माघमा प्रचण्डसँग गरेको भेटघाटदेखि २५ माघमा युएसआइडी प्रमुख सामन्था पावरले गरेको कूटनीतिक भेटघाटलाई पनि ‘सीएम प्रचण्ड’ मा तस्बिरसहित स्थान दिइएको छ।
‘सीएम प्रचण्ड’ मा स्थान नपाउने चाहिँ फेरिपनि ओली–प्रचण्डबीचको भेटवार्ताकै तस्बिरले हो।
प्रचण्ड–ओलीबीच हुने द्विपक्षीय भेटवार्ताका सबैजसो तस्बिर दुवै नेताका सचिवालयले लिने गरेका छन्। कहिलेकाहीँ प्रचण्डको सचिवालयमा संलग्न अधिकारीहरु व्यस्त भएर फोटो खिच्ने अवसरबाट बञ्चित नहोलान् भन्न सकिँदैन। तर, प्रधानमन्त्री कार्यालयका लागि भनेर राष्ट्रिय समाचार समिति (रासस) ले खटाएका फोटो पत्रकारबाट ‘सीएम प्रचण्ड’ ले तस्बिर प्राप्त गर्न नसक्ने होइन। अन्य तस्बिरहरु राससबाट लिएरपनि ‘सीएम प्रचण्ड’ ले प्रयोग गरिरहेको देख्नपनि सकिन्छ।
तर, राससबाट लिनु त परै जाओस्, ‘सिएम प्रचण्ड’ आफैँले लिएका प्रचण्ड–ओलीबीचको भेटवार्ताका तस्बिरहरुले सो पेजमा स्थान पाउँदैनन्।
‘किन यस्तो भइरहेको छ?’
प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिना भने यसलाई संयोगका रुपमा मात्र व्याख्या गर्न रुचाउँछन्।
‘प्रधानमन्त्रीज्यूले डा. बाबुराम भट्टराई, रवि लामिछाने लगायत नेताहरुसँग पनि भेटवार्ता गर्दै आउनु भएको छ, उहाँहरुसँगका तस्बिर पनि ‘सीएम प्रचण्ड’ मा आउने गरेका छैनन् नि!’ तिमिल्सिनाले नेपालखबरसँग भने, ‘उहाँ (प्रचण्ड–ओली) हरुबीच भएका भेटवार्ता सम्बन्धमा तस्बिर सहितका समाचार अन्यत्र पनि आएका हुन्छन्। उहाँ (प्रचण्ड) प्रधानमन्त्री बनेपछि ‘पीएमओ नेपाल’ ट्वीटर ह्याण्डलबाट उहाँका सरकारी गतिविधि सार्वजनिक हुने गरेका छन्।’
प्रधानमन्त्री कार्यालयले चलाउने प्रधानमन्त्रीको ट्वीटर ह्याण्डल ‘पीएमओ नेपाल’ मा प्रधानमन्त्री प्रचण्डका गतिविधि १४ पुस (२९ डिसेम्बर २०२३) बाट सार्वजनिक हुन थालेको देखिन्छ। तर, त्यसमा पनि ओलीसँगका भेटघाटलाई स्थान दिइएको छैन।
‘पीएमओ नेपाल’ सरकारी ट्वीटर ह्याण्डल भएकाले त्यसमा राजनीतिक भेटघाट सार्वजनिक नहुनुलाई स्वभाविक मान्न सकिएला। तर, ‘प्रचण्ड–ओलीबीचका भेटघाटका तस्बिर र भेटघाटका समाचार अन्यत्र आउने भएकाले ‘सीएम प्रचण्ड’ मा नआएको’ भन्ने तिमिल्सिनाको जवाफ त्यति तार्किक लाग्दैन।
किनकी, अन्यत्र प्रकाशित भइसकेका प्रचण्डका गतिविधि वा भेटघाट सम्बन्धी तस्बिरहरुलाई सीएम प्रचण्ड’मा पनि स्थान दिइएकै छ।
‘१३ पुस यता अध्यक्षद्वय ओली र प्रचण्डका भेटघाटसँग सम्बन्धित सामग्री सो पेज (सीएम प्रचण्ड) मा छैनन् भने संयोगमात्र हो भन्ने बुझिदिनु होला’, तिमिल्सिना भन्छन्, ‘अरु कुनै कारणले यस्तो भएको हुँदै होइन।’

