राजनीति


मधेश प्रदेश : शपथ ग्रहणको मिति तोक्न सर्वदलीय बैठक बस्ने

मधेश प्रदेश : शपथ ग्रहणको मिति तोक्न सर्वदलीय बैठक बस्ने

फाइल।


नेपालखबर
पुस १०, २०७९ आइतबार ९:५१, काठमाडौँ

मधेश प्रदेशमा नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ ग्रहणको मिति तोक्नका लागि सर्वदलीय बैठक बस्ने भएको छ।

मधेश प्रदेशसभामा प्रतिनिधित्व पाएका दलहरुको बैठक डाकेर शपथ ग्रहणको विषयमा सर्वसहमति गर्ने उद्देश्यले सर्वदलिय बैठकको आह्वान गरिएको छ।

सोमबार बस्न लागेको सर्वदलिय बैठकमा सरकार गठन, नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण, संसदीय दलको कोठा व्यवस्थापन लगायतको विषयमा छलफल हुने प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए।

प्रदेशसभामा दलको प्रतिनिधित्व गर्ने दलहरुको संख्यामा वृद्धि भएपछि संसदीय दलको नेताकालागि भौतिक संरचना अभाव देखिएको छ। सो बैठकमा कोठा व्यवस्थापन र शपथ ग्रहणको विषयमा दलहरुले निष्कर्ष निकाल्ने छन्।

मधेश प्रदेशको प्रदेशसभामा निर्वाचित ज्येष्ठ प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादीका ७१ वर्षीय गोविन्द बहादुर न्यौपाने बिरामी भएकाले शपथ ग्रहणमा ढिलाइ भएको हो।

उनको स्थानमा दोस्रो ज्येष्ठ सदस्य शारदाशंकर प्रसाद साहलाई पनि प्रदेशसभाले तयारी अवस्थामा रहनका लागि भनेको छ। यी दुईमध्ये कोही एक जनाले  प्रदेश प्रमुख हरिशंकर मिश्रबाट शपथ ग्रहण गर्नेछन्। 

त्यसपछि उनले नै बाँकी प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन्। 

यसअघि मधेश प्रदेशको प्रदेशसभामा पाँच दल मात्रै संसदीय दलको आधिकारिकता पाएको थिए। तत्कालिन संघीय समाजवादी फोरम, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राजपाले दलको रुपमा प्रदेशसभामा सहभागी थिए भने नेपाल संघीय समाजवादी पार्टीले पनि एक सिट ल्याएर प्रदेशसभामा प्रतिनिधित्व पाएको थियो।

पहिले प्रदेशसभामा  ७ दलले प्रतिनिधित्व पाएपनि यस पटक भने १० दलले प्रदेशसभामा प्रतिनिधित्व पाएको छ। 

मधेश प्रदेशमा २३ सिट सहित नेकपा एमाले पहिलो, २२ सिटसहित नेपाली कांग्रेस दोस्रो र १६ सिट सहित जसपा तेस्रो स्थानमा छ।

जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ९, नेकपा माओवादी केन्द्र ८ र ६ जना स्वतन्त्र प्रदेशसभा सदस्यहरुले प्रदेशसभामा प्रतिनिधित्व पाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad