नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आत्मदाह गरेका इलामको सूर्योदयका युवा प्रेमप्रसाद आचार्यले उठाएका प्रश्नको उत्तर खोज्न निरन्तर लागिरहने बताएका छन्।
नयाँ बानेश्वरमा आत्मदाह गरेका आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले आचार्यले बेथितिबारे उठाएका प्रश्नले सबैलाई गिज्याउने बताएका छन्।
‘बेथितिका बारेमा तपाईंले उठाउनु भएका प्रश्नले हामी सबैलाई गिज्याउँछ,’ पौडेलले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘एउटा मानव हुनुको नाताले म महसुस गर्न सक्छु र परिवर्तनको लागि नेतृत्वमा होमिएको हुनाले तपाईंले उठाउनु भएका प्रश्नहरूको उचित उत्तर खोज्न निरन्तर लागिरहने छु।’
उनले आचार्यको घटनालाई राज्यले नागरिक माथि गरेको व्यवहारको प्रतिनिधि घटनाका रुपमा उल्लेख गरेका छन्।
‘यो घटना राज्यले आफ्ना नागरिक माथि गरेको व्यवहारको प्रतिनिधि घटना हो,’ पौडेलले लेखेका छन्, ‘प्रेम आचार्यले जस्तै पीडा यहाँ लाखौं युवाहरूले भोगिरहेका छन्। आफ्नो जीवनमा तपाईंले भोग्नु परेको पीडा पढ्ने जो कोहीको आँखा रसाउँछन्।’
संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका आचार्यको बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको छ। शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए।
पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो। घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो।
आत्मदाह प्रयासअगाडि फेसबुकमा ६ हजार ५३५ शब्द लामो आत्मलाप उनले लेखेका थिए। आफूले आत्मदाह गर्नुपर्ने कारणसहित जीवनको लामो भोगाइको वर्णन उनले त्यसमा गरेका थिए।
उद्यमीको परिचय बनाइसकेका उनले आफूले जीवनमा गरेका अनेक प्रयास असफल भएपछि यो कदम चाल्नुपरेको वर्णन गरेका थिए।
Shares

प्रतिक्रिया