खेल


भारतीय टोलीसँग भिड्न अब नेपाली टोली डराउँदैन : खड्का (भिडियाे)


लक्ष्मी जिसी
पुस ७ ,

महिला राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक हरि खड्काले खेलाडी जीवनमा देशका लागि ठूलो उपाधि जित्न सकेनन्। उनलाई त्यो सधै खड्कने गरेको छ। सन् १९९९ मा स्वदेशमैं भएको दक्षिण एसियाली खेलकुद (साग) तत्कालिन साफमा नेपाललाई उपाधि जित्ने अवसर थियो।

तर, बंगलादेशसँग फाइनलमा १–० ले पराजित भएसँगै नेपाली टोलीले रजतमा चित्त बुझाउनु परेको थियो। उनले खेल जीवनमा देशका लागि उपाधि दिलाउन सकेनन्।
तर, देशका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने दुईमध्ये उनी एक हुन्। खड्का र नीराजन रायमाझीले समान १३ गोल गरेका छन्। दशक अघिको त्यो कीर्तिमान अझै तोडिएको छैन। समयक्रमसँगै फुटबलमा उनको भूमिका फेरियो। सक्रिय खेल जीवनपछि उनी प्रशिक्षक बने।

एन्फाले गतवर्ष उनलाई महिला फुटबल टोलीको प्रमुख बनायो। त्योसँगै उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी पनि सुम्पियो। त्यसपछि उनले फेरि सपना देख्न थाले। खेलाडी जीवनमा उपाधि जित्ने सपना पुरा गर्न नसकेका खड्काले प्रशिक्षकका रुपमा त्यो उपाधि उचाल्ने सपना देखे। 

महिला फुटबलमा पनि उनी प्रशिक्षक हुनुअघि नेपाली टोलीले कुनै पनि प्रतियोगितमा भारतलाई हराउन सकेको थिएन। उनको अर्को चाहना थपियो– भारतलाई हराउँदै उपाधि जित्ने।
तर, उनले प्रशिक्षकका रुपमा पनि त्यो चाहना पुरा गर्न नसकेपछि हालै मुख्य प्रशिक्षकबाट राजिनामा दिने घोषणा गरे। गत मंसिर २३ गते १३औं सागको महिला फुटबलको फाइनलमा नेपाल फेरि भारतसँग पराजित भएर रजत पदकमा सीमित भयो।

त्यसलगत्तै उनले राजिनामा घोषणा गरे। त्यसअघि पनि चैतमा उनको नेतृत्वमा विराटनगरमा नेपाली टोलीले भारतविरुद्ध साफ च्याम्पियनसिप खेलेको थियो। त्यसमा पनि नेपाल उप विजेतामा सीमित भयो।

‘साफ च्याम्पियनसिपमा हामीले उपाधि जित्न नसकेपछि मैले त्यतिबेला नै राजिनामा दिने सोच बनाएको थिएँ,’ खड्काले भने। ‘तर अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले हतार नगर्न सल्लाह दिएपछि त्यसलाई अस्वीकार गर्न सकिन,’ उनले भने। ‘यसपटक पनि हामी फाइनलमा पराजित भएपछि मैले नैतिकताका आधारमा हारको जिम्मेवारी लिदै राजिनामा दिने निर्णय गरेको हुँ।’

hari khadkaतस्बिर : प्रविन काेइराला

महिला फुटबल प्रमुखको जिम्मेवारीमा भने उनी यथावत छन। भविष्यमा अन्य जिम्मेवारीका लागि पनि आफु तयार रहेको उनले प्रष्ट पारेका छन। अहिलेका लागि भने उनी महिला फुटबल विकासका लागि योजना बनाउन आफु क्रियाशिल रहेको बताए। ‘माघबाट हामी महिला लिग गराउने तयारीमा छौं,’ उनले भने। ‘केहि समयमा रौतहटमा महिला एकेडेमी पनि सुरु गर्नेछौं। साच्चै महिला फुटबलमा हामीले विकास गर्ने हो भने योजनाबद्ध रुपमा काम गर्न आवश्यक छ।’

उनले खेलाडी वा प्रशिक्षकका रुपमा उपाधि जित्ने सपना तत्कालका लागि पुरा गर्न नसकेपछि भारतलाई हराउने एउटा सपना भने पुरा गरेका थिए। गतवर्ष फागुनमा भारतमा भएको हिरो कपमा नेपालले भारतमाथि जित दर्ता गराएको थियो।

महिला फुटबलमा अहिले नेपालले भारतविरुद्ध निकालेको त्यो एकमात्र जित हो। अन्य अधिकांश खेलमा नेपाल पराजित भएको छ। ओलम्पिक छनोटमा भने बराबरीमा रोकेको थियो। झन्डै डेढ वर्षको आफ्नो अनुभवमा विगतमा जस्तो भारत भन्ने वित्तिकै नेपाली टोली डराउने अवस्थाको भने अब अन्त्य भएको खड्काले सुनाए।

‘भारत महिला फुटबलमा हामीभन्दा माथि छ,’ उनले थपे। ‘तर हामीले पछिल्लो केहि वर्षमा भारतलाई कडा चुनौति दिन थालेका छौं। अब भारत भन्नासाथ हाम्रा खेलाडी डराउँदैनन। जित्न कठिन होला तर भिड्न डराउँदैनन।’

तर दक्षिण एसियामा यदि च्याम्पियन बन्ने हो भने भारतलाई हराउनको विकल्प नरहेको उनले बारम्बार बताउँदै आएका छन। खड्काको नेतृत्वमा महिला टोलीले उपाधि जित्न नसकेपछि लगातार उच्चप्रदर्शन भने गरेको थियो। पहिलो सहभागितामै नेपालले ओलम्पिकको पहिलो चरण पार गरेको थियो। त्यस्तै उनको नेतृत्वमा नेपालले साग, साफ च्याम्पियनसिप, हिरो कप र किर्गिस्तानमा नादेझ्दा कपको फाइनल खेलेको थियो।

सबैमा नेपाल उपविजेता बनेर स्वदेश फक्र्यो। फुटबलबाहेक आफुले अर्को कुनै क्षेत्र नसोचेकाले एन्फाले भविष्यमा दिने जुनसुकै जिम्मेवारीका लागि पनि आफु तयार रहेको खड्काले प्रष्ट पारे। पुरुष सिनियर राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको समेत जिम्मेवारी निर्वाह गरिसकेका खड्काले फेरि पनि नेपालको उमेर समूह वा राष्ट्रिय टोलीलाई हेर्ने अवसर पाएमा लक्ष्य भने पहिलो उपाधि नै हुनेछ।

पुस ७, २०७६ सोमबार १२:५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad