नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आसन्न निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनले संघमा दुई तिहाइ क्षेत्रमा जित हासिल गर्ने बताएका छन्।
रोल्पामा लोकतान्त्रिक वाम गठबन्धनद्वारा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता पुनले निर्वाचनपछि संघ र सबै प्रदेशमा गठबन्धनको सरकार बन्ने पनि दाबी गरे।
चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘आगामी निर्वाचनबाट गठबन्धनले कम्तिमा दुई तिहाइ बहुमत पाउँछ। यो मेरो दाबी हो। तथ्यहरुले यो देखाएको छ। हामी दुई तिहाइ संघमा जित्दैछौँ। प्रदेशमा सातै प्रदेशमा हाम्रो सरकार हुन्छ।’
गठबन्धनले घोषणापत्रमार्फत् शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकता दिएको उनको भनाई छ। तीनै तहका सरकारका समन्वयमा घोषणापत्र कार्यान्वयनमा लैजाने प्रतिवद्धता उनले जनाए।
विगतमा केपी ओली नेतृत्वको सरकारले अवसर पाएर पनि स्थायित्व कायम गर्न नसकेको पुनले बताए। अब गठबन्धनले देशका लागि समेत केही न केही नयाँ र असल जगको सुरुवात गर्ने उनले बताए। अहिलेको गठबन्धनले देशको विकासका लागि साझेदारी गर्ने बताए।
गठबन्धन गरेर निर्वाचन लडे पनि पछि राष्ट्र निर्माणका लागि हातेमालो गर्ने सबै नागरिकसँग सहकार्य गर्ने उनले बताए।
पुनले भने, ‘केपी ओलीजीको नेतृत्व एकल बहुमत पाउँदा पनि खेर गयो। आगमी दिनमा यसो हुने छैन। हामी आफूमात्र हैन नेपालका सबै राम्रा हात र मस्तिस्कलाई लिएर विकासको काम गर्नेछौँ। हामी निर्वौचन पछि राष्ट्र निर्माणको पक्षका जनमतालाई लिएर अघि बढ्छौँ। ओलीजीलाई पाँच वर्ष काम गर्न जनताले जनमत दिएका थिए। उहाँ चाहिँ थानकोटतिर हिँड्नुभाछ।’
विपक्षी नेकपा (एमाले) को गठबन्धन प्रतिगामी भएको पुनको भनाई छ। विगतका निरङ्कुस शक्तिलाई एमालेले बोकेको पुनको आरोप छ। पार्टी बन्धनबाट बाहिर निस्केर अन्तरआत्मालाई सुन्न उनले एमाले कार्यकर्तालाई आग्रह गरे।
राजनीतिक आवश्यकताका आधार वर्तमान गठबन्धन बनेको नेता पुनले बताए। संविधानको रक्षार्थ वर्तमान गठबन्धन बनेको र गत चुनावमा परीक्षण समेत भइसकेकाले एक अर्को दललाई मत दिन हिककिचाउनु नपर्ने कार्यकर्तालाई उनको आग्रह थियो।
नेता पुनले अहिलेको प्रमुख मुद्दा स्थायित्व भएको बताए। विगतका पश्चिमा देशहरुको आर्थिक उन्नति र स्थायित्वको चर्चा भए पनि अब एसियाली देशहरु अगाडि बढेको उनको भनाई छ ।
सम्बोधनमा उनले छिमेक सम्बन्धलाई सन्तुलनका आधारमा अघि बढाइने बताए। प्रो–नेपाली भएर राष्ट्रिय हितका पक्षमा काम गर्ने उनको भनाई छ।
गठबन्धनको नेतृत्वमा अब मुलुकको स्थायित्व हुने जिकिर पुनको छ ।
सुशासन कायम गर्नु वर्तमान गठबन्धनको मुख्य उदेश्य भएको पनि पुनले बताए। नागरिकमैत्री सार्वजनिक प्रशासनमा उनले जोड दिए।
मुलुकमा पटक पटक राजनीतिक क्रान्ति भएको भन्दै उनले अब आर्थिक र सामाजिक रुपान्तरणको समय आएको बताए। आर्थिक र सामाजिक रुपान्तरणमा दलहरु केही हदसम्म पछि परेको पनि उनको ठम्याइ छ।
शिक्षा, स्वास्थ्य, आवास र रोजगारीलाई संविधानले नागरिकको आधारभूत अधिकारका रुपमा ग्यारेन्टी गरेकाले कार्यान्वयन गरिने उनको भनाई छ।
Shares

प्रतिक्रिया