नेपाली कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई प्रतिनिधिसभाको सभामुखमा उठाउने भएको छ।
त्यसका लागि अहिले सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवासहितको बैठक बस्दैछ।
सभापति देउवा, दुई महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र प्रमुख सचेत रमेश लेखकसहितले बैठक बसेर न्यौपानेको नामलाई औपचारिकता दिने भएका छन्।
'सांसद न्यौपानेलाई उठाउने कुरा करिब निश्चित जस्तै छ। अहिलेसम्मको छलफलमा उहाँको मात्रै नाम अघि बढेको छ', एक पदाधिकारीले नेपालखबरसँग भने, 'सभापतिजीसहितको बैठकबाट उहाँ (न्यौपाने) कै नाम सभामुखको उम्मेदवारका रुपमा टुंगो गर्दैछौँ।'
अब न्यौपाने प्रतिनिधिसभाको सभामुखका लागि नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेसँग भिड्ने निश्चित भएको छ।
कांग्रेस सांसद ईश्वरी न्यौपाने भन्छिन् : नेतृत्वले सभामुखमा उठाए पछि हट्दिनँ
न्यौपानेले पनि नेपालखबरसँग कुरा गर्दै आफूले सभामुखमा उम्मेदवारी दिनेबारे पार्टीमा छलफल भइरहेको बताएकी छन्।
'सभामुखमा मैले उम्मेदवारी दिनेबारे छलफल भएको हो', उनले भनिन्, 'संसदीय दलको बैठक बसिसकेको छैन। नेतृत्वले भनेपछि हट्ने कुरो हुन्न।'
न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन्। उनी २०७४ को आमनिर्वाचनमा कैलाली क्षेत्र नम्बर १ मा हाल जेलमा रहेका रेशम चौधरीसँग पराजित भएकी थिइन। कांग्रेसमा न्यौपाने संस्थापननिकट हुन्।
Shares

प्रतिक्रिया