ad ad

राजनीति


प्रचण्डलाई सम्झिँदै ओलीले सुनाए जोगीले सिंह बनाइदिएको मुसाको कथा

प्रचण्डलाई सम्झिँदै ओलीले सुनाए जोगीले सिंह बनाइदिएको मुसाको कथा

फाइल तस्बिर


नेपालखबर
कात्तिक २७, २०७९ आइतबार १३:३३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्डलाई सम्झिँदै सिंह बनेको मुसाको कथा सुनाएका छन्। 

कालिकोटमा आइतवार आयोजित एमालेको चुनावी सभालाई सम्बोधनका क्रममा  उनले मुसा र जोगीको कथा सुनाउँदै प्रचण्डलाई स्मरण गरेका हुन्। 

'२०७४ मा सिद्धिन लागेको माओवादीलाई औँलो समाउन दिएर ३६ सिट जिताएका हौँ। प्रचण्डलाई सहअध्यक्ष बनाएर छेउमै राखेर डुब्न लागेको पार्टी जोगाइदिएको हो', उनले भने, 'देश बनाउने शक्ति निर्माण गरौँ भनेर मा‌ओवादीलाई डोर्‍याएको थिएँ। देशको समृद्धिका लागि मैले यो कदम चालेको थिएँ।'

ओलीले आफू पार्टीमा अल्पमतमा परेर पनि प्रचण्डलाई साथ दिएर हिँड्दा उल्टै धोका दिएको गुनासो गरे। 

'केन्द्रीय कमिटी सचिवालय र सबै कमिटीमा म आफैँ अल्पमतमा पर्ने गरी उनीहरुलाई ठाउँ दिएको थिएँ। तर पार्टीमा बहुमत पाउनेबित्तिकै लोभीपापी भएर उनीहरुले मलाई नै सक्ने खेल थाले', उनले भने, 'देशलाई समृद्धिमा लान यो निर्णय लिएको थिएँ तर मुसाहरु सिंह भएर मलाई नै सक्न लागे।'

उनले एकजना जोगीले मुसालाई सिंह बनाउँदा आइपरेको आपत् जस्तै आफूलाई पनि त्यस्तै संकट प्रचण्डले निम्त्याइदिएको बताए। 

'पहिले एकजना जोगीले एउटा मुसालाई बनाउँदा बनाउँदै ठूलो सिंह बनाइदिएछन्। तर त्यो मुसोले आफू सिंह भइसकेपछि उनै जोगीलाई नै खान खोजेछ। त्यसपछि जोगीले त्यसलाई मुसो नै बनाइदिएछन्', उनले भने,  'मैले पनि सिद्धिन लागेका बेला साथ दिएँ, हात दिएँ, पार्टी एकीकरण गरेँ। तर उनीहरुले सहमतिलाई तोडे। मलाई नै अल्पमतमा पार्ने गरी अघि बढे।'

उनले प्रचण्डलाई विदेशी भूमिमा बसेर नेपालमा जनयुद्ध चलाएको आरोप लगाए। 'अर्को देशतिर पाहुना बसेर नेपालका नागरिकको घाँटी रेट्ने र छाती छेड्ने काम प्रचण्डले गरे', उनले भने, 'कपालमा जेल लगाएर चिटिक्क परेर कुखुराका साँप्रा र झोल पदार्थ पिएर उनीहरु नेता भएका हुन्। मैले प्रतिगमन गरेको होइन, प्रतिगमनविरुद्ध लड्नुछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .