चीनले आर्थिक, प्राविधिक, वैज्ञानिक तथा गरिबी निवारण जस्ता क्षेत्रमा गरेको प्रगतिबाट नेपालले प्रशस्त लाभ लिन सक्ने बुद्धिजीवीहरुले बताएका छन्। बुधबार राजधानीमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २० महाधिवेशन सम्पन्न भएको अवसरमा नेपाल‐चीन मैत्री मञ्चले आयोजना गरेका कार्यक्रमा चीन र अमेरिकाबीचको प्रतिस्पर्धाबाट जोगिदै नेपालले शान्त र सन्तुलित परराष्ट्र नीत अख्तियार गर्न सक्दा चीनको विकास र प्रगति नेपालको विकासमा साझेदारी हुन सक्ने विश्लेषण उनीहरुले गरेका हुन्।
मन्त्रिपरिषदका पूर्वअध्यक्ष तथा प्रधानन्यायाधीश खिलराज रेग्मीले आफ्नो स्रोत‐साधनको अधिकतम प्रयोग गरी आफ्नै बलबुतामा चिनियाँ राज्यले जुन व्यवस्थापकीय क्षमतामा प्रगति गरेको छ, त्यो हाम्रो लागि अनुकरणीय शिक्षा हुनसक्ने धारणा राखे।
उनले भने‐ ‘चीनको दुरदर्शी नेतृत्वले सबै प्रकारका पूर्वाधार निर्माण गर्दै जुन यातयातको सञ्जाल निर्माण गर्यो। कृषिको आधुनिकीकरण मात्र होइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि चीन विश्वको अग्रणी बनेको छ। यसबाट नेपालले कसरी लाभ लिन सकिन्छ भनेर सोच्न जरुरी छ।’
नागरिक आन्दोलनका अगुवा तथा वाम विश्लेषक श्याम श्रेष्ठले चीनको शान्त, भद्र र अहस्तक्षेपको विदेश नीति नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षाकवच भएको तर्क गरे। चीनले ९५ प्रतिशत जनतालाई स्वास्थ्य बिमा गरेको, खाद्यन्नमा आत्मनिर्भर बनेको र मुलुक समाजवादी दिशामा अघि बढेको उनले बताए।
चीनले अघि सारेको बीआरआई परियोजनामा कुनै हानिकारक कुरा नभएको बताउँदै श्रेष्ठले चीनको विकासबाट पश्चिमाहरु तर्सिए जसरी नेपाल तर्सिन नहुने तर्क गरे।
अर्का लेखक तथा विश्लेषक झलक सुवेदीले भने चीनले अघि सारेको ‘साझा समृद्वि’को अवधारणा चीनभित्र मात्र होइन, अरु देशको हितमा पनि भएको उल्लेख गरे।
‘सीले गरिब र धनीबीचको खाडल पुर्न चीनमा समतामूलक समाज बनाउने जुन अभियान चलाएका छन्,’ उनले भने, ‘त्यो समाजवादको बाटो सीपीसीको २० औं महाधिवेशनको मुख्य उपलब्धी हो।’
सुवेदीले पनि नेपालले आफूलाई सन्तुलनमा राख्न सके चीनबाट फाइदै‐फाइदा लिन सकिने विचार व्यक्त गरे।
अर्का विश्लेषक तथा समाजशास्त्री डा. खगेन्द्र प्रसाईंले चीनले नेपालमा अघि बढाएका सबै परियोजना नेपालले लागू गर्ने हो भने सरकारको नेतृत्व गर्ने दलले दुई तिहाइसम्म जित हात पार्न सक्ने सम्भावना रहेको धारणा राखे। उनले चीनले गरेको प्रगति र विकासलाई अमेरिकाले चुनौती ठानेको उल्लेख गर्दै चीन र अमेरिकाबीचमा भएको शत्रुतापूर्ण प्रतिस्पर्धाबाट नेपाल जोगनसक्नुपर्ने बताए।
उनले थपे‐ ‘नेपाल–चीन सम्बन्ध विश्व व्यवस्थामा हुँदै गरेको परिवर्तनबाट पनि प्रभावित हुने भएकोले चीनविरोधी गतिविधिमा नेपाल सजग भएर चीनको प्रगतिबाट फाइदा लिन सकिन्छ।’
Shares
प्रतिक्रिया