नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशसभा सदस्यहरू शुक्रबारमात्रै प्रदेश राजधानी धनगढी फर्किने भएका छन्।
संघीय सरकारले माग पूरा नगरेपछि उनीहरु सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा सहभागी नहुने भएका हुन्।
प्रदेशसभा सदस्य कैलाश चौधरीले नेपालखबरसँगको टेलिफोन कुराकानीमा आफूहरु संघीय राजधानी काठमाडौंमै रहेको प्रतिक्रिया दिए।
उनले आफूहरु बिहीबार धनगढी फर्किने सम्भावना न्यून रहेको पनि बताए।
‘हामी काठमाडौंमै छौं। माग सम्बोधन भएको छैन,’ चौधरीले नेपालखबरसँग भने, ‘हाम्रा लागि सहज वातावरण नबनेसम्म हामी धनगढी फर्किदैनौं।’
प्रदेशसभा बैठक बिहीबार १ बजेका लागि बोलाइएको छ।
यसअघि बुधबार १ बजेका लागि बैठक बोलाइएको थियो। मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सम्भावना नदेखिएपछि बैठक बिहीबारका लागि सारिएको थियो।
उनी पुस २७ गते संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको थिए।
रावलले बिहीबारसम्म विश्वासको मत प्राप्त नगरे स्वतः सरकार ढल्ने छ। नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरु संसद बैठकमा उपस्थित नभए उनले विश्वासको मत नपाउने निश्चित छ।
Shares

प्रतिक्रिया