ad ad

राजनीति


कांग्रेससहितको बैठकमा प्रधानमन्त्रीले भने : राष्ट्रपतिदेखि उपसभामुखसम्म सहमति गरौँ

कांग्रेससहितको बैठकमा प्रधानमन्त्रीले भने : राष्ट्रपतिदेखि उपसभामुखसम्म सहमति गरौँ

नेपालखबर
माघ ३, २०७९ मंगलबार १९:६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख-उपसभामुख पदको चयन दलहरुबीच सहमतिमा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। 

मंगलवार अपरान्ह सरकारी निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले उक्त प्रस्ताव राखेका हुन्।

प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा सहमति गरेर अघि जान सकिन्छ भनेर विषय प्रवेश गराएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। 

यता, नेपाली कांग्रेसले पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालना, संरक्षण  र तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने पद भएकाले यसलाई सहमतिमै चयन गर्न आफ्नो पार्टी तयार रहेको बताएको लेखकले बताए। 

‘प्रधानमन्त्रीजीले विश्वासको मत दिएकोमा सबै दलहरुलाई धन्यवाद दिनुभयो। अर्को सत्तापक्ष र प्रतिपक्षबारे पनि केही कुरा राख्नुभयो । कांग्रेस संसदीय प्रतिनिधि सभामा, राष्ट्रिय सभामा प्रमुख विपक्ष दलको रुपमा रहेको छ। र, हाम्रो पार्टी सभापति, पूर्वप्रधानमन्त्री माननीय शेरबहादुरजीले प्रमुख विपक्ष दलको नेताको हैसियतमा हुनुहुन्छ भनेर आफ्ना कुराहरु राख्यौँ', उनले भने, 'प्रधानमन्त्रीजीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा सहमति गरेर अगाडि बढ्न सकिने कुरा राख्नुभयो। हामीले कांग्रेस संघीय संसदमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दैगर्दा र प्रमुख प्रतिपक्षकै रुपमा कार्यरत रहने गरेर राष्ट्रपति, उपराष्ट्रपति सभामुख र उपसभामुख संविधानको पालना, संरक्षण र तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने बतायौँ। सबै दलको र सबै नेपाली जनताको संस्था र नेता भएर बस्नुपर्ने पदहरुमा छलफल गर्न तयार छौँ भनेका छौँ।'

उनले प्रधानमन्त्रीजीले छलफल गराएमा तयार रहेको पनि बताएको सुनाए। 'उहाँले यी पदहरुमा छलफल गरेर सहमतिमा जान सकिन्छ कि भनेर पनि भन्नुभएको छ। मूलतः यिनै कुरा भएका छन्', उनले भने, 'हामी सभामुखको निर्वाचनबारे आन्तरिक छलफल गर्छौं। राति र भोलि बिहानसम्म छलफल गरेर हामी हाम्रो धारणा अघि बढाउँछौँ। सहमति भएको छैन। विषय प्रवेश भएको छ। प्रधानमन्त्रीजीले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख, उपसभामुखमा पनि सहमति गरेर जान सकिन्छ कि भनेर विषय प्रवेश गराउनु भयो। तर सहमति भएन। हामीले हाम्रो दृष्टिकोण राख्यौँ।’

यता, सत्तारुढ दलहरुबीचमा राष्ट्रपति र सभामुख पद नेकपा एमालेलाई दिने सहमति भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .