नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य रघुजी पन्तले राष्ट्रपतिलाई विवादमा तन्ने काम कतैबाट हुन नहुने बताएका छन्।
सोमबार रिपोर्टर्स क्लवमा आयोजित साक्षत्कार कार्यक्रममा नेता पन्तले राष्टपति विद्यादेवी भण्डारीले स्थायी समिति बैठक चलिरहेकै समयमा नेकपाका ११ जना नेताहरुलाई भेटेको विषयलाई लिएर यस्तो बताएका हुन्।
‘नेकपाको स्थायी कमिटीको बैठक चलिरहँदा राष्ट्रिपति भण्डारीले मन परेका नेताहरुलाई बोलाएर छलफल गर्नुभयो’, नेता पन्तले भने, ‘उहाँले त्यसरी नेता बोलाएर छलफल नगरेको भए राम्रो हुन्थ्यो।’
पछिल्लो समय राष्ट्रपतिले नेकपाभित्र भूमिका बढाउँदै लगेको विषयमा आलोचना भइरहेका समयमा नेता पन्तले राष्ट्रपति र राष्ट्रपति कार्यालयले पनि आफ्नो गतिविधि र काम कारबाही ध्यान दिनुपर्ने सुझाब समेत दिए। ‘राष्ट्रपतिलाई विवादमा तन्ने काम हुन थालेको छ’, उनले भने, ‘राष्ट्रपति आफैँले र कार्यालयले पनि आफ्ना गतिविधि र कामकारबाहीमा ध्यान दिनुपर्छ।’
पूर्वमन्त्रीसमेत रहेका पन्तले हालै सम्पन्न भएको पार्टीको स्थायी समितिको बैठकले पार्टीभित्र देखिएको गतिरोध र गतिहीनता तोड्ने काम गरेको बताए। बैठकले पार्टीभित्र झ्यांगिँदै गएको गुटको समस्या पनि समाधान गर्न फलदायी बनेको उनको भनाइ थियो।
उनले स्थायी कमिटीको बैठक धेरै ढिला बसेको कुरा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि स्वीकारेको र यस सम्बन्धमा आत्माआलोचना गरेको बताए। उनले विधानअनुसार स्थायी कमिटीको बैठक तीन–तीन महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बसेको जानकारी दिए।

प्रतिक्रिया