‘बालकोट’ मा ओली–प्रचण्डबीचका हरेक भेटवार्ताले स्थान पाउँदा ‘सीएम प्रचण्ड’ मा स्थान नपाउनुलाई प्रेस विज्ञ तिमिल्सिनाले संयोगमात्र भन्न रुचाए पनि यसमा अझ अर्काे रोचक संयोग भेटिन्छ।
जस्तो कि, ओलीको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री बनेपछि छिटपुट दुईबीचको भेटघाटलाई स्थान दिइएपनि कांग्रेसबाट विश्वासको मत प्राप्त गरेपछि भने ‘सीएम प्रचण्ड’ ले ओलीलाई पुरै नजरअन्दाज गरेको छ। संयोगवस विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डको कांग्रेससँगको दूरी घट्दै जाँदा ओलीसँगको दूरी भने बढ्दै गएको छ।
१० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्डले २६ पुसमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका थिए। उनलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत विश्वास जनाएपछि असाधारण समर्थन प्राप्त भयो। उनले प्रतिनिधि सभाको ९९.२५ प्रतिशत समर्थन हासिल गरे।
यो असाधारण समर्थनपछि प्रचण्डले आसन्न राष्ट्रपति निर्वाचनमा उठाइने उम्मेदवार राष्ट्रिय सहमतिका आधारमा तय हुनुपर्ने बताउँदै आएका छन्। जबकि १० पुसमा प्रधानमन्त्रीका रुपमा प्रस्तावित हुँदा उनले ओलीसँग राष्ट्रपति एमालेले लिने कुरामा सहमति जनाएको एमाले र माओवादीकै नेताहरूले बताउँदै आएका छन्।
विश्वासको मतसँगै अडान परिवर्तन गरेपनि प्रचण्ड र ओलीबीचको सम्बन्ध दिन प्रतिदिन चिसिन थालेको छ। राष्ट्रपति निर्वाचनकै सन्दर्भमा दुई शीर्ष नेताबीच पटक–पटक भेटवार्ता भएका छन्। तरपनि सहमति जुट्न सकेको छैन।
सम्बन्ध सामान्य रहेको ठानिएका बेला त दुई नेताबीचको भेटवार्तालाई नजर अन्दाज गर्ने ‘सीएम प्रचण्ड’ ले सम्बन्ध चिसिन थालेपछि स्थान नदिनु स्वभाविक हो।
ओली–प्रचण्डबीच पछिल्लो द्विपक्षीय भेटवार्ता २६ माघमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको हो। सोही दिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिँदै थिए।
फेसबुक पेज ‘सीएम प्रचण्ड’ ले त ओलीलाई नजरअन्दाज गरेकै थियो, ‘पीएम (प्रधानमन्त्री) प्रचण्ड’ ले समेत ओलीलाई नजरअन्दाज गर्न थालेका रहेछन् भन्ने सार्वजनिक भएको दुई नेताबीचको त्यसदिनको तस्बिरले संकेत गरेको थियो।
रासस र ‘बालकोट’ पेजबाट सार्वजनिक त्यसदिनको भेटघाटको तस्बिरमा प्रधानमन्त्री प्रचण्ड ‘फ्रेस मुड’ मा छन्। अध्यक्ष ओली भने तनावमा देखिन्छन्।
ओलीको तनावको कारण थियो– नागरिक उन्मुक्ति पार्टीबाट विश्वासको मत नपाउने स्थिति सिर्जना हुनु। त्यही कारण एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढल्यो पनि।

यही तनावका बीच सत्तासाझेदार दलहरुको संयन्त्रको पूर्व निर्धारित बैठक स्थगित गरी सुदूरपश्चिम सरकार जोगाउने केही उपाय निकाल्न सकिन्छ कि भन्दै ओली छलफल गर्न सिंहदरबारस्थित प्रचण्डको कार्यकक्ष पुगेका थिए।
ओली तनावसहित त्यहाँ पुग्दा प्रचण्ड भने ‘फ्रेस मुड’ मा देखिए। सार्वजनिक तस्बिरहरुले ओली र प्रचण्ड दुवैको ‘बडिल्याङ्ग्वेज’ प्रष्ट पार्छन्।
विश्वासको मत अभावका कारण सत्तागठबन्धन (एमाले) नेतृत्वको सुदूरपश्चिम सरकार ढल्न लाग्दासमेत प्रशन्न मुद्रामा देखिएका प्रधानमन्त्री प्रचण्डलाई ‘बालकोट’ ले त्यसैदिन लिइएको दुई नेताको एउटा फरक तस्बिरमार्फत् जवाफ फर्कायो। जसमा प्रचण्ड ‘फ्रेस मुड’ मा देखिन्छन् भने अघिल्तिर ओलीले उनैतिर लात्ती फर्काएर बसेका छन्।
Shares

प्रतिक्रिया