प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा केही दिनअघि नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनाबारे छानबिन गर्न न्यायिक आयोग गठनको माग उठेको छ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वालाले आचार्यको आत्मदाहको घटनाबारे छानबिन गर्न न्यायिक आयोग गठनको माग गरे।
यसैगरी, जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादवले आचार्यको आत्मदाहको विषयमा संसद्मा केही विशेष प्रस्ताव नआएको भन्दै दुःख व्यक्त गरेका छन्।
बैठकमा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठले निर्दोष थारु बन्दीका लागि आफ्ना पार्टीले निरन्तर आवाज उठाए पनि रिहाइ हुन नसकेको दुःखेसो गरिन्।
नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले वीर अस्पतालमा आईसीयु शय्या नभएर जनताले निजी अस्पतालमा चर्को मूल्य तिर्न बाध्य भएकोले उक्त अस्पतालमा आईसीयुको शय्या थप गर्न आग्रह गरे।
स्वतन्त्र सांसद प्रभु साहले कालोबजारी नियन्त्रण गर्ने, नापतौल हेर्ने र गुणस्तर कायम गर्ने निकायको काम प्रभावकारी हुन नसकेकोमा सरकारको ध्यानाकर्षण गराए।
Shares

प्रतिक्रिया