राजनीति


शशांक निवासबाट देउवालाई पौडेल समूहको चेतावनीः एकलौटी निर्णय मान्दैनौँ

शशांक निवासबाट देउवालाई पौडेल समूहको चेतावनीः एकलौटी निर्णय मान्दैनौँ

सागर न्यौपाने
पुस १२, २०७६ शनिबार ११:५९,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफूहरुको बहिष्कारबीच सभापति शेरबहादुर देउवाले गरेकाे ‘एकलाैटी निर्णय’ नमान्ने भएको छ।

शनिबार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसेको पौडेल समूहको भेलाले देउवा पक्षले गरेकाे एकलौटी निर्णय नमान्ने  निष्कर्ष निकालेको हो।

भेलापछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले एकलौटी रुपमा गरिएका सबै निर्णय खारेज गर्नुपर्ने स्पष्ट पारे।

उनले निर्णय खारेज नभए त्यसविरुद्ध पार्टीभित्र संघर्ष गर्ने चेतावनी समेत दिए। ‘एकलौटी रुपमा गरिएका सबै निर्णय खारेज गर्न म सभापतिज्यूसँग आग्रह गर्दछु’, उनले भने, ‘निर्णय खारेज नभए त्यसका विरुद्ध लड्छौँ।’ उनले सभापति देउवाले गरेको निर्णय गलत मनसायबाट भएको र त्यसले पार्टी धरापमा पर्ने समेत बताए।

पौडेल पक्षधर केन्द्रीय सदस्य गुरु घिमिरेले पनि शुक्रबार बसेकाे सभापति देउवा समूहकाे बैठकले गरेका निर्णय गलत भएको  बताए। एकलाैटी रुपमा महाधिवेशन घोषणा गरिएकाे, विभागको संख्या बढाइएकाे, तरुण दलकाे म्याद थप गरिएकाे लगायतका सबै निर्णयहरु अस्वीकार गर्ने शनिबारकाे भेलाले निष्कर्ष निकालेको उनले जानकारी दिए।

‘देउवाको कदमले पार्टीभित्रको सहमति तोडियो, विधान मिच्ने काम भयो’, नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘यो सच्चिनुपर्छ भन्ने निर्णय भेलाले गर्‍यो।’

भेलामा नेता कृष्णप्रसाद सिटौला भने सहभागी थिएनन्। उनी झापाको कार्यक्रममा गएकाले सहभागी हुन नसक्ने खबर पठाएको भेलामा जानकारी दिइएको थियो।

भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष यादव तथा केन्द्रीय सदस्यहरू गगन थापा, प्रदीप पौडेल, शेखर कोइराला लगायतकाे सहभागिता थियो।

भेलामा बोल्ने नेताहरुले सभापति देउवाको कदम सच्याउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। भेलाको निर्णय उद्धृत गर्दै केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘विधानभित्र रहेर सहमतिको आधारमा पार्टीकाे निर्णय गरिनुपर्छ।’

बैठकमा बाेल्ने केही नेताहरुले भने आफ्नै समूहका  वार्ता टोलीप्रति असन्तुष्टि जनाए। उनीहरुले  वार्ता टोलीले बार्गेनिङ गरेको, वार्तालाई निर्णायक बनाउनुभन्दा पनि भागबण्डा गर्न लागेको, पार्टीको सैद्धान्तिक विषय ओझेलमा पारेको भन्दै असन्तुष्टि व्यक्त गरेको बैठकमा सहभागी एक नेताले नेपालखबरलाई बताए।

शुक्रबार पौडेल समूहको बहिष्कारका बीच सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक राखेर १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुका साथै विभागको संख्या बढाउने र भ्रातृसंस्था नेपाल तरुण दलको कार्यसमितिको म्याद ६ महिना थप्ने निर्णय गराएका थिए।

मंसिर २६ गते देखिको कार्यसमिति बैठक पौडेल समूहले विभिन्न माग राख्दै बहिष्कार गर्दै आएको थियो। पौडेल समूहले लगातार बहिष्कार गरेपछि सभापति देउवा, उपसभापति विमलेन्द्र निधिले पौडेल समूहसँग वार्ता गर्दा पनि निष्कर्ष ननिस्किएको भन्दै शुक्रबार देउवाले पेलेर निर्णय गराएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad