ललितपुरमा एटीएम तोडफोड भएको छ। एटीएम तोडफोड गरेर भाग्दै गरेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार दिउँसो ललितपुरको एकान्तकुनास्थित ग्लोबल आईएमई बैंकको एटीएम तोडफोड गरेर भाग्दै गरेका ४ जना छुट्टा छुट्टै स्थानबाट पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका चौघरेका २५ वर्षीय कुशल लामा, धादिङका २३ वर्षीय सन्तोष तामाङ, मकवानपुरको भिमफेदीका २३ वर्षीय कान्छाराम तामाङ र महोत्तरीको बर्दिवासका २० वर्षीय विश्वास मगर रहेका छन्।
एटीएम तोडफोड गरेर भाग्दै गरेका दुई जनालाई प्रहरीले महालक्ष्मीस्थानबाट पक्राउ गरेको थियो। पछि दुई जनालाई कोठाबाटै पक्राउ गरेको ललितपुर प्रहरी प्रवक्ता एसपी प्रविण पोखरेलले जानकारी दिए।
उनीहरुको साथबाट प्रहरीले एटीएम तोडफोडमा प्रयोग गरिएका र चोरीका सामग्रीसमेत बरामद गरेको छ। एटीएम फोड्नु अघि पनि उनीहरुले ललितपुरकै एक पसलमा चोरी गरेको पाइएको छ। ताल्छिखेलको हासिका फोटो स्टुडियोमा चोरेर ट्याक्सीमा भागेका उनीहरुले एकान्तकुनामा एटीएम तोडफोड गरेका थिए।
उनीहरुविरुद्ध अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरेको एसपी पोखरेलले बताए।
Shares

प्रतिक्रिया