राजनीति


एमाले र माओको जन्मदिनमा प्रचण्डलाई शपथको संयोग

एमाले र माओको जन्मदिनमा प्रचण्डलाई शपथको संयोग

प्रधानमन्त्रीको शपथ लिँदै प्रचण्ड। तस्बिर : नेपालखबर


नेपालखबर
पुस ११, २०७९ सोमबार १७:३५, काठमाडौँ

माओवादीहरुका लागि २६ डिसेम्बर (पुस ११) महत्वपूर्ण दिन हो। किनकि यसैदिन चिनियाँ सर्वोच्च नेता माओत्सेतुङको जन्म (२६ डिसेम्बर १८९३) भएको थियो। 

संयोग नै मान्नुपर्छ, चिनियाँ नेता माओको नाममा पार्टी स्थापना गर्ने पुस्पकमल दाहाल 'प्रचण्ड' ले उनको जन्मदिनमै प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्ने अवसर प्राप्त गरेका छन्। 

२०४६ पछि नेकपा (मशाल) र २०४८ पछि नेकपा (एकता केन्द्र) को नेतृत्व गरेका प्रचण्डले २०५१ मा एकता केन्द्र विभाजित भएपछि पार्टीको नाम नेकपा (माओवादी) राखेका थिए। 

माओको नाममा पार्टीको नाम राखेलगत्तै माओकै राजनीतिक–युद्ध शैली अनुरुप उनले १ फागुन २०५२ देखि सशस्त्र युद्ध सुरु गरे, जसलाई राजनीतिक भाषामा ‘माओवादी जनयुद्ध’ भनिने गरेको छ। 

२०४८ को आम निर्वाचनमा २ सय ५ सदस्यीय प्रतिनिधि सभामा जम्मा ९ सिट जितेको संयुक्त जनमोर्चा (एकता केन्द्र सम्बद्ध) लाई माओवादी जनयुद्धले नै २०६४ को संविधान सभामा पहिलो ठूलो दलका रुपमा स्थापित गरेको थियो। 

आइतबार (१० पुस) मा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि सोमबार (११ पुस) का लागि शपथ ग्रहणको तयारी गर्दै गर्दा प्रचण्डले सामाजिक सञ्जाल ‘ट्वीटर’ मार्फत् १ सय ३० औँ जन्मदिनको उपलक्ष्यमा शुभकामना दिएका थिए। 

२०७८ असारदेखि केन्द्रीय र प्रादेशिक सरकारको नेतृत्व गुमाएको एमाले प्रचण्डको सत्तारोहण र शपथसँगै सत्ता राजनीतिको केन्द्रमा फर्किएको छ। माओको जन्मदिन भएकाले प्रचण्डका लागि ११ पुस (२६ डिसेम्बर) महत्वपूर्ण भएझैँ एमालेका लागि पनि यो महत्वपूर्ण दिन हो।

अहिलेको एमालेको पूर्वरुप नेकपा (माले) हो। २०४७ को अन्त्यमा तत्कालिन नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकता भएपछि एमाले बनेको हो। त्यसैले, एमालेको मूल हाँगो नेकपा (माले) लाई नै मान्ने गरिन्छ। 

नेकपा (माले) को जन्म ठीक ४४ वर्षअघि आजैका दिन अर्थात् ११ पुस (२६ डिसेम्बर) कै दिन भएको थियो। 

झापा संघर्षमार्फत् उदाएको कोअर्डिनेसन केन्द्र, मदन भण्डारी–जीवराज आश्रित नेतृत्वको मुक्ति मोर्चा, रातो झण्डा समूह लगायत कम्युनिष्ट घटकहरु बीच एकता भई नेकपा (माले) को गठन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .